भूकम्पपीडितलाई एकमुष्ठ राहत दिन माग

samsadकाठमाडौँ, असार १०  गते ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भूकम्पपीडितलाई सरकारले दिने निर्णय गरेको दुई लाख रुपियाँ सहायता रकम एकमुष्ठ दिन माग गर्दै व्यवस्थापिका संसद् बैठक अवरुद्ध गरेको छ ।
अनुदान सम्झौता र पुनःनिर्माणबारे सरकारसँग पटक–पटक माग गर्दा पनि जवाफ नपाएको भन्दै काँग्रेसले सदन अवरुद्ध गरेको हो ।  पीडितलाई दुई लाख रुपियाँ तीन किस्तामा दिने निर्णय तत्कालीन काँग्रेस नेतृत्वकै सरकारले गरेको थियो ।
व्यवस्थापिका संसद्को मङ्गलबारको रुलिङअनुसार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनका लागि समय माग गर्नुभएको थियो ।  उक्त कुरा सभामुख ओनसरी घर्तीले सदनमा जानकारी गराएपछि प्रतिपक्षले सदन अवरुद्ध गरेको हो ।  सदन अवरुद्धपछि कानुनमन्त्री अग्निप्रसाद खरेलले काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह नगरेको बताउनुभयो ।  
प्रतिपक्ष दल काँग्रेसका सांसद डा. प्रकाशशरण महतले प्राधिकरणलाई राजनीतिक भर्तीकेन्द्र बनाएको, एमालेका विभिन्न विभागका सल्लाहकारलाई विज्ञ बनाएको आरोप लगाउनुभयो ।  महतले पीडितलाई दिने भनिएको दुई लाख रुपियाँ किस्ताबन्दीमा नभई एकमुष्ठ दिनुपर्ने माग गर्नुभयो ।  उहाँले भन्नुभयो, “सभामुखको रुलिङपछि पनि सरकारले प्रतिपक्षका आवाज सुनुवाइ गरेन ।  भूकम्पपीडितको अझै पहिचान भएन । ”
महतले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्धको प्रस्ताव गरेपछि प्रधानमन्त्रीले सोही विषयमा जवाफ दिन शुक्रबार समय निर्धारण गरिएको सभामुखले बताउँदै प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको थियो ।  सभामुखको आग्रहपछि काँग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले एक घण्टाभित्र जवाफ आएमा  सदन चल्न दिने नभए अवरुद्ध कायम रहने बताउनुभयो ।  श्रेष्ठको मागपछि सभामुखले बैठक स्थगित गर्नुभएको हो ।  
बैठकपछि कानुनमन्त्री खरेलले प्रतिपक्षको काम जिम्मेवार नभएको बताउनुभयो ।  खरेलले बैठकअगावै काँग्रेस संसदीय दलका नेतालाई समेत आफूले शुक्रबार प्रधानमन्त्रीले जवाफ दिनुहुने भएकाले अवरोध नगर्न आग्रह गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मैले प्रधानमन्त्रीले भोलि जवाफ दिने कुरा बैठकअघि नै भनेको थिएँ ।  तर, उहाँहरूले संसद् अवरोध गर्नुभयो ।  सरकारले भोलि जवाफ दिन्छ भनेको अवस्थामा समेत एक दिन जवाफ कुर्न नसक्नु जिम्मेवारीपन भएन । ”
भूकम्पपीडितलाई दिने राहत र पुनःनिर्माणमा ढिलाइ भएको भन्दै यसअघि पनि काँग्रेसले सदनमा पटकपटक आफ्ना धारणा राख्दै आएको थियो ।  सत्तारूढ दलबाट पनि पुनःनिर्माणमा सुस्तता भएको भन्दै सरकारको आलोचना भएको थियो ।  सांसदहरूको ध्यानाकर्षणपछि सभामुखले गत सोमबारको बैठकमा सरकारलाई पुनःनिर्माण, राहत वितरण तथा सहायता सम्झौताका विषयमा जवाफ दिन रुलिङ गर्नुभएको थियो ।  रुलिङअनुसार प्रधानमन्त्रीले शुक्रबारका लागि जवाफ दिन समय माग गर्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना