• ६ चैत २०८०, मङ्गलबार

एमालेसँग एक्लै भिड्ने कोही शक्ति छैन : नेता रायमाझी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नभएको दाबी गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरूले कांग्रेससँग गठबन्धन गरेर अस्तित्व रक्षा गर्नमा लागेको बताउनुभयो ।

एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले एमालेसँग एक्लै कुनै दल प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो । एमाले बलियो शक्ति भएकै कारण सत्तारुढ दलहरू गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहोर्‍याउनुभयो  । सचिव रायमाझीले सत्तारुढ गठबन्धन देशी विदेशी प्रतिक्रियावादीको इसारामा चलेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेसँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत नभएकाले अस्तित्व रक्षाका लागि कतिपय दलहरूले गठबन्धन आवश्यकता हो भनेर कांग्रेसको पुच्छर बनेका छन् ।’ गठबन्धन गरे पनि ती दलहरूलाई सहज नभएको उहाँको भनाइ छ । 

सचिव रायमाझीले यसअघिको केपी ओली शर्मा नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने चर्चा गर्नुभयो । सत्तारुढ गठबन्धनले चुनाव जितेमा मुलुक २० वर्षपछि पर्ने भन्दै एमालेको पक्षमा मतदान गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।