सुरक्षाका लागि बन्द सीमा

GOPAL SHOWAKOTIप्रा.डा.गोपाल शिवाकोटी


सरकारले आर्थिक वर्ष २०७३–७४ को बजेटमा राष्ट्रिय सुरक्षा सम्बन्धी कानुन तर्जुमा गरिने उल्लेख गरिएको छ ।  यो सुरक्षा सम्बन्धी कानुन सरकारले भर्खरै ल्याएको राष्ट्रिय सुरक्षा नीतिबमोजिम बनाउन लागेको हो ।  यसका लागि सरकारले राष्ट्रिय सुरक्षाको विधेयक तयार गरी संसद्मा प्रस्तुत गर्ने अन्तिम चरणमा पु¥याएको बुझिन्छ ।
राष्ट्रिय सुरक्षा कानुन तर्जुमा गर्ने व्यवस्था गरेर राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिएको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र असुरक्षित बन्दै गएकोले सुरक्षाकर्मीमाथि नै प्रश्नचिन्ह लागेको छ ।  हालै उद्योगपति सुरेश केडियालाई भारतको जेलमा रहेका बब्लु दुबेको निर्देशनमा अपराधीहरूले अपहरण गर्री सजिलै नेपाल भारतको सीमा कटाई भारतमा पु¥याएको घटनामा नेपालका सुरक्षाकर्मीले अपहरणकारीलाई रोक्ने प्रयास गर्दा पनि रोक्न नसकेको बताइयो ।  यस्ता घटनाले नेपाल भारत खुल्ला सीमाना कति असुरक्षित छन् भन्ने प्रष्ट पारेकै छन् ।  खुल्ला सीमाकै फाइदा उठाउँदै भारतबाट अपराधीहरू आई नेपालमा अपराध गरी भारतमा सजिलै फर्किने तथा तराई क्षेत्रलाई नै नेपालबाट विखण्डन गराउने तìवहरू पनि सक्रिय भएकोले नेपाल– भारत सीमाक्षेत्र अत्यन्त संवेदनशील र असुरक्षित भएको छ ।  
वर्तमान अवस्थामा नेपाल भारत सीमा क्षेत्र र तराईमा विभिन्न खालका राजनीतिक र अपराधिक घटनाहरू बढिरहेकोले नेपालको राष्ट्रिय सुरक्षामाथि नै खतरा उत्पन्न भएको छ ।  यो खुल्ला सीमाका कारण राष्ट्रलाई बिखण्डन गर्ने तìवहरू सक्रिय हुन पाएकोले देशको सुरक्षामाथि खतरा भएको छ भने अपराधीहरूले अपहरण, लुटपाट, हत्यालगायतका अपराध गरेर खुल्ला सीमालाई उपयोग गरी भारतमा लुक्ने कार्यले गर्दा मानव सुरक्षामाथि खतरा उत्पन्न भएको छ ।  यस्तै चुरेमा भएको सम्पदालाई अनियन्त्रित रूपमा दोहन गरी भारत पु¥याउने कामले गर्दा तराई क्षेत्र मरुभूमीकरण हुने खतरा उत्पन्न भएकोले पर्यावरण सुरक्षामाथि खतरा भएको छ ।  खुल्ला सीमानाको कारणले भारतबाट सस्तोमा आएका तस्करीका सामानले नेपालका उद्योगधन्दाहरू चौपट भएका छन् ।  खुल्ला सीमानाले गर्दा ८० प्रतिशत व्यापार भारतीयहरूले गर्ने गरेका छन् र उनीहरूकै नियन्त्रणमा व्यापार र बजार छ ।  नेपालको राष्ट्रिय अर्थतन्त्रमा नै समानान्तर अर्थ व्यवस्थाको स्थिति उत्पन्न भएको छ ।  जबसम्म यसलाई रोकिंदैन, नेपालले कहिले पनि स्वाधिन अर्थतन्त्रको विकास गर्न सक्दैन ।  
नेपाल अब भारततिर मात्र खुलेको छैन ।  हालै भएको चीनसँगको पारवहन र व्यापार सम्झौताले अब नेपाल भारतबेष्ठित नभएर दुबैतर्फ खुल्ला भएको छ ।  नेपाल एक किसिमले भारत र चीनबीचको पारवहनमार्गको रूपमा फेरिएको छ ।  यी दुबै अलग किसिमको सामाजिक व्यवस्था र आपसी प्रतिष्पर्धा भएका मुलुकले गर्दा अब एकतर्फको मुलुुकको सीमा खुल्ला राखेमा यसले ती दुई छिमेकीको सुरक्षामा समेत गम्भीर प्रभाव पार्न सक्ने हुन्छ ।  नेपालमा चिनियाँ रेलमार्ग केही समयभित्रै जोडिनेछ भने नेपालबाट चीनमात्र होइन, समुद्र पहुँच भई त्यहाँबाट आवश्यक वस्तु र मित्र मात्र नभएर अन्य कुराहरू पनि भित्रिन सक्नेछन् ।  यदि भारततर्फको सीमाना नियन्त्रण नगरी खुल्ला राखेमा नयाँ सुरक्षा चुनौतिहरू भोग्नु पर्नेछ ।  अहिले चीन र नेपालको बीच पारवहन मार्गका सम्झौता भएर दुबैतर्फ पारवहन मार्ग प्रयोग हुनेछन् ।  चीनले पारवहन सन्धि पाकिस्तानसँग पनि गरेको छ ।  चीन र पाकिस्तान क्यारोकोरम मार्गबाट जोडिएको छ ।  भारतमा समेत सीमामा कुनै किसिमको नियमन नहुने हुँदा चीन र पाकिस्तानको राष्ट्रिय सुरक्षामाथि खतरा हुन सक्नेछ ।  
भारतमा विस्तार भैरहेको जनसंख्याले यसै खुल्ला सीमालाई प्रयोग गरेर नेपालको नागरिकताको समस्यालाई अरु बढाउन सक्नेछन् ।  अर्कातिर भारतमा काम गर्ने नेपालीहरूको रङ्ग रूप भारतको पूर्वाेत्तरको मिजो, नागा, मणिपुरी तथा अरुणाञ्चल प्रदेशका भारतीयहरूसँग मिल्दोजुल्दो छ ।  त्यहाँका नेपाली र यताबाट गएका नेपालीहरूको अनुहार, भाषा संस्कृति छुट्टिदैन ।  यसैले भारतका नेपालीहरूलाई नेपालबाट काम गर्न जानेहरूको कारणले नेपालीमूलका भारतीयहरूलाई विदेशीमूलको रूपमा हेरिने गरिएको गुनासो छ ।  हेयको दृष्टिले हेरिन्छ ।  यो विषयमा भारतीय मिडिया पनि पूर्वाग्रही छ ।  यसले भारतका नेपाली र नेपालबाट गएका नेपालीहरूबीचको सम्बन्धमा असर परेको छ ।  नेपालबाट भारतमा काम गर्न गएकाहरूमाथि बारम्बार दुव्र्यवहार हुने गरेका छन् ।  यसको विपरीत नेपालमा रहेको भारतीयहरू नेपालमा व्यापार व्यवसाय गरेर बसेका छन् र नेपालीभन्दा उच्च जीवन बिताइरहेका छन् ।  
यस्तै चिनियाँहरूलाई पनि मंगोलियन अनुहार भएकोले खुल्ला सीमाबाट भारत प्रवेश गर्नलाई कुनै अप्ठ्यारो पर्दैन ।  
काश्मिरका पृथकतावादी भनिएका तथा छत्तीसगढमा विद्रोह गरिरहेका माओवादी दुबैलाई भारतले पृथकतावादी मान्दछ ।  नेपालको तराईमा पनि नेपाललाई विखण्डन गर्न चाहनेहरू खुलेआम आवातजावत गरिरहेका छन् ।  सीमावर्ती शहरहरूमा बसेर यस्ता तत्वहरूले नेपालमा खुल्ला रूपमा सशस्त्र गतिविधि सञ्चालन गरिरहेका छन् ।  यस्ता १०९ वटा सशस्त्र विद्रोही रहेको तथ्यांक समेत सार्वजनिक भएको थियो ।  अहिले यस्ता समूह केही घटे पनि नेपाललाई विघटन गर्न चाहने दर्जनौं समूह सीमामा अखडा जमाएर सशस्त्र गतिविधि सञ्चालन गरिरहेका छन् ।
सङ्घीय गणतान्त्रिक युगमा प्रवेश गरेको नेपालले चीनसँग व्यापार, विविधिकरण तथा पारवहन सन्धि गरी अन्तर्राष्ट्रिय सम्बन्धमा समेत नयाँ युगमा प्रवेश गरेको छ ।  हिजोको नेपाल र भारतबीच विशेष सम्बन्ध भनी खुल्ला राखिएको सीमा अब समस्याको रूपमा खडा भएको छ ।  त्यसैले गर्दा पनि नेपालको राष्ट्रिय सुरक्षा नीति र यसलाई कार्यान्वयन गर्ने कानुन बन्नैपर्छ र नेपाललाई दक्षिणतर्फ पनि नियमन र व्यवस्थापन गर्नका लागि खुल्ला सिमानालाई बन्द गरिनुपर्दछ ।  
भारतले पनि खुल्ला सिमानाले गर्दा सुरक्षा खतरा भएको बारम्बार भन्ने गरेको छ ।  यसैलाई रोक्न उसले नेपाल भारत सीमामा ५४ हजार संख्यामा सीमा सुरक्षा बल राखेको छ ।  नक्कली भारु नोटको कारोबार, नेपालमा सञ्चालित मदरसा, पृथकतावादी गतिविधिमा लागेका कस्मिरी जिहादीहरू, पाकिस्तानी खुफिया एजेन्ट आईएसआईले नेपाललाई आधार बनाएर गतिविधि गर्दै आएको आरोप भारततर्फबाट लाग्ने गरेको छ ।  यसैले गर्दा काठमाडौँको त्रिभुवन विमानस्थललाई असुरक्षित रहेको भनी एयर मार्सल राख्न प्रस्ताव गरेको र सुपुर्दगी सन्धिको प्रस्ताव नेपाललाई पठाएर भारत विरोधी गतिविधि गर्ने अपराधीहरूलाई सुपुर्द गर्न माग गरेको छ ।  चीनले पनि यस्तै प्रस्ताव गरेको छ ।  
भारतले देखाएको सुरक्षा खतरा नियन्त्रण गर्न पनि सीमा बन्द गरेर मात्र सम्भव हुन्छ ।  सीमा खुल्ला हुँदा सुरक्षाको खतरा रहेको महसुस गरे पनि सीमा बन्द गरेर दुई देशबीच भिसा तथा राहदानीको प्रयोग गर्ने कुरामा भारतको मौनताले भने विभिन्न आशंका पैदा गरिदिएको छ ।  यो राष्ट्रिय सुरक्षामाथि खतरा बन्दा भारत शक्तिशाली राष्ट्र भएकोले टार्न सक्ला तर नेपालजस्तो कमजोर राष्ट्रको लागि गाह्रो छ ।  यो खुल्ला सिमाना सन् १९५० सन्धिको कारणले भएको हुँदा त्यो सन्धि नै खारेज गर्न नेपाली र भारतमा बस्ने भारतीय मूलका नेपालीहरूको माग छ ।  सुवास घिसिङको नेतृत्वमा भएको गोर्खाल्यान्ड आन्दोलनको प्रमुख माग नेपाल र भारतबीचको खुल्ला सिमाना बन्द गर्ने रहेको थियो ।
यसैले नेपाल र भारतबीचको खुल्ला सीमाना दुवैको राष्ट्रिय सुरक्षाको विरुद्धमा छ ।  नेपालको भारततर्फ मात्र नभएर चीनसँग पनि पारवहन र व्यापार विविधीकरण भएको परिस्थितिमा अब नेपाल भारतको काखको राज्यका रूपमा रहेको ‘विशेष सम्बन्धको राज्य’को अवस्थामा छैन ।  यसैले तत्काल नेपाल र भारत सीमाना बन्द गरिनुपर्दछ ।  यसो भएमा नेपालको राष्ट्रिय सुरक्षाका सबै विषय– राज्य सुरक्षा, राष्ट्रिय सुरक्षा, मानव सुरक्षा, पर्यावरणीय सुरक्षा, स्रोत र साधनको सुरक्षा, आर्थिक र सामाजिक, धार्मिक लगायतका भयबाट सुरक्षा हुन सक्नेछ ।  यसका लागि केही अर्ब रकम लाग्न सक्छ तर यसले नेपालको स्वतन्त्र पहिचान र अस्तित्वको सुरक्षा गर्ने हुँदा यो त्यति महँगो पर्नेछैन ।  औलो उन्मूलन हुनु अगाडिसम्म दक्षिणतर्फ चारकोसे झाडी र औलोले नेपालको सीमा सुरक्षा गरेको थियो ।  अहिले चारकोसे झाडी नाश भएपछि सीमा सुरक्षा नष्ट भएकोले यसलाई काँडेतार लगाएर बन्द गरी नेपाल र भारतबीच पासपोर्ट र भिसाबाट प्रवेश गर्ने गरी सीमा व्यवस्थापन र नियन्त्रण गरिनुपर्दछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना