२६ हजार रुख काटिए तर अझै बनेन हेटौडा - भरतपुर ट्रासमिसन


शालिग्राम नेपाल
चितवन, जेठ २६ गते । नेपाल सरकार र विश्व विकास बैंङकको सहयोगमा निर्माण हुन लागेको हेटौडा भरतपुर दुई सय २० केभी ट्रान्समिसन लाईन आयोजना समयमा सम्पन्न नहुने भएको छ ।
निर्माण सम्पन्न गरिसक्नु पर्ने मिति सकिँदै गर्दा अहिलेसम्म ७० प्रतिशत काममात्र सम्पन्न भएको हेटौडा विद्युत प्राधिकरण हेटौडाले जानकारी दिएको छ । सन् २००९ सालदेखि सुरु भएको दुई सय २० केभी ट्रान्समिसन आयोजनाको काम यही असार मसान्त भित्र सकिसक्नु पर्ने थियो । सव स्टेसन तर्फ र प्रसारण लाईन तर्फ गरि ७८ करोड ७१ लाख रुपियाँ मा दुई विदेशी कम्पनीले सात वर्षभित्र सक्ने भन्दै आयोजनाले जिम्मा लिएका थिए । सवस्टेशन छन्डिङ्ग, इन्टरनेशनल कम्पनी चाईनाले  २४ करोड, ९५ लाख र प्रशारण लाईनतर्फ आएकम दिल्ली कम्पनी लिमिटेड इन्डियाले ५३ करोड ७५ लाख रुपियाँमा ठेक्का लिएको हेटौडा विद्युत प्राधिकरण हेटौडाका प्रमुख ईश्वरीप्रसाद जयसवालले जानकारी दिनुभयो ।

यो परियोजना विश्व बैङ्क ७५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १२.५ प्रतिशत र नेपाल सरकारको १२.५ प्रतिशतको लगानीमा सुरु भएको हो । अहिलेसम्म प्रशासनिक तर्फबाट गर्नुपर्ने अधिकांश काम सम्पन्न भए पनि  ठेकेदारबाट हुनुपर्ने निमार्ण तर्फको काम नभएको जानकारी दिइएको छ ।
कार्यालयका अनुसार अहिलेसम्म टावर फाउण्डेसन २२६  वटा निर्माण गर्नुपर्नेमा अहिले  १३९ वटा मात्र निर्माण भएका छन् । यो ६१.५० प्रतिशत मात्र काम सम्पन्न भएको हो ।
त्यस्तै २२६ वटै टावर खडा गर्नुपर्नेमा अहिलेसम्म जम्मा ९२ वटा मात्र टावर निर्माण भएका छन् । टावर निर्माणको काम ४१  प्रतिशत मात्र सम्पन्न भएको छ । समयमा काम पूरा नभएपछि विश्व बैकसंँग छलफल गरिरहेको प्रमुख जयसवालले बताउनु भयो ।

हेटोडादेखि भरतपुरको आँपटारीसम्म २२६ वटा पोल ठाउँको अवस्था हेरेर २०५ मिटरको दुरीमा पोल गाडिनुपर्दछ । भरतपुरदेखि हेटौडासम्म ७४ किलोमिटरमा दुई सय २० केभी विद्युत प्रशारण लाईनको तार तान्नुपर्नेमा अहिलेसम्म ६.७ किलोमिटर मात्र तार तानिएको छ । त्यस्तै आयोजनाले प्रयोग गरेको जमिनको क्षतिपूर्तीको भने ९९ प्रतिशत तिरिसकेको छ । टावरको १५ मिटर दायाँ र १५ मिटर बायाँ प्रयोग हुने जमिनको आयोजनाले क्षतिपूर्ती दिने गर्दछ ।

अहिलेसम्म विद्युत प्रशारण लाईनमा पर्ने ७४ प्रतिशत रुख मात्र काटिएको कार्यालयले जनाएको छ । चितवन क्षेत्रमा पर्ने भरतपुरको आँपटारीदेखि लोथरसम्म २६ हजार दुई सय ९६ रुख काटिएको जिल्ला वन कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै तीन हजारभन्दा बढि रुख काट्न बाँकी रहेको जानकारी दिएको छ । जिल्ला वन कार्यालय चितवनका प्रमुख  गणेश रायका अनुसार ९४ हेक्टर क्षेत्रफलमा रुख काटिएको छ । दुई सय २० केभी विद्युत प्रसारणलाईनले काटेको रुखको क्षतिपूर्ती स्वरुप  जिल्लामा साढे तीन लाख रुख समेत रोपिँदै छ ।
आन्दोलनका कारण आयोजनाको काम केहि महिना रोकिएको पनि फेरि सञ्चालन भैसकेको छ । तराई मधेशको नाकाबन्दी, भुकम्प र ठेकेदारले कामदारलाई समयमा नै रकम उपलब्ध गराउन नसक्दा काममा ढिलाई भएको आयोजना सम्बन्धितहरुको छ  ।
अहिलेकै गतिमा काम अगाडि बढ्ने हो भने योजना सम्पन्न गर्न दुई तीन वर्ष अझै लाग्ने बताईएको छ । यस दुई सय २० केभी विद्युत् प्रशारणलाईन मार्फत् मध्य मस्र्याङदी, मस्याङ्दी, र कालिगण्डकीमा उत्पादित विद्युत देशै भरी विद्युत् वितरण गरिनेछ । यस लाईन राष्ट्रिय प्रशारणलाईनमा छिट्टै जोडिने तयारी सरकारको रहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना