बुद्धएयरको विमानमा चरा ठोकियो

नेपालगञ्ज समाचारदाता, नेपालगञ्ज, असार १२ गते । काठमाडौंबाट नेपालगञ्जका लागि आइतवार विहान उडेको बुद्ध एअरको एटीआर ७२ बिमान नेपालगञ्ज एयरपोर्टमा अवतरण हुन लागेको बेला सो विमानमा चरा ठोक्किएको छ ।

आइतवार विहान करिब ९ बजेर १५ मिनेट जाँदा बुद्ध एअरको सो विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्न लागेकै बेला ठूलो चरा विमानको पपमा ठोकिएको नेपालगञ्जस्थित बुद्ध एअरको कार्यालयले जनाएको छ ।

जहाज अवतरण गर्न लागिरहेकै बेला पपमा चरा ठोकिएपछि जहाजको दाहिने पंखामा सामान्य क्षति भएको तर जहाजको अन्य भाग र यात्रुहरू सबै सकुशल रहेको बुद्ध एअरको कार्यालय नेपालगञ्जका प्रमुख विनित शाहले बताउनुभयो ।

राजधानीबाट इन्जिनियरलाई बोलाईएको र इन्जिनियरले जहाजको जाँच गरेर उडान गर्ने नगर्ने बारे निर्णय दिने उहाँले जनाउनुुभयो ।
जहाजमा चरा ठोकिएपछि विमानलाई नउडाईएको जनाउँदै प्रमुख शाहले प्राविधिकले जाँच गरेर प्रतिवेदन दिएपछि मात्रै उडाउनेबारे निर्णय गरिने बताउनभयो ।

सो जहाजमा राजधानी जान बिमानस्थल पुगेका नेपालगञ्जका यात्रुहरूका लागि राजधानीबाट अर्को विमान झिकाईएको पनि शाहले बताउनुभयो ।
जहाजमा चरा ठोकिएपछि नेपालगञ्जबाट हुने सबै उडानहरूलाई करिब दुई घण्टाका लागि रोकिएको थियो । पछि अन्य उडानहरू सुुचारु गरिएको विमानस्थलले जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले चरा ठोक्किएका कारण करिब दुई घण्टा उडानहरू रद्द गरिएको जनाउँदै त्यसपछि सुुचारु रहेको जनाउनुभयो । उहाँले ठुलो दुर्घटना हुन नपाएको जनाउँदै सबै यात्रु सकुशल रहेको र अहिले स्थिति सामान्य रहेको बताउनुभयो ।

नेपालगञ्ज विमानस्थलको वरिपरिको क्षेत्रमा बढी घाँस र रुख बिरुवाहरू रहेकाले सो स्थानमा ठुलो संख्यामा चराहरूको आवागमन हुने गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना