भूकम्पपीडितका पक्षमा काँग्रेसले आवाज उठाउने

राधा चालिसे

काठमाडौँ, असार १ गते ।  बुधबारदेखि सुरु हुने संसद्को नियमित बैठकमा नेपाली काँग्रेसले भूकम्पपीडितका अवस्थाप्रति गम्भीर सरोकार राख्दै आवाज उठाउने भएको छ ।  प्रमुख प्रतिपक्ष दलका रूपमा रहेको काँग्रेसले सम्पूर्ण भूकम्पपीडितले राहत अनुदान प्राप्त गर्ने सुनिश्चित नगरिएसम्म र जथाभावी रूपमा गरिएको गैरसरकारीकरण नरोकिएसम्म संसद्मा आवाज उठाइरहने बताएको छ ।
नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाका सभापतित्वमा मङ्गलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भूकम्प अतिप्रभावित जिल्ला सभापति एवम् सांसदहरूसँग छलफल गरेर यस्तो निर्णय गरेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  NC
मङ्गलबार भएको छलफलपछि भूकम्पपीडितलाई दिने अनुदान रकम एकमुष्ठ रूपमा उपलब्ध गराउनका लागि पनि संसद्मा आवाज उठाउने निर्णय भएको छ ।  छलफलमा भूकम्पपीडित जनताको पुनःनिर्माणको आवश्यकताप्रति यो सरकारको उदासिनता र राजनीतीकरण भएकोमा जिल्ला सभापति र सांसदहरूले पार्टीको ध्यानाकर्षण गराएका थिए ।  
त्यस्तै पीडित जनताका पुनःनिर्माणको आवश्यकताप्रति सरकार केन्द्रित हुनुको सट्टा गैरसरकारी संस्थाहरू र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई समेत कार्यकर्ता नियुक्तिको अवसरको रूपमा प्रयोग गरिएको भन्दै त्यस्ता गतिविधि रोक्न पार्टी सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।  भूकम्पपीडितका नामावलीसमेत राजनीतिक आस्थाका आधारमा हटाउने र राख्ने जस्ता असंवेदनशील काम भएको पनि पार्टीलाई जानकारी गराएका थिए ।  
छलफलमा भूकम्पका कारण अतिप्रभावित १९ जिल्लाका पार्टी सभापति र सांसदहरूको सहभागिता रहेको थियो ।  सरकारले काठमाडौँं उपत्यकालगायत १४ जिल्लाका भूकम्पका कारण अतिप्रभावित जिल्ला मान्दै आए पनि काँग्रेसले १९ जिल्लाका जिल्ला सभापति र सांसदसँग सम्बन्धित जिल्लाका भूकम्पपीडितको अवस्थाबारे जानकारी लिन छलफल आयोजना गरिएको थियो ।  
छलफलमा सहभागी जिल्ला सभापतिले भूकम्पपीडितको यथार्थ तथ्याङ्क सरकारले अझै लिन नसकेको, भूकम्प गएको दोस्रो वर्षको वर्षाद् लागि सक्दा पनि पीडितले पालमुनि नै कष्टकर जीवन बिताउनुपरेको, सरकारको काम गराइ अत्यन्तै सुस्त भएको भन्दै सरकारलाई यस विषयमा गम्भीर बनाउनुपर्नेमा जोड दिएको बैठकमा सहभागी नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बताउनुभयो ।  यसैबीच, नेपाली काँग्रेस संसदीय दलको विधान
(संशोधन तथा परिमार्जनसहित, २०७२) को धारा १२ को उपधारा (८) बमोजिम सदस्य–सचिवमा धु्रव वाग्ले र कोषाध्यक्षमा माननीय मिनाक्षी झालाई चयन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना