पाँच दशकअघि स्थापित कृषि अनुसन्धान केन्द्रले बल्ल गति लिंदै , डेढ वर्षमा रु. पाँच करोड लगानी


राजु शिवा
इलाम (पशुपतिनगर) जेठ, २१ गते । कृषिमा आधुनिक प्रविधि विकास गर्ने उद्देश्यले इलामको जौबारीमा स्थापित कृषि अनुसन्धान केन्दले गति लिन थालेको छ ।

जोगमाई र जमुनामा पर्ने केन्द्रमा डेढ वर्षको अवधिमा पाँच करोड रुपियाँ भन्दा धेरै लगानी भइसकेको छ । अनुसन्धान र वागवानी केन्द्रको संरचना निर्माण, कार्यक्रम लगायतमा रकम खर्च भएको केन्द्रले जनाएको छ ।

आलु विकास केन्द्रको प्रयोगविहीन जमिन उपयोग गर्दै अनुसन्धान केन्द्र खोलिएको हो । २०२४ सालमा आलु विकास केन्द्र सञ्चालन गरिए पनि केही वर्षपछि बन्द भएको थियो । उन्नत आलुको खेती, वीऊ उत्पादन र वजार प्रवद्र्धन गर्न सघाउने उद्देश्यले खोलिएको आलु विकास केन्द्रको आठ हजार चार सय रोपनी जमिन प्रयोगविहीन अवस्था थियो । स्थानीयको मागसहित चौतर्फी दवावका कारण यो जमिनलाई पुनर्प्रयोग गर्न राज्यको ध्यान पुगेको हो । राज्यको ठूलो लगानी बालुवामा पानी सरह भएको देखेका यस क्षेत्रका बासिन्दाले नयाँ ढङ्गबाट सञ्चालित कृषि अनुसन्धान केन्द्रको निरन्तरताका लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।

इलाम सदरमुकामबाट झण्डै ४० किलोमिटर उत्तर–पूर्व भारतीय सीमावर्ती जौवारीमा स्थापित अनुसन्धान केन्द्रलाई भोगोलिक विकटता, जङ्गली जनावार र चिसो वातावरण चुनौती बनेको छ । झण्डै चार दशकअघि आलु खेतीको विकासका लागि महत्वकांक्षी रुपमा सञ्चालन गरिएको आयोजना भौगोलिक विकटता, अनियमितता र सु–सञ्चालनको अभावमा बन्द भएको थियो ।

त्यति बेला निर्माण भएका करोडौं मूल्य बराबरका संरचना काम नलाग्ने अवस्थामा छन् । ‘यसलाई दीर्घकालीन र उपयोगी ढङ्गले कसरी सञ्चालन गर्ने भन्ने नै हाम्रो मुख्य चुनौती हो’–केन्द्रका कार्यकारी निर्देशक युवराज पाण्डेले भन्नुभयो–‘यहाँको भौगोलिक अवस्था र आवश्यकता अनुसारको कार्यक्रम सञ्चालनको सोंचमा छौं ।’ अनुसन्धानका केन्द्रका लागि तीन वटा भवन निर्माण भइसकेका छन् । दुई वटा निर्माणाधीन छन् भने पाँच वटा टनेल निर्माण भइसकेका छन् ।

यहाँ आलु, तरकारी, अन्नवाली, पशु र फलफूलसम्बन्धी क्लोन (वीऊ÷विरुवा) विकासलगायतका कार्यक्रम हुने त्यहाँस्थित केन्द्रका प्रमुख केशवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ‘यहाँको हावापानी, वन्यजन्तुको आक्रमण, सडकलगायत विकासे पूर्वाधार अभावले काम गर्न त्यति सहज छैन’–उहाँले सुनाउनु भयो । केन्द्रअन्तर्गत वरिष्ठ वैज्ञानिक र तीन अधिकृतसहित ११ जना कर्मचारी कार्यरत हुनुहुन्छ ।

सदरमुकाम टाढा भएकाले कर्मचारी आउन पनि नमान्ने गरेको केन्द्रको भनाई छ । त्यस्तै बागवानी विकास केन्द्र अन्तर्गत करीब दुई करोड रुपियाँ खर्च भएको छ । उन्नत र विकसित कृषि प्रविधि विकास गर्ने उद्देश्यले बागवानी अन्तर्गत आलुको वीऊ उत्पादन, सुख्खा फलफूलको बगैचा निर्माण जस्ता काम भइरहेको प्रमुख उमानाथ भण्डारीले बताउनु भयो । आलु बालीको विकासका लागि भनेर पूर्वाधार तयार भएर पनि बेकम्मा बनेको ठाउँमै सञ्चालन भएको अनुसन्धान केन्द्रलाई दीगो र प्रभावकारी बनाउन स्थानीयको सहयोग आवश्यक हुने जमुना–८ इङ्गलाका कुमार गुरुङ्ग बताउनु हुन्छ , ‘यो क्षेत्र जडिबुटी खेतीका लागि कहलिएको छ, यसमा पनि केन्द्रले कार्यक्रम ल्याउन सके थप प्रभावकारी हुन्छ ।’
                                        

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना