एमालेलाई सङ्घीय संरचनामा लैजाने निर्णय

UML-party-officeकाठमाडौँ, जेठ २५ गते ।  नेकपा (एमाले) ले आगामी असार १ गते प्रदेश कमिटी गठन गर्ने निर्णय गरेको छ ।  नयाँ संविधानअनुसार देश सङ्घीय संरचनामा गएपछि त्यसको कार्यान्वयनका लागि एमालेले पार्टीको सङ्गठनलाई सङ्घीय संरचनामा लैजाने निर्णय गरेको हो ।   
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले सङ्घीय संरचनाको गृहकार्य गर्न सङ्गठन विभागलाई जिम्मेवारी दिएको छ ।  पार्टी महासचिव ईश्वर पोखरेलले प्रदेश कमिटी गठनको प्रस्ताव बैठकमा राख्नुभएपछि सोमबार करिब तीन घण्टा बैठक त्यसमै केन्द्रित भएर छलफल भएको स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले बताउनुभयो ।  
विभिन्न पाँच आधारमा प्रदेश कमिटी गठनको गर्ने तयारी गरिएको छ, सङ्गठन विभागले त्यसको गृहकार्य गरेर असार १ गते बस्ने बैठकमा विस्तृत खाकासहितको प्रस्ताव पेस गर्नेछ, नेता पोखरेलले गोरखापत्रलाई बताउनुभयो ।  
सङ्गठन विभागले सचिवालयसँग समन्वय गरेर प्रदेश कमिटीको गृहकार्य गरेर विस्तृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।  उहाँका अनुसार प्रदेशमा रहेका पोलिटब्युरो, केन्द्रीय सदस्य प्रदेश कमिटीको सदस्य रहने छन् ।  
त्यस्तै, जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष, राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य, अञ्चल इन्चार्ज र सहइन्चार्जसहित जिल्ला अध्यक्षका लागि प्रतिस्पर्धा गरेका समेत प्रदेश कमिटीको सदस्य रहन पाउने आधार तयार गर्ने बैठकमा निर्णय भएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।  
एमालेले सातवटै प्रदेशमा प्रदेश कमिटी गठन गर्ने तयारी गरेको छ ।  कमिटीमा कति सदस्य रहनेबारे अझै बैठकले टुङ्गो नलगाएको स्थायी कमिटी सदस्य पोखरेलले जानकारी दिनुभयो ।  सङ्गठन विभागले तयार गर्ने विस्तृत प्रस्तावमा आवश्यक छलफलपछि असार १ गते बस्ने स्थायी कमिटीको बैठकले त्यसबारेमा टुंगो लगाउने उहाँले बताउनुभयो ।  
नियमित तीन दिन बसेको स्थायी कमिटीको बैठकले समसामयिक राजनीतिक विषय र संविधानको कार्यान्वयनका विषयमा समेत गम्भीर छलफल गरेको छ ।  भद्र सहमतिका विषयमा बाहिर भएको चर्चाबारे समेत बैठकमा छलफल भए पनि राष्ट्रिय सहमतिको सरकार गठनको वातावरण बनेमात्र एमालेले सरकार परिवर्तनको विषयमा सोच्ने कार्यालय सचिव श्रेष्ठले बताउनुभयो ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना