कोराला नाका पुग्दा

Sudarshan khadkaसुदर्शन खड्का

 

वैशाख दोस्रो साता सांसदहरूसहित मुस्ताङ जिल्लामा रहेको कोरला नाकाको भ्रमण गर्ने अवसर मिल्यो ।  नयाँ संविधान जारी भए पश्चात् दक्षिण छिमेकी मुलुकबाट गरिएको अघोषित नाकाबन्दीका कारण इन्धनलगायत अति आवश्यक दैनिक उपभोग्य वस्तुहरूको अभाव भएपछि संसदीय समितिमा कोराला नाका खोल्नुपर्ने विषय उठेको थियो ।  मुलुकको वैदेशिक व्यापार एकातर्फ मात्रै निर्भर रहन नहुने र छिमेकी मुलुक चीनसँग जोडिएका व्यापारिक नाकालाई सञ्चालन गर्नुपर्ने आवाज उठिरहेको समयमा संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कोराला नाकालगायत उत्तरतर्फका अन्य नाकाहरू खोल्न सरकारलाई निर्देशन गरेको थियो ।  
वैशाख १६ गते हामी पोखरातर्फ प्रस्थान गर्ने कार्यक्रम थियो ।  पोखराको मौसम विग्रिएको कारण अघिल्लो दिन एउटा पनि उडान नभएकोले हाम्रो पनि उडान हुँदैन कि भन्ने थियो तर १२ः२० मा उड्नु पर्ने जहाज ३ः०० बजे पोखरातर्फ उड्यो ।  थानकोटभन्दा उता तलपट्टि केही देखिदैनथ्यो ।  मनमा डर लागिरहेको थियो ।  करिब २५ मिनेटको उडान पश्चात् जहाजले पोखरा विमानस्थलमा पाङ्ग्रा गुडायो ।  भोलिपल्ट विहान हाम्रो जहाज जोमसोम जाने नजाने निधोे थिएन तर मौसममा सुधार आएकोले हामी विहानै जोमसोम एयरपोर्टमा ओर्लियौ ।  प्रमुख जिल्ला अधिकारीले संसदीय टोलीलाई स्वागत गर्नुभयो ।  कागवेनी हुँदै मुक्तिनाथतर्फ जाने कार्यक्रम तय भयो ।  
कालीगण्डकीको बगरै बगर जीपमा हिँड्दा खुबै रमाइलो भएको थियो ।  जीपमा १५ मिनेटको यात्रापछि हामी बसपार्क पुग्यौँ ।  भाडा असाध्यै चर्को अनि मुक्तिनाथसम्म एउटा गाडी, त्यसपछि छुसाङसम्म अर्को गाडी, छुसाङदेखि चराङसम्म अर्को, चराङदेखि लोमान्थाङसम्म अर्काे, लोमान्थाङ देखि कोरला नाकासम्म अर्काे गाडी चढ्नुपर्ने जीप व्यवसायीहरूको सिण्डीकेट रहेछ ।  सिण्डीकेटको बारेमा हेर्नुपर्ने संसदीय समिति आफँै सिण्डीकेटमा फसेपछि परेन फसाद ! मैले केही बेर विभिन्न तर्क गरेँ तर के लाग्छ, त्यहाँ उनीहरूकै शासन चल्दो रहेछ ।  पछि जिल्लाकै माननीय सांसदले लाग्ने जति भाडा तिरेर दुई वटा गाडी फेर्नु नपर्ने गरी छुसाङसम्मको गाडी मिलाउनु भएछ ।  
कहिले कालीगण्डकीको तिरैतिर त कहिले बगर हुँदै कागवेनीको माथि माथि उक्लियौँ ।  मुक्तिनाथ पुग्नै लाग्दा त्यहाँसमेत घोडा र मोटरसाईकल व्यवसायीको सिण्डीकेट रहेछ ।  जीपबाट ओर्लेर १०–१५ मिनेट हिँड्नु पर्ने ठाउँमा जीप लैजान नदिने रहेछन् ।  त्यहाँ पनि हामीले त सिण्डीकेट तोड्यौँ तर अन्य स्वदेशी र विदेशी पर्यटकहरूले सास्ती व्यहोरेको देख्दा दुःख लाग्यो ।  
मुक्तिनाथको पूजा सकेर चार बजे छुसाङतर्फ लाग्यौँ ।  साँझ ६ बजे छुसाङ पुगेपछि कुशल चालकसहितको जीप तयार भएको रहेछ ।  उकालो र ओरालो बाटो साँझको समय भएको हुनाले हामीलाई मनमा डर लागिरहेको थियो ।  कतिपय ठाँउमा त आँखा चिम्म गरेर भगवानलाई प्रार्थना गर्नु पर्दथ्यो ।  खोलाको किनार हुँदै पहाडी बाटो उक्लियौँ ।  अँध्यारोले छोप्न लागेको छ ।  उकालोमा बाटो साँघुरो, तल भीर ।  कतै साह्रै ‘ग्रेडिङ’ नमिलाइएको अवस्था छ ।  एक ठाउँमा सडक निर्माण हुँदा माटो खसेर डोजरलाई पुरेको रहेछ ।  त्यहाँ चालकसहित तीन जनाको मुत्यु भएको रहेछ ।  त्यस ठाउँमा डोजरको उद्दारका लागि जे सुकै आए पनि स्टार्ट नै बन्द हुने भन्ने कुरा चालकले सुनाए ।  त्यसपछि मलाई झन डर लाग्यो ।  
डरैडर विकट ठाँउमा रहेका एक दुई घर हेर्दै माथि उक्लिरहेका थियौँ ।  साँझ प¥यो ।  त्यसपछि हामी बाटो मात्रै हेर्दै निरन्तर दुई घण्टा गुडिरह्यौँ ।  अब कति बाँकी छ ? भन्दा चालक भन्थे अब आइपुग्नै लाग्यो ।  आइपुग्नै लाग्यो भनेको कहिलै आउँदैन ! उकालो उक्लदै गर्दा बत्ती बलेको र २०–३० घर भएको एउटा बस्ती आइपुग्यो ।  रातको १० बजिसकेको थियो ।  सबै घरमा बत्ती निभिसकेका थिए ।  हामी माया दिदीको होटल खोज्दै हिँड्यौँ ।  केही पर गल्लीमा होटल फेला प¥यो ।  त्यस रात धन्य परमेश्वर भन्दै नेपाली स्तरको बिच्छौनामा रातको १२ बजे पल्टियौँ ।  
भोलिपल्ट सिण्डीकेटको नियमबमोजिम चराङदेखि लोमान्थाङसम्मको टिकट काट्नु पर्ने रहेछ ।  टिकट र भाडा सम्बन्धमा मैले केही बेर बादविवाद गरेँ ।  ‘माननीय महेन्द्र शेरचन तपाईंहरू सांसद हुनुहुन्छ ।  यही क्षेत्रको विकासको लागि, यो बाटो बनाउनको लागि, यो नाका खोल्नका लागि आउनु भएको हो’ भने पछि बल्ल उनीहरूले कुरा बुझे ।  हामीले फेरि चराङदेखि लोमाङथाङ हुँदै सीमा र चराङ फर्कने भनेर टिकट काट्यौँ ।  व्यवसायीहरूको कुरा सुन्दा लाग्दथ्यो त्यस क्षेत्रमा उनीहरू नै कार्यकारी राष्ट्रपति वा शक्तिशाली प्रधानमन्त्री हुन् ।  
विहान लोमान्थाङ पुगियो ।  नजिक आउँदै गरेको त्यहाँको स्थानीय पर्व तिजीका लागि सरसफाई हुँदै रहेछ ।  त्यसपछि हामी कोरला नाकातर्फ लाग्यौँ ।  डाँडाको फेदी, खोलाको बाटो, बल्ल बल्ल खोलिएको ट्रयाक, भेडा च्याङ्ग्रा चरिरहेको दृश्य र ढुङ्गा नै ढुङ्गाको थुप्रो हेर्दै उक्लियौँ ।  प्रकृतिका सुन्दर डाँडाको भित्तामा हिउँ पग्लँदा बन्न गएको बौद्व स्तूप, ठूलो माछा सुतेको जस्तो देखिने ढुङ्गा र रमाइला रमाइला आकृति हेर्दा मन प्रफुल्लित भएको थियो ।  माथि उक्लँदै गर्दा समथर भू–भाग, अन्तर्राष्ट्रिय विमान स्थलका लागि धावन मार्गसमेत पुग्ने विशाल फाँटहरू रहेछन् ।  यस्तो उच्च भागमा पनि समथर भूभाग एक प्रकृतिको सुन्दर उपहार भन्दै रमाउँदै रमाउँदै हामी उकालो लागिरह्यौँ ।  मन अलि हलुका भएको थियो किनकि समथर भूभागमा जोखिम थिएन ।  पानी नपर्ने कारणले कच्ची सडक भए पनि राम्रो थियो ।  यही बाटो भएर कहिले काँही लोमान्थाङसम्म चिनियाँ मालबाहक गाडीहरू आउने रहेछन् ।  
अन्तमा चार हजार ६५० मिटरको उचाईमा समथर भूभागमा रहेको कोरला नाका पुगियो ।  चीनतर्फको भागमा तारबार लगाइएको रहेछ ।  उतातर्फ तारबारभित्र वरिपरि भित्री सडक निर्माण कार्य भइरहेको थियो ।  नेपाली २४ नम्बरको पिलर हेर्दा र मित्र राष्ट्र चीनको सीमाना देख्दा मन प्रफुल्लित भयो ।  उनीहरूले सीसीटीभीले निगरानी गरिरहेका हुन्छन्, हाम्रो गाडी पुग्नासाथ उताबाट मान्छे गेटमा आइपुग्छन् भनिएको थियो तर हामी करिब २० मिनेट बस्दा कोही आएनन् ।  आए भने पनि “निहाउ” बाहेक केही भन्न जानेको छैन ।  उनीहरूसँग के कुरा गर्ने होला भनेर द्विविधामा रहेको बेला हामी पछि पछि लोमान्थाङबाट स्थानीय भाषा जान्ने समाजसेवी इन्द्रधारा विष्ट नेपाली सेनाको मेजरसहितको टोलीमा आइपुग्नु भएछ तर कुनै चिनियाँसँग कुरा गर्ने अवसर भने मिलेन ।  काठमाडौँबाट हिँड्ने बेलामा चन्द्र महर्जनले चिनियाँसँग बोल्नुपर्छ होला भन्दा मलाई हाँसो लागेको थियो ।  भूकम्पले क्षतिग्रस्त भएको मुस्ताङी राजाको पुरानो दरबार बाहिरबाट अवलोकन गरी हामी चराङ फर्कियौँ ।  
भोलिपल्ट चराङबाट छुसाङ आयौँ ।  ओरालो झर्दै अलि अलि रमाइलो भयो ।  माथि जाँदा अँध्यारोमा केहि नदेखिए पनि फर्कदा प्राकृतिक दृश्यले मन रमाइलो भयो ।  रमाइला र सुन्दर डाँडाहरू, केही पर झुप्प परेका दूर्लभ बस्तीहरूका दृश्य हेर्दै, फोटो खिच्दै तल ओर्लियौँ ।  डोजर खसेको ठाउँ हुँदै तल तल ओर्लिंदै गर्दा साँघुरो ठाउँ भएको समरको भिरमा आइपुगियो ।  ढुङ्गे पहाड काटेर बल्ल एउटा जीप पास हुने ग्रेडिङ नमिलाएको उकालो र ओरालो बाटो निक्कै डरलाग्दो थियो ।  यति पार गरिसकेपछि तल झर्दा निक्कै आनन्द लाग्यो ।  रातो माटोका पहाड बीचमा कुनै कलाकारले खोपे जस्तो लहरै प्वाल पारेको डाँडा, हिउँ पग्लँदा बनेका सुन्दर आकृतिहरू देख्दा किन विदेशी पर्यटकहरू हजारौँै खर्च गरेर माथिल्लो मुस्ताङ आउँदा रहेछन् भन्ने रहस्य थाहा भयो ।  
छुसाङमा झरेपछि अर्काे जीपबाट हामी जोमसोमतर्फ हानियौँ ।  दिउँसोको समय, सम्म परेको बाटो, कुशल चालक फेला पर्दा हामी छिट्टै कागवेनी आइपुग्यौँ ।  हिन्दुहरूको पितृ तर्पणका लागि पवित्र स्थल मानिने कागवेनी दोभानमा मुख धोएपछि कागवेनी माताको मन्दिरमा पितृहरूको उद्दारका लागि पूजा ग¥यौँ ।  त्यसपछि हामी जोमसोमको अन्तक्र्रियामा सहभागी भयांँै ।  
मुस्ताङ यात्रा अविस्मरणीय यात्रा बन्छ ।  मनमा रहेको डर र चिन्तालाई प्राकृतिक सुन्दरताले बिर्साइदिन्छ ।  नजानिँदो किसिमले माथिल्लो मुस्ताङ र कोरला नाकाप्रति प्रेमभाव मनमा गाडिँदो रहेछ ।  राष्ट्रिय आत्मसम्मान, स्वाधीन अर्थतन्त्र साथै निर्वाध व्यापार र पारबहन अधिकारको उपयोगको लागि यो नाका सञ्चालन हुनु अपरिहार्य छ ।  वेनी–जोमसोम– कोरला १७६ किलोमिटर सडक निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखी द्रूत गतिमा निर्माण सम्पन्न हुनुपर्छ ।  सबै पूर्वाधारको निर्माण र प्रभावकारी कूटनीतिक पहलपछि ढिलो चाँडो यो नाका सञ्चालन हुन सकेमा संसदीय प्रयास सार्थक हुने थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना