• ६ चैत २०८०, मङ्गलबार

सुर्खेत–जुम्ला सडक : ठेक्का ओगट्ने काम नगर्ने

blog

कालीकोट समाचारदाता

कालीकोट, असोज ९ गते । सुर्खेत–जुम्ला सडकको कालीकोट खण्डको मर्मतका लागि दसवटा ठेक्का लगाइएको छ। आर्थिक वर्ष २०७५÷७६ देखि गत वैशाखमा सम्झौता भएका ती दस ठेक्का कालीकोट खण्डमै चालू अवस्थामा भए पनि काम भने कसैले पनि अगाडि बढाएका छैनन्। 

केही निर्माण व्यवसायीले काम सके पनि भुक्तानी पाएका छैनन्। केहीले कामसमेत सुरु नगरेर कर्णाली लोकमार्गको कालीकोट खण्ड अस्तव्यस्त बनेको छ। श्रेया–बिसका जेभी काठमाडौँले २०७८ साल मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो। अति जोखिम सडकमा ग्याबिन लगाउने र पिच गर्ने भनेर चार करोड ८० लाखमा ठेक्का सम्झौता भएको थियो। त्यसको समय पनि सकियो। फेरि म्याद थप गरेर बसेको छ। 

बर्सातको कारण देखाउँदै काम समयमा सम्पन्न नभएको निर्माण कम्पनीका प्रतिनिधि सरोज बोगटीले बताउनुभयो। रोनी निर्माण सेवाले कालेखोला आसपासमा ग्याबिन लगाउने भनेर ठेक्का सम्झौता गरेको पनि समय सकिएको छ। गत साउनमा पुनः म्याद थप गरिएको छ। 

रोनी निर्माण सेवाका सञ्चालक जीवन शाहीले आफूले ९५ प्रतिशत काम सकेको तर ३० प्रतिशत पनि भुक्तानी नपाएको बताउनुभयो। ‘९५ प्रतिसत काम सकेपछि गर्दिन पनि भन्न पाउँथे तर पूरै काम सक्ने उद्देश्य रहेको छ’ उहाँको भनाइ छ। कालीकोट खण्डकै गाल्जे क्षेत्रमा ग्याबिन लगाउन ६१ लाखमा सागर निर्माण सेवाले गत वैशाखमा सम्झौता गरेको थियो। सम्झौताअनुसार असार २० गते काम सक्नुपर्ने उल्लेख छ। तर, अहिलेसम्म काम सुरु नै भएको छैन। सडक डिभिजन जुम्लालाई बर्सातको कारणले काम गर्न नसकिएको कारण देखाउँदै सम्झौताको समय थपिएको छ तर पनि अझै काम सुरु भएको छैन। 

तारा निर्माण सेवा जुम्लाले पनि सडक कालोपत्रेको ठेक्का सम्झौता गरेको दुई पटक समय सकिएको छ। निर्माण व्यवसायी तारामान कठायतले बर्सात र लोकमार्गलाई जिरो मानेर स्थानीय सरकारले लिएका शाखा सडकका कारणले आफ्नो काममा बाधा पुगेको बताउनुभयो। उहाँले एक पटक कालोपत्रेका लागि तयारी गरेको तर शाखा सडकबाट बग्ने माटोले पूरै भरिने हँुदा बर्सातको समयमा काम नगर्ने भनेर छोडेको जनाउनुभयो। अब पानी पर्न रोकिने बित्तिकै काम सञ्चालन गर्ने उहाँको भनाइ छ। 

कर्णाली लोकमार्गको कालीकोट खण्डमा जतिले ठेक्का लिएका छन् ती निर्माण व्यवसायीले अहिलेसम्म समयमै काम सकेका छैनन्। 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर राजीव श्रेष्ठले घटी घटाउमा ठेक्का लिने, सम्झौता गर्ने अनि चुप लागेर बस्ने धेरै निर्माण व्यवसायी भएको र उनीहरूलाई पटक–पटक पत्राचार गरेर काममा लगाउनु परिरहेको बताउनुभयो। उहाँले आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का सम्झौता भएकाले समेत काम सम्पन्न नगरेको जानकारी दिनुभयो। कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले आफूले सडक डिभिजन कार्यालय जुम्लालाई पत्राचार गरेर निर्माण व्यवसायीसहितको टोलीलाई बोलाएर छलफल गर्दा केहीले बर्सातको कारण देखाएर ढिलो भएको र कसैले दशैँअगाडि र कसैले तिहारसम्म काम सक्ने प्रतिबद्धता गरेको जानकारी दिनुभयो। ठेकेदारले समयमा काम नगर्दा कालीकोट खण्डको कालोखोला, गगनेखोला, सुनारखोला, टाकुल्लालगायतका दर्जनभन्दा बढी ठाउँमा नागरिकले सास्ती पाउने गरेका छन् ।