मङ्सिरमा चुनाव गर्न आयोग तयार

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असार १४ गते ।  कात्तिक अन्तिममा वा मङ्सिरको पहिलो साता स्थानीय निर्वाचन गर्न तयार रहेको जानकारी निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।  जवाफमा प्रधानमन्त्री ओलीले आयोगलाई आवश्यक पर्ने स्रोतसाधन र राजनीतिक सहमतिसहितको निर्वाचनको वातावरण निर्माण गर्न सरकारका तर्फबाट प्रतिबद्धता जनाउनुभएको छ ।  
सोमबार आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुग्नुभएका प्रधानमन्त्री ओलीले स्थानीय निर्वाचनका लागि आवश्यक तयारीका बारेमा छलफल गर्नुभएको थियो ।  प्रधानमन्त्री ओलीसहितको टोलीले आयोगका पदाधिकारीसँग आगामी मङ्सिरमा निर्वाचन गराउन आवश्यक पर्ने प्राविधिक, कानुनी तथा सुरक्षाको तयारीका बारेमा छलफल गरेको थियो ।  छलफलमा प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाअनुरूप सबै तहका निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  election
प्रधानमन्त्री ओलीले निर्वाचन व्यवस्थापन गर्ने सिलसिलामा आयोगलाई आवश्यक पर्ने निर्वाचनसम्बन्धी कानुन निर्माण, निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोतसाधन र राजनीतिक सहमतिसहितको निर्वाचनको वातावरण निर्माण गर्न सरकारले आफ्नो पूर्ण क्षमता उपयोग गर्ने बताउनुभएको आयोगका सहसचिव वीरबहादुर राईले जानकारी दिनुभयो ।  
प्रधानमन्त्री ओलीसँग गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री अग्नि खरेल, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ र सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीलगायत सहभागी हुनुहुन्थ्यो ।  प्रधानमन्त्रीसँगको छलफलपछि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भन्नुभयो, “हामीले प्रधानमन्त्रीसहितको टोलीसँग आयोगको आन्तरिक तयारीका बारेमा छलफल ग¥यौँ, संविधान अनुसार निर्वाचन गराउनुपर्ने भएकाले सोहीबमोजिमका ऐनकानुन समयमै बने आयोग कात्तिकको अन्तिम वा मङ्सिर पहिलो साता निर्वाचन गराउन तयार छ । ”
डा. यादवले भन्नुभयो, “हामीले प्रधानमन्त्री, कानुनमन्त्रीसँग स्थानीय निर्वाचनका लागि कानुनी अप्ठ्याराका बारेमा विस्तृत रूपमा भनेका छौँ, स्थानीय निकाय निर्वाचन कार्यविधि संशोधन यथाशक्य हुनुपर्ने जानकारी सरकारलाई दिएका छौँ । ”
उहाँले निर्वाचनका लागि पुनर्संरचना आयोगको प्रतिवेदन तत्काल आउनुपर्ने बताउनुभयो ।  त्यसैगरी उहाँले स्थानीय तहका ऐन पनि चाहिने बताउनुभयो ।  आयुक्त डा. यादवले पहिलोपटक सरकारसँग निर्वाचनका लागि छलफल भएको र अन्य राजनीतिक दलसँग पनि आयोगले चुनावका बारेमा छलफल गर्ने जानकारी दिनुभयो ।  
कानुनमन्त्री अग्नि खरेलले संविधान कार्यान्वयनका क्रममा स्थानीय निर्वाचन, प्रदेशसभाको निर्वाचन र संसद्को निर्वाचन गराउनुपर्ने आवश्यकता भएकाले आगामी मङ्सिरमा स्थानीय निर्वाचन गराउने गरी सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।  
उहाँले छलफलमा निर्वाचन आयोगको आन्तरिक तयारी, भौतिक साधनको पर्याप्तता, अन्य प्राविधिक अवस्था तथा कानुनी बाधा अड्चनका बारेमा छलफल भएको जानकारी दिनुभयो ।  आयोगका पदाधिकारीले आयोग जुनसुकै बेला पनि निर्वाचन गराउनसक्ने अवस्थामा रहेको प्रतिबद्धता जनाउनुभएको जानकारी कानुनमन्त्री खरेलले दिनुभयो ।  छलफलमा आवश्यक कानुनको तत्काल निर्माण र आयोगको पूर्णताका लागि आयोगका पदाधिकारीले सरकारसँग आग्रह गर्नुभएको थियो ।  
मन्त्री खरेलले आयोग र निर्वाचनसम्बन्धी सरकारले आवश्यक ऐनकानुनको तयारी गरी विधेयकका रूपमा व्यवस्थापिका–संसद्मा पेस गरिसकेको र केही पेस गर्ने तयारीमा रहेको बताउनुभयो ।  
मन्त्री खरेलले भन्नुभयो, “निर्वाचनसम्बन्धी केही कानुन अविलम्ब निर्माण हुन सकेमा आयोग निर्वाचन गराउन तयार भएको देखियो, अब सरकार त्यता बढी सक्रिय हुन्छ । ” उहाँले भन्नुभयो, “तत्काल ‘इलोक्ट्रोनिक एक्ट’ पारित हुनुपर्छ नभए आयोगले काम गर्न सक्दैन ।  त्यसका लागि सरकारले यथाशक्य काम गर्ने प्रतिबद्धता जनाएको छ । ”
पाँचजना पदाधिकारी रहने आयोगमा हाल कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा. यादव र आयुक्त इला शर्मा मात्र हुनुहुन्छ ।  बाँकी तीनजना आयुक्त पद खाली छ ।  
प्रमुख निर्वाचन आयुक्तका लागि डा. यादवको नाम संसदीय सुुनुवाइका क्रममा रहेको छ ।  सोमबारको छलफलमा प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारी तत्काल नियुक्त गरिने जानकारी आयोगका पदाधिकारीलाई दिनुभएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना