यार्सागुम्बा लोप हुँदै !




पुपाल (रुकुम), जेठ २१ गते । संरक्षण र व्यवस्थापनको अभावमा बुहुमूल्य जडीबुटी यार्सागुम्वा ९जीवन बुटी० लोप हुँदै गएको छ । अव्यवस्थित सङ्कलन, जलवायु परिवर्तन र अबैध रुपमा निकासी गर्ने क्रम समेत बढेकाले यार्सागुम्बा लोप हुँदै गएको हो ।

जिल्ला वन कार्यालय रुकुमका रेन्जर ललितजंग खड्का पहिले भन्दा यार्सागुम्बा लोप हुँदै गएको र यसको उचित संरक्षणमा आवश्यक भएको बताउनुहुन्छ ।

यार्सा परिश्रम : हिउँले भरिएको रुकुमको पुपाल लेकमा यार्सा टिप्न जम्मा भएका स्थानियवासी । तस्बिर : नारायण ढुंगाना, रासस

यार्सा सिजन व्यवस्थापन समितिका सदस्य राजधर्म पुन भन्नुहुन्छ – ‘यार्सा घटेको छ तर कुन मात्रामा घटेको हो भनेर भन्न सकिंदैन । त्यसको अनुपात निकाल्न अनुसन्धान नै गर्नुपर्छ ।’

रुकुमको विकट रन्मामैकोटकी लाली झाँक्री पुपाल लेकको बुकी क्षेत्रमा यार्सा टिप्दै हुनुहुन्छ । श्रीमान् मनराजको साथमा उहाँ यार्सा टिप्न आउनुभएको हो । आधा दिनमा बल्ल तल्ल तीन–चार वटा उहाँले यार्सा भेटाउनुुभयो । उहाँले भन्नुभयो – ‘पहिले एकैदिनमा ५०–१०० वटा सम्म च्याउ टिप्थ्यो, अहिले दिनभर खोज्दा पनि १०–१५ बुटा पाइँदैन ।’

बाग्लुङबाट आएका भीमहादुर घर्तीको अनुभवमा पनि यार्सा धेरै घटेको छ । दुई वर्ष अघि उहाँसँग पुपालबाट एकैदिनमा ९५ वटा यार्सा निकालेको पहिलेको अनुभव छ । यसपालि एकदिनमा जम्मा तीन वटा मात्रै यार्सा फेला पार्न सकिएको भीमबहादुर बताउनुहुन्छ । स्थानीय जनताले जथाभावी यार्सा टिप्ने, बीउ पनि नराख्ने र फोहर गर्ने भएकाले यार्सा उत्पादनमा समस्या परेको उहाँको अनुभव छ ।

हिमाली क्षेत्रमा स्थानीय जनताका लागि यार्सागुम्बा जीवन धान्ने आधार हुँदै आएको छ । उनीहरुको मुख्य आम्दानीको श्रोत नै यार्सा र जडीबुटी हो । पहिले भन्दा आधा यार्सा घटेको अनुभव रन्मामैकोट गाविसका स्थानीय जनताको छ ।

यार्सा व्यवस्थापन समितिका संयोजक तथा स्थानीय अगुवा लक्ष्मी प्रसाद पुनले यार्सा घट्दै गएकाले संरक्षण र प्रवद्र्धनका लागि महोत्सव सुरु गरिएको बताउनुभयो । यो वर्ष नेपालमै पहिलो पटक उच्च क्षेत्रमा पुपाल यार्सा महोत्सव गरिनु पनि यसको संरक्षण र बजारीकरणको महत्वपूर्ण आधार भएको पुन बताउनुहुन्छ ।

नेपालका २५ जिल्लामा यार्सागुम्बा पाइन्छ । नेपालसहित भारत चीन, भुटान र तिब्बतमा यार्सा पाइन्छ । नेपालको डोल्पा, रुकुम, दार्चुला, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, कालीकोट, जाजरकोट लगायत क्षेत्रमा बढी पाइन्छ । ती मध्ये डोल्पा र रुकुमको पुपाल क्षेत्रको यार्सालाई व्यापारीहरुले मन पराउने गरेका छन् । यहाँको यार्सा बढी मूल्यमा समेत बिक्ने समितिका कोषाध्यक्ष मानबहादुर पुनले बताउनुभयो ।

एक तथ्याङ्कले यार्सा जस्तै च्याउ विश्वमा ६८० प्रजातिका छन् । नेपालमा ११ प्रजातिका पाइन्छ । शक्तिबद्र्धक, रोग प्रतिरोधात्मक, चिकित्सा क्षेत्रमा समेत प्रयोग हुने भएकाले यसको माग बढ्दो छ । विशेषगरी चीनमा नेपालका यार्सा निर्यात हुँदै आएको छ । यस्तो महत्वपूर्ण हुँदाहुँदै पनि यसको उचित संरक्षण हुन सकेको छैन । पहिले पुपाल लेकका हरेक क्षेत्रमा पाइने यार्सा अहिले निश्चित क्षेत्रमा मात्रै पाइने गरेको छ । पुपालको तल्लो बुकी क्षेत्रमा मानवीय चाप बढेको र उचित संरक्षण हुन नसकेकाले अहिले सो क्षेत्रमा यार्सा पूर्णतः नष्ट भएको छ । माथिल्लो भेगमा मात्रै यार्सा पाइने गरेको स्थानीय भरतकुमार पुन बताउनुहुन्छ । चार हजार ५०० मिटरदेखि पाँचहजार ५०० सय मिटरको उचाइमा यार्सा पाइन्छ ।

एकातर्फ यार्सा घट्दै गएको छ भने अर्कोतर्फ सङ्कलनकर्ताहरुको चाप समेत बढेको छ । स्थानीय यार्सा व्यापारी सङ्कलनकर्ताहरुको चापका कारण यार्सा कम भएको बताउँछन् । विशेष गरी रुकुमको रन्मामैकोटको पुपाल क्षेत्र अन्य यार्सा पाउने क्षेत्र भन्दा फरक छ ।

यहाँको यासाृ ठूला हुने भएकाले मूल्य पनि राम्रो आउने स्थानीय जनताको भनाइ छ । एउटा यार्साको रु ५ सय देखि एक हजार ५ सय सम्ममा बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् । तर उचित संरक्षण हुन नसके महत्वपूर्ण जडीबुडी लोप हुने चिन्ता छ ।

अन्य जिल्लामा आफ्नै जिल्लाका स्थानीय जनतालाई यार्सा टिप्ने अनुमति दिने गरिएको छ । तर पुपाल क्षेत्रमा जुनसुकै जिल्लाबाट आएकाहरुले समेत यार्सा सङ्कलन गर्ने अनुमति पाउँछन् । त्यसैले पनि लापरबाही भएको अनुमान सङ्कलनकर्ताहरुको छ ।

यार्साकै विषयमा अनुसन्धान गर्दै आउनभएका वन संरक्षणकर्मी राजु क्षेत्रीले भन्नुभयो – ‘कुन यार्सा टिप्न हुने, कुन नहुने भन्ने जानकारी नै छैन । जानकारीको अभावमा बीउ हुने यार्सा समेत निकासी हुने गर्छ, यसैले यार्सा घट्दो छ ।’
यार्साको संरक्षणमा अहिलेसम्म कुनै नीति नै नरहेकाले यो वर्षदेखि भने वन मन्त्रालयले नियमावली बनाउने तयारी गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना