राजनीति, विचार र विकास

pradip nepalप्रदीप नेपाल

 

नयाँ शक्तिको बहार चलेको थियो ।  तर सबैतिर बाबुराम भट्टराईको पोस्टरमा छोपिएको थियो त्यो नयाँ शक्ति ।  बाबुराम भट्टराईको आकर्षक मुहारचित्रको विज्ञापन आक्रामक प्रचार शैलीको तहमा थियो ।  त्यसले नेपालका सबै पार्टी र सञ्चार माध्यमलाई खिनाउटे बनाएको थियो ।  मानिस प्रभावित भएका थिए ।  गोरखापत्र बाहेकका सबैले बाबुराम भट्टराईको फोटो छाप्न पाएका थिए ।  अखबारहरूको आम्दानी एकाएक बढेको थियो ।  टेलिभिजनहरूले नयाँ शक्तिको ‘लाइभ’ (प्रत्यक्ष) प्रसारण गरिरहेका थिए ।  यस्तो बेलामा फेसबुकको भित्ता बाबुराममय नहुने कुरै थिएन ।  त्यो त झन् हेरिनसक्नु नै भएको थियो ।
सबैतिर एकछत्र राज गरेको बाबुराम भट्टराईको नयाँ शक्तिसँग तर कुनै नयाँ सिद्धान्त रहेनछ ।  सिद्धान्त बिनाको पार्टी ।  यस्तो त मैले कहिल्यै सुनेको थिइन ।  त्यसैले मैले फेसबुकमा लेखिदिएँ– नयाँ शक्ति जन्मनासाथ म¥यो ।  किनभने यो नयाँ शक्तिसँग कुनै सिद्धान्त छैन ।  विचार छैन ।  सिद्धान्त र विचार नभएको नयाँ शक्तिको कुनै अर्थ हुँदैन ।  यो त औसरवादीहरूको भीड मात्र हो । ’
सिङ्गै दुनिया नयाँ शक्तिमय भएको थियो ।  हुरुरुरु आयो प्रतिकृया ।  पहिलो थियो अर्ति– सुरुमै नकारात्मक टिप्पणी गर्नु हुँदैन ।  अर्को थियो विश्वास– पुराना पार्टीका दिन गए ।  तेस्रो थियो चुनौती– अब नयाँ शक्ति संसद्मा पहिलो पार्टी हुन्छ ।  
अर्थात् मैले, पार्टी हुन सिद्धान्त चाहिन्छ भनेर कुरो उठाएको थिएँ ।  जवाफ आयो नयाँ शक्तिले चुनाव जित्ने भयो भनेर ।  मैले कुरो थालें आग्लोबाट ।  जवाफ आयो गाग्रोबाट ।  दिक्क लागेर मैले फेसबुकमा राजनीतिक टिप्पणी गर्दिन भनें ।
नयाँ शक्ति चाहिँ तर साँच्चिकै नयाँ शक्ति रहेछ ।  पार्टी खोल्दा सिद्धान्त नचाहिने ।  खोलिसकेपछि सिद्धान्तको खोजी गर्ने ।  तर त्यो खोजी पनि अलमलमै रह्यो र त्यो सधैँ रहिरहनेछ ।  किनभने सिद्धान्त, कार्यक्रम र नीति बिनाको पार्टी छरपस्टिएको भीड मात्र हुनसक्छ ।  भीडका एकाध मान्छेले चुनाव जित्लान् ।  जितेका उदाहरण पनि छन् ।  तर भीडले देश र जनतालाई केही दिँदैन ।
नेपाली राजनीतिमा यतिबेला दुई विचारधाराबीच टक्कर चलिरहेछ ।  एकातिर युरोपमा समेत असफल भैसकेको उदारवाद ।  (यसलाई मैले दलाल पुँजीवाद भन्ने नाम दिएको छु । ) अर्कातिर राष्ट्रिय पुँजीवाद ।  अहिले नेपालमा नेपाली काङ्ग्रेस दलाल पुँजीवादको मूल कार्यकारी भएको छ भने नेकपा एमाले राष्ट्रिय पुँजीवादको प्रवक्ता हुन पुगेको छ ।  हुनत सबै कम्युनिस्ट पार्टीहरू राष्ट्रिय पुँजीवादको पक्षधर हुनु पर्ने थियो ।  तर अहिलेसम्म माओवादी केन्द्रले आफ्नो सैद्धान्तिक यात्राको टुङ्गो नलगाइसकेको हुनाले मैले एमालेलाई राष्ट्रिय पुँजीवादको प्रवक्ता भनेको हुँ ।
पार्टी घोषणा कार्यक्रम सकिएको हप्ता दिनपछि नयाँ शक्तिमा सैद्धान्तिक विवाद भन्ने समाचार पढियो ।  असाध्यै खुसी लाग्यो ।  सररर पढेँ ।  एउटा विचार रहेछ, वाम–लोकतान्त्रिक ।  अर्को रहेछ समतामूलक प्रजातन्त्र ।
ढिलै भए पनि सिद्धान्त खोज्ने काम राम्रो हो ।  विचारको विवाद पार्टीको जीवन हो ।  तर माथिका दुई विचारको सार खिचेपछि मन खिस्रिक्क भयो ।  किनभने यी दुवै विचार नेपालका लागि नयाँ होइनन् ।  दुवै विचार नयाँ शक्तिका मौलिक सोच पनि होइनन् ।  वामलोकतान्त्रिक भनेको नेकपा
(एमाले) ले पाचौं महाधिवेशनमा पारित गरेको जनताको बहुदलीय जनवाद हो ।  राजनीति गर्ने गैरवाम नेपालीले समेत स्वीकार गरेको सत्य के हो भने – मदन भण्डारीले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक मार्गमा हिँडाए ।  नयाँ नाम राख्ने बित्तिकै सिद्धान्त नयाँ हुँदैन ।  जनताको बहुदलीय जनवाद नै नेपाली सन्दर्भमा वाम–लोकतान्त्रिक सिद्धान्त हो ।  माओवादी उग्रवामपन्थी चेत भएको बेला स्वयं बाबुराम भट्टराईले यो वाम–लोकतान्त्रिक मान्यतालाई ‘घाँसमा लुकेको हरियो सर्प’ भनेर तिरस्कार गर्नु भएको थियो ।  अहिले उहाँ स्वयंले त्यो सर्पको माला भिर्ने निष्कर्ष निकाल्नु भएछ ।  नयाँ शक्तिको सैद्धान्तिक बहसमा वाम–लोकतान्त्रिक पक्षको विजय होस् ।  यो मेरो शुभकामना !
अर्को विचार अर्थात् समतामूलक प्रजातन्त्र चाहिँ नयाँ हो कि भनेर अलिक दिन खोज्नु प¥यो मैले ।  यो चाहिँ नेकपा एमाओवादीले, नेकपा एमालेका अध्यक्षलाई प्रधानमन्त्री बनाइरहँदा आफ्नो तर्फबाट प्रस्ताव गरेको वैचारिक अवधारणा रहेछ ।  एमाओवादीको भाका थियो – समावेशी समतामूलक गणतन्त्र ।  नयाँ शक्तिले समावेशी काटेर, गणतन्त्रलाई प्रजातन्त्रमा अनुवाद गरेर नयाँ बनाएको रहेछ ।  
नेपालभित्रै अन्य पार्टीले आफ्नो परिचय बनाइसकेका विचारलाई नयाँ नाम दिएर आफ्नो बनाउन खोज्नु बेइमानी हो ।  नयाँ शक्ति पार्टीले यस्तो काम गरेर ‘प्रथमग्रासे मच्छिकापातः’ को उखानलाई चरितार्थ गरेको छ ।
अर्थात् नयाँ शक्तिको नाउँमा धेरैले लगाएको आरोप ‘नयाँ बोतलमा पुरानै रक्सी’ सही रहेछ ।  यस्तो गर्नु हुँदैनथ्यो नयाँ शक्तिले ।  नयाँ शक्तिसँग आधा दर्जन नयाँ विचारहरू थिए आफ्नो पार्टीको सिद्धान्त बनाउन ।  अहिलेसम्म नेपालमा कुनै पनि पार्टीले साहसपूर्वक घोषणा गर्न नसकेको दलाल पुँजीवादलाई आफ्नो राजनीतिक आर्थिक कार्यक्रम घोषणा गरेको भए नेपालका लागि त्यो मौलिक विचार हुन्थ्यो ।  अथवा स्टालिनदेखि एंगेल मर्केलसम्मका सबै सिद्धान्त र विचारको मिसमास गरिएको सारसङ्ग्रहवादी मान्यता अहिलेसम्मका कुनै पनि पार्टीले बोकेका थिएनन् ।  नयाँ शक्ति माथि भनिएका विकल्पमा गएको भए विचार नभएको पार्टीको टोपी ओढ्नु पर्ने थिएन ।  
यथार्थमा नयाँ शक्तिको धरातल उत्तर आधुनिकता हो ।  उनीहरूका लागि यतिबेला इतिहास मरेको छ, सिद्धान्त मरेको छ ।  यतिबेला उनीहरूका लागि आपूm बाहेक सम्पूर्ण समाप्त भएको छ ।  भ्रमबाट मुक्त होस् नयाँ शक्ति ।  अहिलेलाई यत्ति ।
एउटा भ्रम हुर्किन थालेको छ नेपालमा ।  राजनीतिक क्रान्तिको समय सकियो, अब आर्थिक क्रान्तिमा लाग्नु पर्छ ।  संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भैसकेपछि क्रान्तिको रूपमा राजनीति सकियो ।  तर के राजनीतिभन्दा बाहिर गएर कुनै पनि मुलुकको आर्थिक क्रान्ति अगाडि बढ्न सक्छ ? के राजनीतिक चेतबिनाको आर्थिक क्रान्ति हुन्छ ? हुँदैन ।   
धेरै परको उदाहरणतिर नलागौं ।  भारत र चीन नेपालका दुई छिमेकी हुन् ।  दुवै मुलुक, औपनिवेशिक शासनबाट सँगसँगै मुक्त भएका हुन् ।  भारतले मुक्तिपश्चात् पनि विश्वबाट सकारात्मक सहयोग पायो ।  राष्ट्रमण्डलको बलियो आड पायो ।  संयुक्त राष्ट्रसङ्घमा सहज प्रवेश पायो ।  तर चीनले मुक्तिसँगै असहयोग, बहिष्कार, नाकाबन्दी झेल्नु प¥यो ।  पश्चिमाहरूले चीनको थायवान प्रान्तलाई सिङ्गो चीनको प्रतिनिधित्वको अधिकार दिएर संयुक्त राष्ट्रसंघको स्थायी समितिमा विराजमान गराए ।  नजिकै रहेको एउटा मात्र मित्र राष्ट्र सोभियत सङ्घसँग पनि उसको सम्बन्ध राम्रो हुन सकेन ।
यति हुँदाहुँदै पनि चीन आज विश्वको दोस्रो आर्थिक महाशक्ति भएको छ ।  र केही वर्षमा त्यो अमेरिकालाई पनि उछिनेर पहिलो शक्ति घोषित हुने तयारीमा छ ।  भारत कता छ, सबैले मिलेर खोज्नु पर्ने भएको छ ।
यस्तो किन भयो ? किनभने चीनको विकास नीति अहिले पनि राजनीतिसँग जोडिएको छ ।  सांस्कृतिक क्रान्तिको भयावह समाजवादलाई सम्पूर्णतामा तिरस्कार गरेर, तङ स्याओफिङले बिरालो सिद्धान्तको नयाँ नीति तर्जुमा गरेपछि चीनले अभूतपूर्व रूपमा विकास ग¥यो ।  सुरुमा समुद्री किनारको उत्पात विकास भएपछि चीन भित्री क्षेत्रतिर लाग्यो ।  अहिले त्यसले एकदम थोरै विकास भएको पश्चिम दक्षिण र पश्चिम उत्तरमा विकास कार्यक्रमलाई केन्द्रित गरेको छ ।  त्यो विकासको नमुना हामीले तिब्बतमा देखिसकेका छौं ।  त्योभन्दा पनि पछिल्लो समयमा चीनले विकासको लागि भनेर अगाडि सारेको सिल्क रोड र सामुद्रिक सिल्क रोडमा पनि राजनीतिले नै नेतृत्व गरिरहेको छ ।  तर भारत ? धेरै नबोलौं ।  तिनीहरू अहिले पनि गालीगलौज र कुण्ठाको राजनीति गरिरहेका छन् ।  अमेरिका र युरोपको आड खोजिरहेका छन् ।
नेपालमा पनि आर्थिक विकासका लागि राजनीतिक नेतृत्व अपरिहार्य छ ।  यसको उदाहरण पनि हामीसँगै छ ।  नेपाली काँग्रेसको सरकारले २०४८ मा ल्याएको सम्पूर्ण निजीकरणको सिद्धान्तले मुलुकको राजनीतिक तथा आर्थिक विकासमा चुकुल लगायो ।  सारा उद्योगधन्दा ध्वस्त पारियो ।  नेपालको श्रम र पैसाले नयाँ उद्योगधन्दा खोल्ने कुरो कल्पना भयो ।  तर २०५१ को मनमोहन अधिकारीको सरकारले ल्याएको लोककल्याणकारी राज्यको अवधारणले नेपालमा आर्थिक विकासको नयाँ बाटो खोल्यो ।  नेकपा (एमाले) सरकार बन्दैनथ्यो भने बाटो, सञ्चार, सामाजिक सुरक्षा अवधारणा, नेपालको राजनीतिक शब्दकोशमा कहिल्यै लेखिँदैनथ्यो ।
हामी सबै नेपालीले कुन कुरामा प्रस्ट हुनुपर्छ भने, राजनीतिक दृष्टिकोणसहितको विकासको अवधारणाले नै नेपालको हित गर्छ ।  राजनीति बाहिरको विकासे अवधारणाले नेपाललाई हरिकङ्गाल बनाउने बाहेक अर्को कुनै काम गर्दैन ।  






थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना