नेता सहरमा, द्वन्द्वपीडित अस्पतालमा

नारद गौतम

कोहलपुर (बाँके), असार ५ गते ।  सशस्त्र द्वन्द्व सकिएको १० वर्ष बितेको छ तर पीडितका पीडा अझै ताजै छन् ।  सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता ठूलो पद लिएर सहरतिर लागे भने द्वन्द्वका क्रममा गम्भीर घाइते भएका अहिले पनि पुरानो घाउको पीडा कम गर्न नजिकको अस्पताल धाइरहेका छन् ।  
बाँके जिल्लाको कोहलपुरस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा द्वन्द्वमा गम्भीर घाइते हुनुभएका सरजन विक (अमोद) आफ्नी श्रीमती माया विकको सहयोगमा ह्विल चेयरमा गुड्दै गरेको पाइयो ।  तत्कालीन विद्रोही माओवादीका लडाकु विक २०६२ सालको अन्तिमतिर बुटबलको फूलबारी ब्यारेक आक्रमणका क्रममा गम्भीर घाइते हुनुभएको थियो ।  विकको कम्मरभन्दा तलको शरीरमा चेतना छैन ।  दिसापिसाब पनि अनियन्त्रित हुन्छ ।  सोही दिन तौलीहवामा पनि आक्रमण भएको थियो ।
त्यसैगरी, अर्जुन कुँवर नेपाली सेनामा कार्यरत हुँदा द्वन्द्वका क्रममा घाइते हुनुभयो ।  उहाँको घुँडादेखि कम्मरसम्मको भागमा गम्भीर समस्या छ ।  कैलालीको सुखडमा उहाँ घाइते हुनुभएको थियो ।  यस्तै, नेपाली सेनाकै खेम गुरुङको दाहिने खुट्टा घुँडामाथिबाटै काटिएको छ ।  शशीबहादुर आलेमगर अछामको मङ्गलसेन आक्रमणमा सहभागी हुँदा बायाँ हात र दायाँ आँखा छैन ।  
माओवादीका अर्का लडाकू रामकृष्ण पाण्डेको दायाँ खुट्टामा गोली लागेको थियो ।  गोली झिकियो तर नसाको समस्याले उहाँ अझै पीडित हुनुहुन्छ ।  जुम्लाको खलङ्गा आक्रमणमा उहाँलाई गोली लागेको थियो ।  पाण्डेले गोरखापत्रसँग भन्नुभयो, ‘‘सुरुमा मैले सुविधाका लागि पहल गरिनँ, जटिल समस्या भएका साथीका लागि प्रयास गरेँ, मजस्ता द्वन्द्वमा परेका तर राज्यबाट कुनै सुविधा नलिएका धेरै छौँ ।  पहिला अरूको पीडामा सहयोग गर्न लागेँ तर अहिले आफैँ समस्यामा परेँ ।  हामी त प्रयोग गरेर फ्याँकिएका छौँ, बाँकेमै कुनै सुविधा नपाएका हामीजस्तालाई कसले हेर्ने ?’’ dondpidit
अस्पतालमै भेटिनु भएका बाँके शमशेरगञ्जका इन्दलप्रसाद यादव द्वन्द्वपीडित सर्वसाधारण हुनुहुन्छ ।  २०६९ असार २५ मा माओवादीबाट आक्रमण हुँदा दुई जना घटनास्थलमै मरे र यादवलगायत तीन जना अहिले अपाङ्गताको पीडा बोकेर अस्पताल धाउँदै हुनुहुन्छ ।  उहाँ सहायक सामग्रीको सहयोगमा हिँडडुल गर्नुहुन्छ ।  
घटनाको स्मरण गर्दै यादव भन्नुहुन्छ,
‘‘हामीलाई हम्बरले हानियो, बम राखेर घर ध्वस्त पारियो, तर राज्यबाट कुनै क्षतिपूति पाएको छैनौँ, अस्पतालको केही खर्च राज्यले बेहोरेको छ, अब ७ कठ्ठा जग्गा बाँकी छ, ५० रुपियाँको सहायक सामग्रीको नट फेर्न १२ सय तिरेर काठमाडौँको भृकुटीमण्डपमा पुग्नुपर्छ, मैले छोराछोरी कसरी पढाउने ?’’
सशस्त्र द्वन्द्वमा एक अर्काविरुद्ध लडेका नेपाली सेना वा तत्कालीन विद्रोही माओवादी लडाकू हुन् वा दुवैको मारमा परेका सर्वसाधारण जो भए पनि अहिले उहाँहरू एउटै अस्पतालमा सँगै उपचारका लागि आउने गर्नुहुन्छ ।  उहाँहरू एकले अर्कालाई सहयोग पनि गर्नुहुन्छ ।  नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका प्रशासक निरोज ढुङ्गानाले द्वन्द्वपीडितका लागि लक्षित गरेर सुरु गरिएका धेरै सेवालाई निरन्तरता दिन समस्या भएको बताउनुभयो ।  द्वन्द्व प्रभावित अपाङ्गता भएकालाई लक्षित गरेर शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्ति कोषले सञ्चालन गरेको परियोजना अहिले छैन ।  कोषले हात झिकेपछि बाँकेमा रहेका पीडितलाई झन पीडा थपिएको छ ।  
द्वन्द्वमा गम्भीर घाइते भएकालाई राज्यले ‘क’ वर्गमा परेकालाई १२ हजार चार सय र ‘ख’ वर्गमा परेकालाई मासिक ६ हजार चार सय दिँदै आएको छ ।  पीडितले कर्मचारी र ज्येष्ठ नागरिकको तलब सुविधा वृद्धि भएको तर आफूहरूको सुविधामा वृद्धि नभएकोमा गुनासो गर्नुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना