शिक्षाको मानक होइन एसएलसी

Ratna prajapatiरत्न प्रजापति    

 

एसएलसीको परीक्षाफल लेटर ग्रेडिङ अर्थात् अक्षराङ्कन पद्धतिबाट प्रकाशित गर्ने निर्णय भएसँगै विगतको परीक्षाफलमाझैँ कोही पनि फेल नहुने र फेल भएकै कारण निराश भएर वर्षैपिच्छे केही विद्यार्थीले आत्महत्या गर्दै आएकोमा अब सोही कारण कसैले पनि त्यसरी आत्महत्या गर्नु नपर्ने भयो भन्ने सोचिएको थियो तर सोचेजस्तो भएन ।  अक्षराङ्कन पद्धतिबाट परीक्षाफल प्रकाशित गर्दा पनि न्यून ग्रेड आएको भन्दै बझाङकी एक परीक्षार्थीले आत्महत्या गरेको समाचार आयो ।  एसएलसी परीक्षाको ८३ वर्ष लामो इतिहासको अन्त्यसँगै एसएलसीकै नाममा जीवनको अन्त्य गरिएको यो समाचार पनि अन्तिम बनोस् ।  
उच्च माध्यमिक शिक्षा परिषद्को असार १ गते बसेको बैठकले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुन २.० र अन्य संकायमा भर्ना हुन १.६ जीपीए (ग्रेड प्वाइन्ट एभरेज) ल्याउनुपर्ने निर्णय गरेको छ ।  उक्त निर्णयअनुसार अब १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थीले कुनै पनि संकायको कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् ।  आत्महत्या गरेकी सपनाकुमारी भण्डारीले १.३ जीपीएमात्रै ल्याएकी हुँदा उनी कुनै पनि संकायको कक्षा ११ मा भर्ना हुन नपाउने थाहा पाएर निराश हुँदै आत्महत्या गरेको हुनुपर्छ ।  
वास्तवमा यस्तो आत्महत्या नै गर्नुपर्ने गरी निराश हुनुपर्ने स्थिति हाम्रो समाजले एसएलसीलाई अलि बढी नै महŒव दिएर पनि उत्पन्न भएको हो ।  एसएलसीलाई फलामे ढोका भनेर विद्यार्थीलाई एसएलसीको हाउगुजीबाट तर्साउने र मानसिकरूपमा निकै प्रताडित बनाउने कारण यसो भएको हो ।  एसएलसी नै अन्तिम परीक्षा होइन र एसएलसी नै सबैभन्दा ठूलो परीक्षा पनि होइन भन्ने धारणा र सोचको विकास गर्नसकेको भए यसरी वर्षैपिच्छे कहिले फेल भएको निहुँमा त कहिले न्यून ग्रेड आएको निहुँमा विद्यार्थीले आत्महत्या गर्नुपर्ने र अभिभावकले आफ्नो सन्तान गुमाउनुपर्ने अवस्था नै आउने थिएन ।  
विद्यालय शिक्षा सुधार गर्न भनी सरकारले पेस गरेको ‘शिक्षा विधेयक (आठौँ संशोधन), २०७३’ लाई व्यवस्थापिक संसद्ले जेठ २२ गते शनिबार सर्वसम्मतले पारित गरिसकेकाले अब १२ कक्षासम्मै माध्यमिक शिक्षा हुने भएसँगै एसएलसी परीक्षाको ८३ वर्षे इतिहासको पनि क्रमभङ्ग हुने भएको छ ।  यद्यपि सरकारले यस्तै निर्णय गर्नु थियो त एक वर्ष अघि गरिदिएको भए इतिहासमै एकपल्ट मात्रै एसएलसीको परीक्षाफल लेटर ग्रेडिङ अर्थात् अक्षराङ्कन पद्धतिबाट निकाल्नु नै पर्ने थिएन र लाखौँ विद्यार्थी, शिक्षक तथा अभिभावक अहिलेझैँ अन्योल र रणभुल्लमा पर्नु नै पर्ने थिएन ।  अहिलेको अन्योल छिट्टै हट्ने खालको छैन ।  यो अन्योलको समस्या शिक्षण संस्थादेखि रोजगारदाता संस्थासम्मले भोग्नुपर्ने छ ।  आगामी वर्षहरूमा कक्षा १२ सम्मको माध्यमिक शिक्षाको परीक्षाफलमा यही अक्षराङ्कन पद्धति लागू नहुने हो भने यो वर्षको एसएलसीमा मात्रै यो पद्धति लागू गर्नुको के औचित्य भयो ? यो त खाली अभ्यासका लागि अभ्यास र प्रयोगका लागि प्रयोग अथवा अन्तर्राष्ट्रिय लहडकै रूपमा मात्रै सीमित रहन पुग्नेछ ।  एक्लो घोडाको दौड प्रतियोगिताजस्तो न अगाडि कोही र न पछाडि कोही बन्नेछ एसएलसी परीक्षामा अपनाइएको लेटर गे्रडिङ अर्थात् अक्षराङ्कन पद्धति ।  
शिक्षाविद्हरूका अनुसार अक्षराङ्कन पद्धति ‘कस्मेटिक’ परिवर्तनमात्रै हो ।  यो परिवर्तनले राम्रो ग¥यो भनी सोच्नुभन्दा यसले पार्ने प्रभावका बारेमा सोच्नु आवश्यक थियो र अद्यापि छ ।  अक्षराङ्कन पद्धति लागू गर्दैमा शिक्षाको गुणस्तरमा सुधार आउने होइन ।  यो अन्तर्राष्ट्रिय अभ्यास हो र त्यसैको अनुसरण मात्रै हो ।  यद्यपि अक्षराङ्कन पद्धतिले एलएलसीको हाउगुजीबाट भने अवश्य धेरै विद्यार्थी मुक्त भएका छन् र सम्भावित पारिवारिक तथा सामाजिक दबाब र तनावबाट पनि मुक्त भएका छन् ।  
यो वर्षको एसएलसी परीक्षाफलअनुसार चार लाख ८२ हजार नौ सय ९८ जना अर्थात् ८२.१२ प्रतिशतले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् भने बाँकी एक लाख पाँच हजार एक सय ५४ जना अर्थात् १७.८८ प्रतिशत चाहिँ कक्षा ११ मा भर्ना हुनबाट वञ्चित हुने भएका छन् ।  यद्यपि १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थीलाई पनि प्राविधिकतर्फ व्यावसायिक शिक्षा लिने व्यवस्था गरिएकाले त्यतातर्फ लाग्ने अवसर भने छ ।  तिनले प्राज्ञिकभन्दा पनि रोजगारमूलक शिक्षा पाउने हुँदा अध्ययनपछि बेरोजगार बन्नुपर्ने चिन्ताबाट भने मुक्त हुनेछन् ।  वास्तवमै सुरुदेखि नै प्राज्ञिक र प्राविधिक अर्थात् व्यावसायिक शिक्षालाई समान महŒव दिँदै त्यसको समानान्तर विकास गर्नसकेको भए अहिलेको जस्तो शिक्षित बेरोजगारीको भयावह स्थिति पनि उत्पन्न हुने थिएन ।  
शिक्षित बेरोजगारीको भयावह स्थिति उत्पन्न हुनु हाम्रो शिक्षा नीतिकै कमजोरी हो ।  स्वरोजगार र रोजगारीको अवसर सिर्जना गर्दै उत्पादन वृद्धिमा सघाउन व्यावसायिक शिक्षामा जोड दिनैपर्छ ।  रोजगारीको अवसरमा वृद्धि नभई गरिबी निवारण सम्भव हुँदैन ।  यसकारण पनि मुलुकको हरेक नीति तथा योजनाले रोजगारमूलक व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्नु जरुरी छ ।  शिक्षालाई जत्तिकै व्यक्तिको सीप र प्रतिभालाई पनि कदर गर्ने र सम्मान गर्ने संस्कृतिको विकास भए विद्वान् नभए पनि खेलाडी, कलाकार, लेखक वा अन्य कुनै पेसाकर्मी भएर पनि समाजमा मर्यादित जीवन जिउन सकिन्छ भन्ने सकारात्मक सोचको विकास हुनसक्छ ।  जीवनका लागि आधारभूत र औपचारिक शिक्षा अनिवार्य छ तर शिक्षाविना जिउनै नसकिने होइन ।  अनौपचारिक शिक्षामात्रैले पनि जीवनलाई सहज र बढी व्यावहारिक बनाउन सकिन्छ ।  आफूसँग भएको प्रतिभा र सीपलाई तिखार्न र निखार्न सके व्यावसायिकताको विकास गर्न सकिन्छ ।  प्राविधिक दक्षताले पनि प्राज्ञिक दक्षताबाट भन्दा बढी काम गर्न सकिन्छ र नाम र दाम पनि आर्जन सकिन्छ ।  हरेक विद्यार्थीलाई यस्तो व्यावहारिक ज्ञान दिलाउनु आवश्यक देखिएको छ ।
एसएलसीमा उत्कृष्ट नम्बर ल्याएका विद्यार्थीले त्यसलाई निरन्तर कायम गर्न नसकेका र न्यून अङ्क ल्याएकाले पनि पछि शिक्षामा निकै राम्रो प्रगति गरेका उदाहरण छन् ।  अध्ययनका क्रममा कमजोर र असफल धेरै व्यक्तिले जीवनमा निकै उदाहरणीय र अनुसरणीय काम पनि गरेका छन् ।  भौतिकशास्त्रका वैज्ञानिक अल्बर्ट आइन्स्टाइन हाइस्कुल ‘ड्रपआउट’ हुन भनिएको छ ।  यसैगरी विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियर १३ वर्षकै उमेरदेखि शिक्षाबाट वञ्चित भएका थिए ।  माइक्रोसफ्टका मालिक एवं विश्वकै धनी व्यक्ति बिल गेट्स, अमेरिकी प्रोग्रामर तथा सूचनाप्रविधि व्यवसायी तथा फेसबुकका प्रणेता मार्क जुकरबर्ग र एप्पलका संस्थापक स्टिभ जब्स पनि कलेजका ‘ड्रपआउट’ विद्यार्थी हुन् भनिन्छ ।  यी व्यक्तिहरूको जीवनीलाई आदर्श मान्ने हो भने पढाइमा कमजोर विद्यार्थीले पनि भविष्यमा आफ्नो रुचिको क्षेत्रमा मिहिनेत गरे सफलता हासिल गर्न र समाजमा आफूलाई स्थापित गर्न सकिन्छ भनेर आत्मबोध गर्न सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना