जननेता भण्डारीको जन्मजयन्ती मनाइने

Madan-Bhandariकाठमाडौँ, असार १३ गते ।  जननेता मदन भण्डारीको ६५ औँ जन्मजयन्ती असार १४ गते भव्यतासाथ मनाउने तयारी गरिएको छ ।   नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा मङ्गलबार हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताको सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।
हरेक वर्ष जन्मजयन्तीको अवसर पारेर दिइने पुरस्कार पनि सो अवसरमा वितरण गरिने मदन भण्डारी फाउन्डेसनले जनाएको छ ।  
फाउन्डेसनले आइतबार आयोजना  गरेको पत्रकार सम्मेलनमा भण्डारीको जन्मदिन मङ्गलबार एकलाख रुपियाँ राशिको मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण गरिने सो संस्थाका सचिव भेषराज अधिकारीले बताउनुभयो ।  सोही दिन पुरस्कार कसलाई दिने भन्ने घोषणा गरिने बताइएको छ ।  
फाउन्डेसनले एमाले सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरी सोबारे तयारी गरिरहेको सचिव अधिकारीले बताउनुभयो ।   गत सालको पुरस्कार भूकम्पका कारण वितरण गर्न नसकिएकाले यसपालि दुई वर्षको पुरस्कार  वितरण गरिने फाउन्डेसनले जनाएको छ ।
यसअघि मदनकृष्ण श्रेष्ठ,  हरिवंश आचार्य र डोममणि पौडेल अध्यक्ष रहेको सहिद पार्क हेटौँडालाई सो पुरस्कार प्रदान गरिएको थियो ।   सो दिन देशभर स्व. भण्डारीको जन्मजयन्ती मनाउने तयारी भएको छ ।  फाउन्डेसनका ५० जिल्लामा समिति छन् ।  
जन्मजयन्तीको अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला, रक्तदान र खेलकुद कार्यक्रमको आयोजना भइरहेको सो संस्थाका सचिव अधिकारीले बताउनुभयो ।  
सो दिन फाउन्डेसनले मदन भण्डारीको स्मरणमा लेखिएको र विभिन्न रचना समेटिएको ‘श्रद्धाञ्जलि’ नामक पुस्तक सार्वजनिक गर्ने तयारी गरेको  छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना