परिवर्तित स्पेन, एकनाशको इटाली

पेरिस, असार १३ गते ।  चार वर्षअघि इटालीलाई हराएर युरोपेली च्याम्पियन बनेपछि स्पेनी फुटबलमा धेरै परिवर्तन भइसकेको छ ।  इटालीले अझै पनि त्यस्तै मिहिनेती टिमको पहिचान बनाएको छ ।  कडा रक्षापङ्क्ति र प्रभावशाली आक्रमण इटालियाली फुटबलको गुण हो ।  यद्यपि स्पेन भने अहिले विगतमा जस्तो सशक्त टिम रहेन ।  सन् २०१४ विश्वकपमा उपाधि रक्षा गर्ने क्रममा समूह चरणबाट बिदा भएपछि स्पेनले आफ्नो स्वर्णिम युगका केही खेलाडी पनि गुमाइसकेको छ ।  लामो समयपछि इटालीविरुद्ध सोमबार युरोको प्रिक्वाटरफाइनलमा खेल्दा स्पेन दावेदारका रूपमा रहनेछैन ।  पछिल्ला दुईपटक स्पेनले इटालीलाई युरोपेली च्याम्पियनसिपमा हराउँदा टिममा रहेका जाभी हर्नान्डेज, जाभी ओलोन्सो, फर्नान्डो टोरेज अहिले छैनन् ।  david-silva-spain
अहिले स्पेनको मिडफिल्ड पूरै आन्द्रिया इनिएस्टामा भर परेको छ ।  स्पेनी टिममा इकेर कासिलास, सर्जियो रामोस, डेभिड सिल्भा र सेच फाब्रिगास अहिले पनि छन् ।  यसैगरी सन् २०१२ मा फाइनल खेल्ने जेरार्ड पिक, जोर्डी अल्बा, सर्जियो बुस्केट, जुवाफ्रान टारज र पेड्रो रोड्रिगेजको साथ पनि स्पेनलाई छ ।  गत संस्करणको फाइनलमा स्पेनले इटालीलाई सजिलै ४–० ले हराएर उपाधि जित्यो ।  जुन स्पेनको लगातार तेस्रो प्रमुख प्रतियोगिताको उपाधि थियो ।  
इटालीको टिममा पनि सन् २००८ मा खेल्ने चार खेलाडी अझै छन् ।  ती हुन् चेलेनी, गियान्लुगी बफन, आन्द्रिया बार्जाग्ली र डेनियल डी रोसी ।  यी खेलाडीले चार वर्षअघि युरो फाइनल पनि खेलेका थिए ।  सन् २०१३ को कन्फडरेसन्स कपको सेमिफाइनलमा स्पेनसँगै टाइब्रेकरमा हारेको इटालीलाई यो प्रतियोगिताको आरम्भमा राम्रो टिम मानिएको थिएन तर बेल्जियमलाई २–० र स्विडेनलाई १–० ले हराएर इटालीले आलोचकलाई आफूप्रतिको धारणा परिवर्तन गर्न बाध्य बनाइसकेको छ ।  यद्यपि इटाली समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग १–० ले हारेको थियो ।  सो खेलमा इटालीले पहिलो रोजाइका प्रायः खेलाडीलाई आराम दिएको थियो ।
आइसल्यान्ड–इङ्ल्यान्ड
आइसल्यान्डका खेलाडीले प्रमुख फुटबल प्रतियोगितामा सधैँ इङ्ल्यान्डको समर्थन गर्दै आएका छन् तर अहिले सोही टिमलाई आइसल्यान्डले बिदा गर्ने लक्ष्य लिएको छ ।  इङ्ल्यान्ड र आइसल्यान्डबीच युरो प्रिक्वाटरफाइनल खेललाई आश्चर्यकै रूपमा हेरिएको छ ।  आइसल्यान्ड युरोमा खेल्ने अहिलेसम्मकै सबैभन्दा सानो देश हो ।  जुन टिम सोमबार इङ्ल्यान्डलाई हराएर अर्को स्तब्ध नतिजा निकाल्ने प्रयासमा हुनेछ ।   आइसल्यान्डले अहिलेसम्म पूर्ण खेल खेलेको छ तर आइसल्यान्डलाई थाहा छ इङ्ल्यान्डलाई हराउन आफ्नो शतप्रतिशत प्रयासले नपुग्न सक्छ ।  
अहिलेसम्म दुवै टिम एकै प्रकारले आफ्नो समूहको उपविजेताका रूपमा प्रिक्वाटरफाइनलमा पुगेका हुन् ।  इङ्ल्यान्ड अन्तर्राष्ट्रिय फुटबलको ठूला नाममध्ये एक हो ।  जुन टिमका सबै खेलाडी विश्वमै चर्चित छन् तर आइसल्यान्डका कुनै खेलाडी देश बाहिर कतै चिनिएका होलान् ? मिडफिल्डर जिल्फी सिगर्डसन भने आक्कलझुक्कल विश्व खेल समाचारमा आउने नाम हो ।  उहाँले आफ्नो खेल जीवनमा प्रायः समय इङ्लिस लिगमा खेल्नुभएको छ ।  तीन लाख ३० हजार जनसङ्ख्या भएको आइसल्यान्डका खेलाडीलाई इङ्ल्यान्डका सबै खेलाडीको बलियो र कमजोरी पक्षबारे थाहा छ तर इङ्ल्यान्डका खेलाडी विपक्षी टिमबारे अनभिज्ञ नै छन् ।
यसैगरी पछिल्ला दस वर्षमा प्रमुख प्रतियोगितामा इङ्ल्यान्डको प्रदर्शन राम्रो पनि छैन ।  सन् २००६ को विश्वकपको प्रिक्वाटरफाइनलमा इक्वेडरलाई हराएको नतिजा नै एक दशकमा इङ्ल्यान्डले प्रमुख प्रतियोगिताको नकआउट चरणमा जितेको एकमात्र सफलता हो ।  आइसल्यान्ड भने पहिलोपटक प्रमुख प्रतियोगितामा खेल्दैछ ।  आइसल्यान्डले अहिलेसम्म कडा डिफेन्स र तेज प्रत्याक्रमणको रणनीतिमा खेलेको छ ।  क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई बराबरीमा रोकेर अस्ट्रियालाई २–१ ले हराएकाले आइसल्यान्डको सम्भावना नकार्न मिल्दैन ।  एपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना