• ६ चैत २०८०, मङ्गलबार

चाडपर्व लक्षित मूल्यसूची

blog

भरतपुर,असोज ९ गते । चितवनमा किराना व्यवसायी सङ्घले खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेको छ । सङ्घले बैठकको निर्णय अनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्यसूची शनिबार सार्वजनिक गरेको हो ।

चाडपर्वलाई लक्षित गरेर विशेष छुट दिएर किराना सामानको मूल्यसूची निर्धारण गरिएको किराना व्यवसायी सङ्घ–चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिनुभयो । अधिकतम खुद्रा मूल्य अङ्कित सामान सोही मूल्यमा बिक्री गर्न सङ्घले किराना व्यवसायीलाई आग्रह गरेको छ । 

मौरीपालक महासङ्घको अध्यक्षमा घिमिरे

नेपाल मौरीपालक महासङ्घको अध्यक्षमा चितवनका सुभाषचन्द्र घिमिरे चयन हुनुभएको छ । मौरी पालकको शनिबार भरतपुरमा सम्पन्न २२औँ राष्ट्रिय भेलाले उहाँलाई अध्यक्षमा चयन गर्दै २४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । 

समितिको वरिष्ठ उपाध्यक्षमा पदमप्रसाद अमगाईं, उपाध्यक्षद्वय प्रह्लाद अर्याल र पदमबहादुर अर्याल, महिला उपाध्यक्षमा उमाकुमारी खत्री चयन हुनुभएको छ । महासचिवमा सालिक रामबानिया, सचिवमा इमनाथ पोखरेल, कोषाध्यक्षमा जनकबाबु तिवारी, सहकोषाध्यक्षमा नन्दराम अर्याल निर्वाचित हुनुभएको छ । 

यस्तै महासङ्घको लेखा समितिको संयोजकमा रविकुमारी कडरिया निर्वाचित हुनुभएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालको उपस्थितिमा पदाधिकारीले शपथ तथा पदभार ग्रहण गरेका थिए । कार्यक्रममा मन्त्री खनालले महमा अनुदान दिने नीति सरकारको रहेको बताउनुभयो । उहाँले धेरैभन्दा धेरै अनुदान भित्र्याउन उत्पादनतर्फ लाग्न मौरीपालक किसानलाई आग्रह गर्नुभयो । 

राष्ट्रिय किसान महासङ्घकी महासचिव रीता बस्ताकोटीले सरकारले किसानलाई प्रोत्साहन गर्न नसकेकोप्रति गुनासो व्यक्त गर्नुभयो । उहाँले राज्यको स्पष्ट नीति नहुँदा २०औँ वर्ष लाग्दा पनि मौरीपालक किसानले विदेशी कम्पनीसँग प्रतिस्पर्धी गर्न नसकेको बताउनुभयो । बस्ताकोटीले ठूला व्यवसायीलाई मात्र हेरेर नीति, नियम, कानुन र कार्यक्रम नल्याउन आग्रह गर्नुभयो ।

देशमै दुःख गर्छु भन्ने सोचमा रहेका किसानको चाहनालाई सही मूल्याङ्कन गर्नुपर्ने उहाँको माग छ । कार्यक्रममा उपस्थित पदाधिकारी तथा मौरीपालक किसानले काम गर्ने भन्दा कागजी प्रक्रिया मिलाएर पेस गर्नेले अनुदान पाएकोप्रति गुनासो गरेका थिए । नेपालमा तीन हजारदेखि चार हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ । यहाँको माग पूरा गर्न छ हजारदेखि सात हजार मेट्रिक टन मह आवश्यक रहेको महासङ्घले जनाएको छ ।