सामाजिक–आर्थिक विकासमा सघाउने जापानको प्रतिबद्धता

काठमाडौँ, असार १५ गते। जापानले नेपालको सामाजिक एवम् आर्थिक विकासमा निरन्तर सहयोग विस्तार गर्ने तत्परताका साथ नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक आज यहाँ सम्पन्न भयो ।

नेपाल सरकारले प्राथमिकतामा राखेका विकासका आयोजना र उसले अवलम्बन गरेको विकासको बाटोमा जापानले सहयोग गर्ने तत्परता व्यक्त गरेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्र मन्त्रालयका सहसचिव एवम् उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्रप्रसाद अर्यालले राससलााई बताउनुभयो ।

समृद्ध समाज निर्माण गर्ने नेपालको प्रयासमा सहयोग गर्ने जापानी प्रतिबद्धताको नेपालले सराहना गरेको जानकारी दिँदै उहाँले बैठकमा पारस्परिक चासोका सबै पक्षमा छलफल भएको बताउनुभयो ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव, क्षेत्रीय एवम् विश्वस्तरमा आपसी सहयोग अभिवृद्धिबारे पनि बैठकमा छलफल भएको थियो ।

त्यसैगरी, बैठकमा नेपालको चौतर्फी विकास प्रयासमा जापानबाट प्राप्त सहयोग तथा भूकम्पपछिको पुनःनिर्माणमा जापानी मद्दतबारे पनि कुराकानी भएको उहाँले बताउनुभयो ।

बैठकमा जापानी पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी, दक्षिणपश्चिमी मामिला विभागका महानिर्देशक काजुया नासिदासहित नेपालका लागि जापानका राजदूत मासासी ओगावा र यहाँस्थित जापानी राजदूतावासका उच्च अधिकारीले गर्नुभएको थियो ।

सहसचिव अर्याल नेतृत्वको उक्त बैठकमा परराष्ट्र, शिक्षा, स्वास्थ्य, अर्थ, गृह, कानुन, भौतिक पूर्वाधार, ऊर्जा, उद्योग, वाणिज्य, पर्यटन, वन, राष्ट्रिय योजना आयोग र नेपाल पुनःनिर्माण प्राधिकरणका वरिष्ठ अधिकारी संलग्न हुनुहुन्थ्यो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना