• ६ चैत २०८०, मङ्गलबार

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

blog

 हेमन्त केसी

जाजरकोट, असोज ९ गते । डोल्पोबुद्ध गाउँपालिकाका –१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउनुहुन्छ । उहाँ बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारी गराउनुहुन्छ ।

 वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ । दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवा पुगेको छ । पत्रकार तथा अन्य उपल्लो डोल्पा आउन चाहने व्यक्तिले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रका विषयमा जानकारी फोन, इन्टरनेटमार्फत लिने गर्दछन् । धो आफैँमा सुन्दर फाँट हाे । 

उपल्लो डोल्पाको चर्चित ठाउँसमेत हो । अहिले धो मा पहेलपुर हुँदै उवा बाली पोकेको छ । कृषक वर्षमा एकपटक मात्र उत्पादन हुने उवा बाली भित्र्याउनका लागि उपयुक्त समयको खोजीमा छन् । उवा उपल्लो डोल्पाको मुख्यबालीरुपमा लिइन्छ । हिउँद याममा हिउँले ढपक्कै ढाक्ने उपल्लोे डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती, किसानीको काम गरिन्छ । 

वैशाखमा लगाएको उवा बाली असोज महिनामा उपयुक्त साइत हेरेर भित्र्याउने गरिन्छ । उपल्लो डोल्पाका स्थानीयवासी अबको हप्ता दिनमा उपयुक्त समय हेरेर उवा भित्र्याउने योजनामा रहेको दोर्जेले बताउनुभयो । धो, छार्कामोट, सिमेन, फोक्सुण्डो, कु गाउँलगायतका २३ वटा गाउँमा उवाको खेती गरिन्छ । वर्षायामको झरीसँगै उपल्लो डोल्पाको फोक्सुण्डो ताल, पौराणिक गुम्बा, हिमालयको मनमोहक दृश्य हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट उपल्लो डोल्पाका सर्वसाधारण जाने गर्दछन् ।

उपल्लो डोल्पालाई चिनाउनका लागि बर्सेनि विभिन्न नाम दिएर मेला तथा महोत्सवसमेत हुँदै आएका छन् । मध्य तथा उपल्लो डोल्पाको भाग समेटेर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्र डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । 

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत दुई सय प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ ।

काञ्जिरोवा दक्षिण हिमाल (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले उपल्लो डोल्पालाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ । उपल्लो डोल्पाको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ ।

 एघारौँ शताब्दीमा निर्मित शे गुम्बा यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । 

जैविक विविधताको धनी उपल्लो डोल्पामा राज्यले हिमाली सहरको नीति ल्याएर काम सुरु गरेको छ । पशुपालनका लागि जोड दिँदै सरकारले अनुदानको व्यवस्थालाई व्यापक बढाएको छ । वर्षको आधा समय हिउँले ढाक्ने यहाँ आधा समय मात्र खेतीबाली गरिँदै आएको छ । चिसो मौसममा हिमपात हुने भएकाले खेतीबाली १२ महिना नहुने गरेको शे–फोक्सुण्डोकी प्रेमा गुरुङले बताउनुभयो ।

उवा बाली भित्र्याएपछि उपल्लो डोल्पाका सर्वसाधारण चिसो छल्न बेंसी झर्ने गर्दछन् । केही सर्वसाधारण उपल्लो डोल्पामा आयातित र आफैँले उत्पादन गरेको उवाबाट बनेका परिकार खाएर जीवन चलाउने गरेको गुरुङले बताउनुभयो । उपल्लो डोल्पाको मौसम कुन समय के हुन्छ भन्ने थाहा नहुने गर्दछ । पानीभन्दा पनि हिउँ मात्र पर्ने भएकाले मौसमबारे धारणा बनाउन मुस्किल हुने गर्दछ । 

उपल्लो डोल्पामा छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो गाउँपालिका पर्दछन् । भूगोलको हिसाबले ठूलो रहेको डोल्पा चीनको सिमानासँग जोडिएको क्षेत्र हो । मुस्ताङबाट उपल्लो डोल्पामा सडक जोड्ने प्रयास जारी छ । 

गण्डकी प्रदेशको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला सडक सञ्जालमा जोड्का लागि काम निरन्तर जारी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडक निर्माण जारी राखेको हो । 

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्याक खुलेसँगै साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण कार्य जारी छ । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । यो  कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ । समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुने गरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ । 

मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने पूवमन्त्री सत्य पहाडीको बुझाइ छ । अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुने अपेक्षा गरिएको छ । कृषिउपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्नेसमेत विश्वास छ ।  

भेरी करिडोरअन्तर्गत अर्को नेपाल र भारतको सिमाना जमुनाह सुर्खेत, जाजरकोट हुँदै डोल्पा र तिब्बत जोड्ने त्रिदेशी सडकको निर्माण कार्य जारी छ । यही सडकको जाजरकोटदेखि डोल्पासम्मको सडकमा स्तरोन्नति कालोपत्रको काम निरन्तर जारी रहेको छ । यो पर्यटकीय रुटका रुपमा स्थापित हुँदै आएको छ । यो सडक निर्माणसँगै मध्य डोल्पामा निर्माणकार्य जारी रहेका दुई ठूला जलविद्युत् आयोजनालाई समेत सहयोग पुग्नेछ । 

यातायात जोडिएसँगै डोल्पामा उत्पादन हुने जडीबुटी निर्यातमा सहयोग पुग्नेछ । डोल्पामा पाइने उच्च कोटीको स्याउलेसमेत बजार पाउनेछ । आर्थिकरुपमा सक्षम बनाउनका लागि यहाँको स्याउ आम्दानीको स्रोत हो । यार्सागुम्वासहित अन्य मूल्यवान जडीबुटी डोल्पाका आम्दानीका आधार हुन् । डोल्पाको पूर्वमा मुस्ताङ, चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु पर्दछन् । उत्तरमा चीनको तिब्बत, दक्षिणमा जाजरकोट र रुकुम पश्चिम पर्दछन् । डोल्पामा स्थलमार्ग हुँदै घुम्न जानेको सङ्ख्या दुई हजारभन्दा बढी रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले बताएको छ ।