सर्वोच्चको अपिल - भ्रामक अभिव्यक्ति नदिनुस्


काठमाडौँ, जेठ २८ गते। सर्वोच्च अदालतले मुद्दा निवेदन पेशी नचढेको विषयलाई लिएर राजनीतिक दलको नेतृत्व तहमा रहनुभएका केही जिम्मेवार व्यक्तिबाट भ्रामक, अवास्तविक तथा स्वतन्त्र न्यायपालिकाको मान्यता प्रतिकूलका अभिव्यक्ति प्रचारप्रसार नगर्न अपिल गरेको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राजनीतिक दलको नेतृत्वमा रहेका केही जिम्मेवार व्यक्तिबाट दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको र न्यायपालिकालाई प्रतिकूल असर पार्ने अभिव्यक्ति प्रचारप्रसार नगर्न सञ्चार माध्यमलाई पनि अपिल गरिएको छ ।

नेपालको संविधानले परिकल्पना गरेअनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका निर्माण गर्न, न्यायिक व्यवस्थापनमा प्रभावकारिता कामय गरी कानुनी राज्यको अवधारणालाई साकार तुल्याउने रचनात्मक तथा सिर्जनात्मक सहयोग गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

“लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्ने अहिलेको महत्वपूर्ण घडीमा स्थापित न्यायिक मूल्य मान्यता प्रतिकूलका अभिव्यक्तिहरु सार्वजनिक हुनु कसैको हितमा हुन सक्दैन” – विज्ञप्तिमा भनिएको छ ।

मुद्दाको सुनुवाइ विवादको तथ्य र प्रकृतिअनुसार प्राथमिकताका आधारमा निर्धारण गरिने कुरा न्यायपालिकाको नितान्त व्यवस्थापन विषय भएको र सेवाग्राहीको अधिकतम सुविधालाई दृष्टिगत गरी न्यायिक व्यवस्थापनलाई सरल, छिटो छरितो र पारदर्शी बनाउनेतर्फ न्यायपालिका निरन्तर क्रियाशील रहेको उल्लेख छ ।

नेपालको संविधानले सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था गरेको भए पनि अहिले नौजना न्यायाधीश मात्र कार्यरत रहेको अवस्था छ । न्यायाधीशको कमीका कारण पनि मुद्दा, निवेदनको छिनोफानो तत्काल हुन सकेको छैन । सर्वोच्चमा अहिले पनि २२ हजार मुद्दा विचाराधीन अवस्थामा रहेका छन ।

विज्ञप्तिमा रिक्त न्यायाधीश पदपूर्तिका लागि न्याय परिषद्बाट तीन महिनाभन्दा अघि सिफारिस गरिएको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन भने यस अवस्थामा विवादको सुनुवाइ आवश्यकता र प्राथमिकताका आधारमा गर्नुबाहेकको विकल्प देखिँदैन भनिएको छ ।

राज्यको प्रमुख तीन अङ्गमध्ये एक अङ्गका रुपमा रहेको न्यायपालिकालाई सवल र सक्षम बनाउने सबैको कर्तव्य भएको र न्यायपालिकालाई कमजोर बनाउने काम कसैले पनि नगर्ने अपिल सर्वोच्चले गरेको छ ।

सर्वोच्चले आजै अर्को एक विज्ञप्ति जारी गरी ‘प्रधानन्यायाधीश र दीक्षित पत्नीबीच हाडनाता’ ‘कनकमणिको मुद्दा फैसला विवादमा तानियो, कनक पत्नी शान्ता र सुशीला नातेदार रहेको खुलासा’लगायतका समाचारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना