ईयूबाट बाहिरिँदै बेलायत

UK-Exit-EUलन्डन, असार ११ गते ।  ४१ वर्ष अघि ६७ प्रतिशत जनमतसहित युरोपेली युनियन (ईयू)को सदस्य बनेको बेलायतले शु्क्रबारबाट बाहिरिने प्रक्रिया सुरु गरेको छ ।  बिहीबार भएको र शुक्रबार बिहान प्राप्त जनमत सङ्ग्रहको नतिजामा ५१ दशमलव ९ प्रतिशत नागरिकले बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा मतदान गरेका छन् भने ४८ दशमलव १ प्रतिशत नागरिकले बेलायत ईयूकै सदस्य रहनुपर्छ भन्ने पक्षमा मतदान गरेका छन् ।
नजितापछि बेलायत ईयूकै सदस्य रहनुपर्छ भन्ने पक्षलाई नेतृत्व गर्नुभएका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिने घोषणा गर्नुभएको छ ।  उहाँले आगामी अक्टोबरदेखि प्रधानमन्त्री पद त्याग गर्नुहुनेछ ।  अक्टोबरपछि क्यामरुनकै पार्टीका नेता भए पनि बेलायत ईयूबाट बाहिरिनुपर्छ भन्ने पक्षमा धुँवाधार प्रचार गर्नुभएका लण्डनका पूर्वमेयर बोरिस जोन्सन प्रधानमन्त्रीको दौडमा सबैभन्दा अघि हुनुहुन्छ ।
जनमतपछि बेलायत ईयूबाट बाहिरिने प्रक्रिया सुरु भएको छ तर यो प्रक्रिया पूरा गर्न छिटोमा पनि दुई वर्ष लाग्नेछ ।  ईयूबाट बेलायत बाहिरिने निर्णयसँगै त्यसको सबैभन्दा ठूलो असर बेलायत तथा एसियाली अर्थतन्त्रमा देखा परेको छ ।  
अमेरिकी डलरको तुलनामा पाउन्डस्टर्लिङ ३१ वर्षकै सबैभन्दा तल्लो स्तरमा झरेको छ ।  लन्डन स्टक एक्सचेञ्जको मुख्य सूचक एफटीएसई १०० दुई दशमलव सात प्रतिशत तल झरेर बन्द भएको छ ।  ब्रेक्जिटको खबरमा लालमोहर लागेपछि आत्तिएका लगानीकर्ताले सेयर बिक्री बढाएका थिए ।  बजार घट्दा लगानीकर्ताले एक सय अर्ब पाउन्ड गुमाउनुपरेको छ ।
युरोको असर कम गर्न दुई सय ५० अर्ब पाउन्ड खर्च गर्ने घोषणा बैङ्क अफ इगल्यान्डले गरेपछि सुरुमा सात प्रतिशतले झरेको बजारमा सुधार आएको थियो ।  बे्रक्जिटको असरका कारण बेलायतबाहेक जापान, हङकङ र भारतको सेयर बजारमा पनि ठूलो गिरावट आएको छ ।
नेपालमा पाउन्ड घट्यो, डलर बढ्यो
ब्रेक्जिटको असर नेपालसम्मै देखिएको छ ।  शुक्रबार पाउन्डसँग नेपाली मुद्राको अधिमूल्यन भएको छ भने डलरसँग अवमूल्यन भएको छ ।  राष्ट्र बैङ्कले शुक्रबारलाई तोकेको नेपाली मुद्रासँग पाउन्डको ‘रिफ्रेन्स रेट’को तुलनामा शनिबार तोकेको रिफ्रेन्स रेटमा ९ रुपियाँले कमी आएको छ ।  शुक्रबार एक पाउन्ड सटही गर्दा १५९ रुपियाँ ७६ पैसा प्राप्त हुन्थ्यो भने शनिबार एक पाउन्ड सटही गर्दा १५० रुपियाँ ५८ पैसा मात्रै पाइन्छ ।  उता डलर भने एक रुपियाँले बढेको छ ।  शुक्रबार एक डलरको सटही १०७ रुपियाँ ३६ पैसा रहेकोमा शनिबार बढेर १०८ रुपियाँ ४० पैसा पुगेको छ ।  
पाउन्ड अधिमूल्यन हुँदा बेलायतबाट पेन्सन प्राप्त गर्ने नेपाली नागरिकलाई असर पर्नेछ ।  त्यसैगरी बेलायतमा बसेर नेपालमा रकम पठाउने नेपाली पनि यसबाट प्रभावित हुनेछन् ।  त्यसैगरी बेलायतले नेपाललाई सहयोग दिने पाउन्डको मात्र उही भए पनि नेपालले प्राप्त गर्ने सहयोग नेपाली मुद्रामा भने विगतभन्दा थोरै हुनेछ ।
सूनको मूल्य तोलामा तीन हजार बढ्यो
अमेरिकी डलर बढ्दा शुक्रबार नेपालमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ ।  सुन तोलामा तीन हजार रुपियाँ र चाँदी तोलामा ३० रुपियाँ बढेको छ ।  बिहीबार प्रतितोला ५६ हजार रुपियाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ५९ हजारमा र ७९० रुपियाँमा कारोबार भइरहेको प्रतितोला चाँदी ८२० रुपियाँमा कारोबार भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना