आरोप पुष्टि गर्न अख्तियारको चुनौती

Akhtiyar-durupayog-anusandhan-aayogकाठमाडौँ, असार १३ गते ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त तथा आयुक्तहरूमाथि मनोगत लाञ्छनासहित महाअभियोग एवं कारबाही प्रक्रिया अगाडि बढाउन डा. गोविन्द केसीले राखेको मागप्रति कडा शब्दमा भत्र्सना गरेको छ ।  
डा. केसीले नेपाल सरकारसमक्ष राख्नुभएको विभिन्न मागमा अख्तियारका प्रमुख आयुक्त र आयुक्तलाई महाअभियोग लगाउनुपर्ने मागसमेत समावेश भएको पाइएपछि आइतबार अख्तियारले विज्ञप्ति जारी गर्दै त्यसको भत्र्सना गरेको हो ।  अख्तियारले प्रमुख आयुक्त तथा आयुक्तहरूउपर लगाइएको आरोपको पुष्टि गर्नसमेत डा. केसीलाई चुनौती दिएको छ ।  
‘भ्रष्टाचार, अनाचार र सबैखाले विसङ्गतिविरुद्धको महाअभियानमा क्रियाशील आयोगका प्रमुख आयुक्त र आयुक्तहरूप्रति लक्षित डा. केसीको माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याइ छ’, प्रवक्ता कृष्णहरि पुष्करद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  
आफ्ना कुनै पनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्सा क्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्र सुधारको प्रक्रिया अवरुद्ध तुल्याएको, भ्रष्टहरूलाई संरक्षण दिएको र कुनै पदाधिकारी विशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन बाध्य तुल्याएको भन्नेजस्ता अभियोगको तथ्यगत पुष्टि गर्न अख्तियारले डा. केसीलाई चुनौती दिएको छ ।  
चिकित्सा एवं स्वास्थ्य क्षेत्रको शुद्धताका लागि आयोगले आफ्नो कारबाही अधिकारभित्रै रहेर गरेको पहलबाट तर्सिएका मेडिकल माफियाहरूसँगको डा. केसीको सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरि स्वघोषित नागरिक अगुवा तथा सङ्गठित अपराधी र भ्रष्टसँगको साठगाँठ आयोगको दृष्टिमा ओझेलमा छैनन् भन्दै विज्ञप्तिमा आयोग पदाधिकारीहरूविरुद्ध केन्द्रित पछिल्लो प्रस्तावलाई केसीका यिनै सन्देहास्पद गतिविधिका आलोकमा हेरिनुपर्ने उल्लेख गरिएको छ ।  
‘डा. केसीलाई नेपाली चिकित्सा क्षेत्रको विनाशको प्रतिनिधिबाहक नबन्न बरु आफूमा निहित चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाव दिन चाहन्छ’, तीन पृष्ठ लामो विज्ञप्तिमा भनिएको छ– ‘बारम्बार आफ्नो न्यूनतम आचरण र जिम्मेवारीको दायराबाट विमुख डा. केसीको मानसिक उपचारको शीघ्रातिशीघ्र उचित व्यवस्थाका लागि आयोग सरकारसँग आग्रह गर्दछ । ’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना