• ६ चैत २०८०, मङ्गलबार

मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६७ हजारको निवेदन : छनोट प्रक्रिया सुरु

blog

म्यादी प्रहरीमा भर्नाको लागि छनोट चरणमा सहभागी भएका युवा। फाइल तस्बिरः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, असोज ७ गते। मङ्सिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा शान्ति सुरक्षाको लागि आवश्यक म्यादी प्रहरीमा भर्नाको आवेदन दिने म्याद सकिएको छ। आवेदनको म्याद सकिएपछि भर्नाको लागि शुक्रबारबाट छनौट प्रक्रिया सुरुभएको छ।

आवेदनको म्यादभित्र मधेश प्रदेशमा म्यादी प्रहरीमा भर्ना हुन ६६ हजार ८८४ जनाले आवेदन दिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । आवेदकमध्ये ११ हजार ८२७ महिला र ५५ हजार ५७ जना पुरुष रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनपुरधामका सूचना अधिकारी प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो। 

म्यादी प्रहरीमा भर्नाको लागि आठ दिनको म्याद दिएको थियो। भदौ ३० गतेदेखि आवेदन दिन आह्वान गरिएकोमा सोको म्याद हिजो बिहीबार नै सकिएको छ। शुक्रबारदेखि छनौट प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो। 

म्यादी प्रहरीमा भर्नाको लागि सप्तरीमा एक हजार ६२३ महिला, सात हजार ३३७ पुरुष गरेर आठ हजार ९६०, सिरहामा एक हजार २९९ महिला, पाँच हजार ५२० पुरुष गरेर छ हजार ८१९, धनुषामा एक हजार १२५ महिला छ हजार ७०९ पुरुष गरेर सात हजार ८३४ र महोत्तरीमा एक हजार ३३३ महिला पाँच हजार ९६९ पुरुष गरेर सात हजार ३०२ जनाले आवेदन दिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।

यसैगरी, सर्लाहीमा एक हजार ५७० महिला सात हजार ९३ पुरुष गरेर आठ हजार ६६३, रौतहटमा एक हजार १६३ महिला सात हजार ४२० पुरुष गरेर आठ  हजार ५८३,  बारामा दुई हजार ४६६ महिला, आठ हजार ९३९ पुरुष गरी ११ हजार ५०४, पर्सामा एक हजार २४८ महिला छ हजार ७० पुरुष गरेर सात हजार ३१८ जनाले आवेदन दिएको सूचना अधिकारी प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो।

मधेश प्रदेशमा सबैभन्दा बढी बारा र सबैभन्दा कम सिरहा जिल्लामा आवेदकको संख्या रहेको छ। बारामा ११ हजार ४०५ र सिरहामा छ हजार ८१९ आवेदन परेको छ। गत स्थानीय तहको निर्वाचनमा करिब ३० हजारको हाराहारीमा म्यादी प्रहरी भर्ना गरिएको थियो। संघीय चुनावका लागि भने प्रदेशमा म्यादी प्रहरीको संख्या एकिन भइसकेको छैन।