आत्मनिर्भर बन्न आधुनिक प्रणाली आवश्यक

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असार १५ गते ।  आज असार १५ अर्थात् धान दिवस ।  नेपाली किसानले आजको दिनलाई मानु रोपेर मुरी फलाउने दिनका रूपमा लिने गरेका छन् तर बर्सेनि खाद्यान्न आयात हाम्रो नियति बनेको छ ।  धानमा आत्मनिर्भर हुनका लागि आधुनिक कृषि प्रणाली, उन्नत बीउबिजन, गुणस्तरीय मल तथा सिँचाइको व्यवस्था हुनुपर्नेमा विज्ञले जोड दिएका छन् ।  
सरकारले किसानको प्रत्यक्ष सहभागितामा यस वर्ष पनि राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहेको छ ।  नेपालमा मात्र होइन, संसारभरि नै धानलाई प्रमुख खाद्य बालीका रूपमा लिने गरिन्छ ।  त्यसैले विश्व खाद्य कार्यक्रमले धान नै जीवन हो भन्ने नाराका साथ आफ्ना कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।  ropai
भातलाई नेपालीले प्रमुख र राम्रो आहारका रूपमा लिने गरेकाले पनि धान नेपालको प्रमुख बाली भएको छ ।  देशको कुल गार्हस्थ उत्पादनमा धानको सात प्रतिशत, कृषिमा २० प्रतिशत योगदान रहेको छ ।  कुल खाद्यान्नको उत्पादनमा ५५ प्रतिशत योगदान रहेको पनि कृषि विकास मन्त्रालयले जनाएको छ ।  
धानविज्ञ डा. भोलामान सिंह बस्नेतका अनुसार देशको समग्र अर्थतन्त्रमा यति धेरै योगदान दिने खाद्य बाली धानको विकासका लागि किसानलाई थप आकर्षित गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।  उहाँले भन्नुभयो, उन्नत बीउबिजन, गुणस्तरीय मल आवश्यक सिँचाइको प्रवन्ध हुन सके धानमा नेपाल आत्मनिर्भर हुन धेरै समय लाग्दैन तर हाम्रा कार्यक्रम त्यतातिर गइरहेका छैनन् ।  
नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक युवराज पाण्डेका अनुसार नेपालीले आफ्नो आहारको कुल क्यालोरीको ३१ प्रतिशत चामलबाट प्राप्त गर्ने भएकाले चामलको वार्षिक खपत प्रतिव्यक्ति एक सयदेखि १२० केजीसम्म हुने गरेको छ ।  biu
कृषि विकास मन्त्रालयका अनुसार नेपालमा करिब १४ लाख २० हजार हेक्टरमा धान खेती लगाइन्छ ।  यो क्षेत्रफलमा वार्षिक करिब ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।  तराईको कुल भूभागको करिब ७० प्रतिशत पहाडी क्षेत्रको कूल भूभागमध्ये करिब २६ प्रतिशत र हिमाली क्षेत्रको कूल भूभागमध्ये करिब पाँच प्रतिशत जग्गामा धानबाली हुने गरेको छ ।  धान खेती गर्दा किसानले करिब ९० प्रतिशत जग्गामा रोपाईं गर्ने गरेका छन् भने बाँकी १० प्रतिशत धान छरेर खेती गर्ने गरेका छन् ।  ropai 1
कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई निर्वाहमुखी कृषि पेसा अङ्गालेका किसानलाई आधुनिक कृषि प्रणालीमा रूपान्तरण नगरूञ्जेल नेपालको कृषि विकास हुन नसक्ने तर्क राख्नुहुन्छ ।  मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा सचिव भट्टराईले भन्नुभयो, कृषिलाई राजनीतिमुक्त क्षेत्रका रूपमा विकास गर्न नसक्दासम्म किसानको सम्मान हुन सक्दैन, किसानले उचित मूल्य पाउँदैनन् अनि कृषिको विकास कसरी हुन सक्छ ?
सन् २००४ लाई विश्वभरि धान वर्षका रूपमा मनाइएको थियो ।  नेपालले सोही वर्षबाट हरेक वर्ष असार १५ लाई देशभर धान दिवसका रूपमा मनाउने गरेको छ ।  यस वर्ष व्यावसायिक धान खेतीको आधार सामुदायिक नर्सरीको विस्तार भन्ने नारा तय गरेको नेपाल कृषि अनुसन्धान परिषद् नार्कले जनाएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना