वैदेशिक रोजगारीमा जाँदा पनि आँसु, फर्कंदा पनि आँसु

काठमाडौँ, असार ९ गते । वैदेशिक रोजगारीमा जाँदा पनि आँसु र फर्कंदा पनि आँसु भोग्नुुपर्ने नेपालीको नियति जस्तै बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा वैदेशिक रोजगारीमा जान लागेकालाई आफन्तले आँसु झार्दै बिदाइ गरिरहेका थिए भने बुधवार नै अफगानिस्तानबाट १२ शव नेपाल आएका आफन्त पीडाले आफूले आफँैलाई सम्हाल्न सकेका थिएनन् । विदेश जानेलाई पनि विदेशबाट शव आउँदैछ भन्ने कुराले निकै भावविह्वल बनाएको थियो ।aasu

धन कमाएर सुखी जीवन जिउने आशामा रोजगारीका लागि विदेसिएका नेपालीको दैनिक करिब दुईवटा शव नेपाल आउने गर्छन् । यसरी रोजगारीमा गएका मृत्यु भएर नेपाल शव आउनेको सङ्ख्या मासिक ७५ र वार्षिक करिब ८०० जना छन् । यो दुःखद उदाहरणबीच काबुलको आत्मघाती बम आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो ।

शव बुझ्न सक्ने अवस्थामा थिएनन् आफन्त

सोमबार अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणबाट मृत्यु भएका १२ नेपालीको शव बुधबार नेपाल ल्याइयो । आफ्नै मान्छेको शवको प्रतीक्षामा बसेका आफन्त होसमा थिएनन् । उनीहरु आफैँ सम्हालिएका थिएनन् । उनीहरुको पीडा देख्न नसकेर त्यहाँ पुगेका जो कोहीको आँखा आँसुले भरिएका थिए । त्यहाँ एकप्रकारको चिच्याहट देखिन्थ्यो । निकै कोलाहलपूर्ण वातावरण थियो ।

पानी परिरहेको थियो । त्यो कोलाहल वातावरणबीच शव ल्याइयो । शव बुझ्न गएका आफन्त भावविह्वल अवस्थामा थिए । शव आउनेबित्तिकै आफन्तको शव राखिएको बाकसमाथि भक्कानिए । कोही चिच्याइरहेका थिए । कोही बोल्नसक्ने अवस्थामा थिएनन् । कोहीलाई आफन्तले पानी खुवाएर पङ्खाले हम्काएर राखेका थिए ।

त्यही सन्नाटा छाइरहेका अवस्थामा आफन्तसँग प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ पुगेर १२ नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गरी निर्दाेष नेपालीको हत्या गर्नु कायरता र अमानवीयताको सङ्ज्ञा दिनुभयो ।

नयाँ जीवन पाएजस्तोे लाग्यो 

अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणबाट नेपालमा बुधबार ल्याइएका १२ शवसँग २४ कामदार नेपाल फर्किए । उनीहरु निकै साहस र ढुक्कको श्वास फेरिरहेका थिए ।

पाँच वर्ष सुरक्षागार्डका रुपमा काम गरिरहेका त्रिशूलीका प्रेमबहादुर तामाङले भन्नुभयो, “असुरक्षा थियो, बचेर आएको, नयाँ जीवन पाएको जस्तो लागेको छ ।” उहाँका अनुसार सो कम्पनीमा १४७ नेपाली सुरक्षागार्डका रुपमा काम गर्छन् । अहिले ३० जनाजति छुट्टीमा छन् । अरू नेपाली कामदार पनि त्यहाँ बस्न चाहँदैनन् । खासगरी काम गर्ने स्थान र बसोबास गर्ने स्थानमा भन्दा पनि यात्राका क्रममा निकै त्रासको वातावरण छ ।

“हामीसँग हतियार हुँदैनथ्यो, एकै ठाउँमा राखिएको हुन्थ्यो, त्यो हतियार लिन जाँदासम्म पनि हामी सुरक्षित हुँदैनथ्यौँ, सम्पत्तिभन्दा बाँच्नु ठूलो कुरा हो”, उहाँले भावुक स्वरमा थप्नुभयो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । उहाँले बाँकी जीवन नेपालमै केही गरेर बिताउने सोच बनाउनुभएको छ ।

बुधबारै फर्किएका नुवाकोटका इन्द्रकुमार राईलाई पनि बाँचियो भन्ने लागेको छ । कम्पनी र कमाई त राम्रै भए पनि सुरक्षा नहुँदा ज्यानभन्दा ठूलो कुरा उहाँलाई पैसा लागेन । “राम्रो कमाई हुन्थ्यो तर सधैँ डरत्रासमा बाँच्नुपर्ने, बरु नेपालमै बसेर केही गर्छु, पैसा नै ठूलो कुरा होइन”, उहाँले सुनाउनुभयो । नौ महिनादेखि सुरक्षागार्डका रुपमा काम गरेर नेपाल फर्किएका तनहुँका केयरसिंह रानाले पनि त्रासमा काम गर्नुभन्दा नेपाल फर्कंदा खुसी लागेको अनुभव सुनाउनुभयो ।

“रेड जोनमै हामी काम गथ्र्यौं, जतिबेला जे पनि हुनसक्थ्यो, कम्पनीले कुरा सुन्दैनथ्यो”, उहाँले भन्नुभयो । सुरक्षागार्डका रुपमा काममा गएर फर्किएका तामाङ, राना र राई अवकाश प्राप्त नेपाली सेना हुनुहुन्छ । उहाँहरुको मासिक तलब रु एक लाख थियो । राम्रो कमाई हुने भएकाले उहाँहरु सो देशमा रोजगारीका लागि जानुभएको थियो । अफगानिस्तानमा हाल वैधानिक तीन हजार ३२३ नेपाली कामदार कार्यरत छन् । ती कामदार सुरक्षागार्डका रूपमा श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीका अनुसार स्वीकृति लिएर गएकाबाहेक कतिपय नेपाली व्यक्तिगत रूपमा भारत, पाकिस्तानलगायत मुलुक हुँदै गएको हुन सक्छ । अवैधानिक रूपमा अफगानिस्तान गएका नेपालीको सङ्ख्या यकिन नभए पनि त्यो सङ्ख्या धेरै हुनसक्ने अनुमान गरिएको छ । अवैधानिक रूपमा हालसम्म गएका नेपालीको सङ्ख्या करिब आठ हजार रहेको अनुमान गरिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना