बत्तीस हजार अझै सञ्चार सुविधाबाट वञ्चित

बेनी (म्याग्दी), जेठ २३ गते । सूचना प्रविधिका अभियानकर्मी महावीर पुनको जिल्ला म्याग्दीमा अझै पनि ३२ हजार जनता सूचना र सञ्चारको पहुँचभन्दा टाढा छन् ।

विसं २०६८ को जनगणनानुसार म्याग्दी जिल्लाको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा करिब ३२ हजार जनता सञ्चारको पहुँचबाट टाढा रहेको नेपाल टेलिकम म्याग्दीले जनाएको छ । म्याग्दीको कुल जनसङ्ख्याको ८१ हजार जना सञ्चारको पहुँचमा रहेको बताइएको छ ।

टेलिकम म्याग्दीका अनुसार जिल्लामा प्रिपेड मोबाइलका प्रयोगकर्ता ६४ हजार ४७५ तथा पोस्पेड मोबाइलका प्रयोगकर्ता एक हजार ४१४ छन् । यसैगरी जिल्लाभरमा सिडिएमए र स्काई फोनसेवा प्रयोग गर्ने १४ हजार ४६६ ग्राहक छन् भने पिएसटिएन (ल्यान्डलाइन)का प्रयोगकर्ता एक हजार २६२ जना रहेको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले जानकारी दिनुभयो । ल्यान्डलाइन सेवातर्फ सदरमुकाम बेनीबजारमा मात्रै एक हजार १८४ ग्राहक छन् ।
त्यस्तै इन्टरनेट सेवा एडिएसएलतर्फ २६९ जना रहेको शाहको भनाइ छ । भिस्याट सेवातर्फ २६ ग्राहक सङ्ख्या छ भने जिल्लामा हालसम्म मोबाइलका १७, सिडिएमएका ६ र वाइम्याक्सका २७ सहित ५० टावर सञ्चालनमा रहेको टेलिकमले बताएको छ ।

यसैबीच टेलिकम म्याग्दीले चालु आवभित्रै पश्चिम म्याग्दीको ताकम गाविसमा मोबाइलको बिटिएस स्थापना गर्ने तयारी गरिरहेको छ । आगामी आवमा जिल्लाको पाखापानी, बेगखोला, दाना, अर्मन, ओखरबोट र मुना गाविसमा जिएसएम मोबाइलको टावर विस्तार गरिने टेलिकम म्याग्दीका वरिष्ठ सहायक ईश्वरीप्रसाद आचार्यले बताउनुभयो ।

जिल्लामा टेलिकमका सेवाका साथै एनसेल, युटिएल लगायत सञ्चारका सेवा सञ्चालनमा छन् । हालै धौलागिरि अञ्चलका चार ओटै जिल्लामा नेपाल टेलिकमको थ्रिजी सेवा तथा म्याग्दीको सदरमुकाम बेनी र पुलाचौरको बिटिएस टावरमा थ्रिजी जडान गरी सञ्चालनमा ल्याइएको छ । गत वर्ष माघ २२ गतेसम्म नेपाल टेलिकमको अभिलेखानुसार देशभरमा नेपाल टेलिकमका मात्रै एक करोड ४० लाख ६२ हजार ग्राहक छन् । टेलिकमको वार्षिक आय रु ४२ अर्ब ६४ करोड रहेको बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना