• ६ चैत २०८०, मङ्गलबार

पहिरोका कारण तरकारी बजार पुर्‍याउन समस्या

blog

म्याग्दी, असोज ९  गते । बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि  कृषक मर्कामा परेका हुन् । डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा  अपेक्षाकृत लाभ लिन नसकेको गुनासो गर्नुभयो । 

“सडक बनेपछि सजिलो होला भनेर व्यवसायिकरुपले तरकारी खेती थालेका थियौ,” उहाँले भन्नुभयो “चिप्लेटी र डडुवाको बीचमा पर्ने हेकुले भन्ने ठाउँमा सडक भासिँदा यातायातको समस्या भयो ।” बर्खायाममा लामो समय यातायात बन्द हुँदा गोलभेँडा, साग, सिमी, खुर्सानीलगायत तरकारी बेनीको बजारमा पठाउन समस्या परेको हो । 

डडुवादेखी चिप्लेटीसम्म डोकोमा बोकेर लैजाने र मङ्गला गाउँपालिकाको तल्लो डडुवा हुँदै बेनी पठाउँदा ढुवानी खर्च महँगो पर्ने र बजारमा प्रतिस्पर्धा गर्न नसकिने अवस्था  छ । करिब १०० घरपरिवारको बसोबास रहेको डडुवाका २० कृषकले व्यावसायिक तरकारीरुपले खेती गरेका छन् । दैनिक २० क्रेट टमाटर उत्पादन हुन्छ ।  

खुल्ला जमिनमा पनि बन्दा, काउली, साग, गोलभेँडा, सिमी, भन्टा, काँक्रो, क्याप्सीकम, खुर्सानी, ब्रोकाउली र अदुवा लगाइएका छन् । भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारीलगायत व्यक्तिले गाउँमै व्यावसायिक तरकारी खेती र पशुपालन गर्नुभएको हो ।  उजाड र उराठलाग्दो डडुवा अहिले हराभरा भएको छ । हाइटेक प्रविधिको टनेलका साथै खुल्ला जमिनभित्र तरकारी खेती गरिएका छन् । बिरुवाको जरा जरामा पानी र प्रोटिन आपूर्ति हुने गरी थोपा सिचाई प्रविधि जडान गरिएका छन् । झार र रोगकिराको समस्या न्यूनीकरण गर्न मल्चिङ प्रविधि अपनाइएका छन् । 

डडुवाको तरकारी विक्रीका लागि  मुख्य बजार बेनी हो । निरन्तर पहिरो जाने गरेकाले हेकुलेमा यातायातका साधन सञ्चालन गर्न समस्या भएको बेनपा–५ का वडाध्यक्ष गोविन्द बानियाले बताउनुभयो । यसपालि पनि बर्खा सुरु भएपछि सो ठाउँमा दुई पटक सडक मर्मत गरिएको र पुनः मर्मतका लागि डोजर पठाउने उहाँले बताउनुभयो । 

कृषकहरूको जागरूकताका कारण डडुवा गाउँ व्यावसायिक कृषिमा अग्रसर भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । उहाँका अनुसार डुडुवाका कृषकहरूलाई प्लास्टिकको टनेल, अदुवा, साना सिचाई, प्राङगारिक खेती, रैथाने बालीका कार्यक्रममार्फत सहयोग गरिएको छ । गत वर्षमात्र डडुवाका १० भन्दा बढी कृषकले उक्त केन्द्रको विभिन्न कार्यक्रमबाट अनुदान सुविधा लिएका थिए  ।