लमजुङमा पहिरोले १२ घर विस्थापित

 

faleni lamjung pahiro_9नवीनराज कुइँकेले, बेसीशहर, असार १७ गते । अबिरल बर्षासंगै बस्ती नजिकै पहिरो बग्न थालेपछि लमजुङको फलेनी गाउँ विकास समिति वडा नं. ४, तल्लो माझखर्कका १२ घरपरिवार विस्थापित भएका छन् ।
बुधबारदेखि निरन्तर चलिरहेको पहिरो अझै नरोकिएपछि स्थानीय डराएका छन् । गाउँभन्दा तीनसय मिटर माथीबाट पहिरो चलेको छ । बस्तीमा समेत पहिरो आएर पुरिन सक्ने भयले स्थानीय घर बस्न सकेका छैनन । गाउँ माथि गाविस भवन जाने मोटरबाटोबाट पहिरो खसिरहेको स्थानीय कोषबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँको माथिल्लो क्षेत्रबाट पहिरो खसेपछि स्थानीय वडा नं. ५ को माझखर्क गाउँका आफन्तकोमा सरेका छन् ।
स्थानीय बिलबहादुर गुरुङ, तेजबहादुर गुरुङ, बुधमान गुरुङ, दमबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, लक्ष्मण गुरुङ, शंखबहादुर गुरुङ, दिरबहादुर गुरुङ, चेतबहादुर गुरुङ, सोमबहादुर गुरुङ, रामचन्द्र गुरुङ र जंगबहादुरको परिवार प्रभावित भएको र उनीहरुका परिवार तत्कालको लागि आफन्तकोमा बास बस्न थालेको कोषबहादुरले बताउनुभयो ।
गाउँलेका अनुसार गतबर्ष पनि उक्त ठाउँमा पहिरो खसेको थियो । गतबर्षको भूकम्पले जमीन चिरा पारेपछि स्थानीयले उक्त ठाउँमा टनेल प्लाष्टिक राखेका थिए । त्यही प्लाष्टिक कुहिएपछि अहिले त्यहीँबाट पहिरो बग्न थालेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार पहिराले बस्ती नजिकैको मकै खेत बगाएको छ । स्थानीयका अनुसार तीन रोपनी जमिनमा लगाइएको मकै पहिरोले पुरेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सहायक प्रजिअ कृष्णप्रसाद पौडेलको नेतृत्वमा भू–संरक्षण कार्यालयका अधिकृत प्रलेश बस्नेत लगायतको टोलीले स्थलगत निरीक्षण गरेर फर्किएको बताउनुभयो । बिहीबार निरीक्षण गरेको टोलीले १२ घरधुरीका ७० जना स्थानीय र उनीहरुले पालेका गाई, भैंसी, गोरु, बाख्रा गरि ३ सय चौपाय प्रभावित भएको र उनीहरुलाई तत्काल सानुपर्ने प्रतिवेदन बुझाएको छ । सहायक प्रजिअ पौडेलले ३ सय मीटरमा गएको पहिरोमाथि ७० मीटर धाँजा फाटेको र कुनैपनि समयमा पहिरो खस्न सक्ने जोखिम रहेको बताउनुभयो । ‘पहिरोले वस्ती पूरै जोखिममा रहेको पायौं ।’, सहायक प्रजिअ पौडेलले भन्नुभयो, ‘वस्ती स्थान्तरण गर्न नसके जोखिम बढ्छ ।’


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना