• ६ चैत २०८०, मङ्गलबार

चुरे भेगका अधिकांश सडक अवरुद्ध

blog

जनार्जन खत्री

सर्लाही, असोज ९ गते । सर्लाहीको उत्तरी चुरे क्षेत्रका बस्तीमा जाने खोलाको बाटो लामो समयदेखि अवरुद्ध भएका छन्। बाढी आएर खोलाको बाटो बिग्रँदा चुरेवासीलाई बजारबाट खाद्यान्न लैजान समस्या भएको हो।

खोलाको बगर हुँदै चुरे बस्तीमा जाने सवारीसाधन बन्द भएका छन्। जिल्लाकै अति दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायण खोला र वडा नम्बर १२ भालुखोप गाउँका स्थानीयले वर्षौंदेखि वर्षायाममा सास्ती खेप्दै आएका छन् । वर्षायाममा नदीमा निरन्तरजसो आउने बाढीले यहाँका नागरिक जोखिम मोलेर ट्याक्टरमार्फत खाद्यान्न ढुवानी गर्न बाध्य हुने गर्छन्। लालबन्दी बजारबाट खाद्यान्न बोकेर जाने ट्याक्टर लखन्देही र बाहुनी खोलामा पटक–पटक फस्ने र दुर्घटनामा पर्ने गरेको वडा नम्बर–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले बताउनुभयो।

गाउँमा उत्पादन हुने अन्नले १२ महिना खान नपुग्ने भएकाले नारायण खोलाका बासिन्दाले चामललगायत अन्य दैनिक उपभोग्य खाद्यान्न किनेरै खान बाध्य छन्। ढु्वानीका साधन ट्याक्टर र बोलेरोमार्फत खाद्यान्न जसोतसो ढुवानी हुने भए पनि बिरामी पर्दा औषधोपचारका लागि अस्पतालसम्म आउन जान घन्टौँ पैदल हिँड्नुपर्ने बाध्यताका कारण पनि कतिपय यहाँका नागरिकले अकालमै ज्यान गुमाउन परेको वडाध्यक्ष घिसिङको भनाइ छ।

वर्षायाम लागेसँगै सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने गुइडुङ, भालुखोप, पीपलदमार, लामीदमार र महोत्तरीको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छोड्के क्षेत्रका बासिन्दालाई पनि खाद्यान्न ढुवानी गर्न उस्तै समस्या छ। गुइडुङ, पीपलदमारलगायत क्षेत्रमा जाने बाँके खोलाको बाटो पनि बाढीका कारण बिग्रिएको ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष देवीबहादुर खत्रीले जानकारी दिनुभयो। अन्य क्षेत्रमा कम पानी परे पनि चुरे क्षेत्रमा दैनिक जसो पानी परिरहेकोले खोलामा बाढी आउने गरेको स्थानीयको भनाइ छ । खाद्यान्न बोकेर जाने ट्याक्टर, बोलेरो र औषधोपचारलगायत अन्य कामका लागि बजार झरेका फर्किने क्रममा बीचमै फस्ने गरेका छन्। वर्षायाम सुरु भएसँगै जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाअन्तर्गत चुरे क्षेत्रका बस्तीमा खोलाको बाटो भएर प्रवेश गर्ने कच्ची तथा गोरेटो बाटो जीर्ण भएका छन्।