कक्षा ११ मा भर्ना हुन ‘डी प्लस’

प्रकृति अधिकारी

 

काठमाडौँ, जेठ ३१ गते ।  एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् ।  सो स्तरीकृत अङ्क ‘डी प्लस’ समान हुन्छ ।  सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेले भर्ना नपाउने नीतिबाट अघोषित रूपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषण शिक्षाविद्हरूको छ ।  
अक्षराङ्कन पद्धति लागू भएपछि उच्च माध्यमिक तहको भर्ना सम्बन्धमा सुझाव दिन गठित समितिले आइतबार उच्च माध्यमिक शिक्षा परिषद्समक्ष यस्तो सिफारिस गरेको छ ।  परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित पाँच सदस्यीय सुझाव समितिले दिएको सिफारिसका आधारमा सोमबार शिक्षा मन्त्रालयले कार्यान्वयनको निर्णय गर्ने भएको छ ।  परिषद्का उपाध्यक्ष चैतन्य शर्माले समितिले दिएको सुझाव अनुरूप नै भर्ना नीति अवलम्बन गरिने जानकारी दिनुभयो ।  प्राप्त जानकारी अनुसार यसलाई मन्त्रीस्तरीय निर्णय गर्नुपर्ने हुन्छ । Letter-Grading-Sample-Marksheet-Copy
उपाध्यक्ष शर्माले सो सुझाव समितिले विज्ञान र प्राविधिक विषय बाहेकमा कक्षा ११ मा भर्ना हुन एसएलसी परीक्षामा प्रत्येक विषयमा कम्तीमा ‘डी प्लस’ ल्याउनैपर्ने सिफारिस गरेको जानकारी दिनुभयो ।  “विज्ञान र प्राविधिकबाहेकका विषयमा भर्ना हुन प्रयोगात्मक र सैद्धान्तिक दुवैमा अलगअलग ‘डी प्लस’ ल्याउनुपर्ने सिफारिस प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।  अक्षराङ्कन पद्धतिमा ३० देखि ४० प्रतिशतलाई ‘डी प्लस’को ग्रेड निर्धारण गर्दै ‘आंशिक स्वीकारयोग्य’का रूपमा व्याख्या गरिएको छ ।
त्यस्तै, कक्षा ११ मा विज्ञान विषय लिई अध्ययन गर्न चाहनेले एसएलसी परीक्षामा विज्ञान, गणित र अङ्ग्रेजीमा प्रयोगात्मक तथा सैद्धान्तिकमा अलग ‘सी प्लस’ प्राप्त गरेको हुनुपर्दछ ।  ५० देखि ६० प्रतिशत ल्याउनेलाई ‘सी प्लस’ ग्रेड प्रदान गरिन्छ भने त्यसलाई सन्तोषजनक भनि व्याख्या गरिएको छ ।  सो ग्रेडलाई २.४ ग्रेड प्वाइन्ट प्रदान गरिएको छ ।  यसैगरी, परिषद्का उपाध्यक्ष शर्माले प्राविधिक विषय लिई कक्षा ११ मा भर्ना हुन चाहनेले एसएलसी परीक्षामा सबै विषयमा ‘सी प्लस’ ल्याएको हुनुपर्ने सिफारिस भएको जानकारी दिनुभयो ।
“डी प्लसभन्दा कम ग्रेड ल्याउने विद्यार्थी तुलनात्मक रूपमा कमजोर हो”, उहाँले भन्नुभयो, “तर डी प्लस र ई ल्याएका विद्यार्थीले पूरक परीक्षा दिई ‘डी प्लस’मा उक्लिएमा भर्ना पाउनेछन् । ” २० प्रतिशतभन्दा कम ल्याउनेले ‘ई’ र ३० प्रतिशतभन्दा कम ल्याउनेले ‘डी’ प्राप्त गर्नेछन् ।  
यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तहमा स्वास्थ्य विषय अध्ययन गर्न गणित, विज्ञान, अङ्ग्रेजी र समग्रमा ‘सी’ तथा अन्य विषय अध्ययन गर्न गणित, विज्ञान तथा अङ्ग्रेजीमा ‘सी’ एवं समग्रमा जुनसुकै ग्रेड ल्याए पुग्ने निर्णय गरिसकेको छ ।
सीटीईभीटीका उपाध्यक्ष डा. रामहरि लामिछानेले गुणस्तर नखस्कियोस् भनेर सबै ग्रेड ल्याउनेलाई डिप्लोमामा भर्नाका लागि खुला नगरिएको स्पष्ट गर्दै भन्नुभयो, “डिप्लोमा अध्ययन गर्न सक्दैनन् भने कमजोर विद्यार्थीका लागि खुला गर्नु औचित्य हुँदैन । ”
प्रवेश परीक्षा अनिवार्य
अबदेखि कक्षा ११ मा भर्ना हुन सबै विद्यार्थीले अनिवार्य रूपमा प्रवेश परीक्षा दिनुपर्ने हुन्छ ।  परिषद्ले यसैपटकबाट यस्तो व्यवस्था लागू गर्ने भएको छ ।  परिषद्का उपाध्यक्ष चैतन्य शर्माले ३० प्रतिशत लिखित प्रवेश परीक्षाको भार र बाँकी ७० प्रतिशत ग्रेड सिटको प्राप्ताङ्कलाई जोडेर प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिने तथा सोही आधारमा विद्यार्थीले भर्ना पाउने जानकारी दिनुभयो ।  गत वर्षको एसएलसी परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थीले परीक्षा दिएका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना