अलैंचीका लागि ताप्लेजुङका किसान मध्यपश्चिममा

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २० गते । देशकै कृषि उपजमध्ये मुख्य नगदेबालीको रुपमा रहेको अलैंची खेती बिस्तार गर्न ताप्लेजुङका किसान मध्यपश्चिम विकास क्षेत्रका जिल्लामा पुगेका छन् ।

‘कालो सुन’ को नामले समेत चिनिएको अलैंची खेतीको विस्तार तथा यसको खेतीप्रति किसानलाई उत्प्रेरित गर्ने उद्देश्यले ताप्लेजुङस्थित मध्य–पहाडी अलैंची कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध अगुवा किसानहरु सुदूर पूर्वी नेपालको ताप्लेजङका किसान मध्यपश्चिमका जिल्लासम्म पुगेका हुन् ।

मध्य पश्चिमको बाग्लुङ जिल्लामा पुगेर अलैंची रोप्दै ताप्लेजुङका किसान । तस्बिर सौजन्य : काजी भट्टराई ।

सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाईं, उपाध्यक्ष काजी भट्टराई, सचिव तारा भट्टराई, सहसचिव रुद्र थेबे तथा सदस्यद्वय लक्ष्मी काफ्ले र डिल्लीरमण प्रसाईं समेत छ जनाको टोली एक वर्ष अघि नै उक्त जिल्लाहरुमा पुगेर अलैंची खेतीका लागि सम्भाव्यता अध्ययन गरी उहाँहरुले खेती सुरु गर्नुभएको थियो ।
अध्ययनका क्रममा ती जिल्लाका केही जमिन अलैंची खेतीका लागि उपयुक्त पाइएकाले गत वर्षदेखि नै खेती सुरु गरिएको संस्थाका सचिव काजी भट्टराईले बताउनुभयो । गत वर्ष ताप्लेजुङ र इलामबाट दुई लाख बिरुवा खरिद गरी बाग्लुङ र गुल्मी जिल्लामा पु¥याएर रोपिएको भट्टराईले बताउनुभयो । यस्तै यो वर्ष पर्वत र म्याग्दी जिल्लामा एक लाख बिरुवा रोप्ने तयारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो वर्ष अलैंची बिरुवा लगाइसक्दा करिव दुई सय रोपनी जग्गामा खेती बिस्तार हुने र कुल २२ लाख रुपियाँ खर्च हुने छ ।

उक्त जिल्लाहरुमा जग्गाधनीबाट जग्गा लिजमा लिएर अलैंची खेती लगाउन सुरु गरिएको उहाँहरुले बताउनु भएको छ् । हाल  छ जनाले समान रुपमा आर्थिक लगानी गरेर खेती सुरु गरिएको र पछि संस्थाका अन्य सदस्यले पनि लगानी गर्न चाहेमा खेतीमा सहभागी गराइने सचिव भट्टराईले बताउनुभयो । बिशेष गरेर पूर्वका जिल्लाहरुमा मात्रै खेती गरिँदै आएको अलैंचीको प्रचार–प्रसार गर्ने र त्यहाँका किसानलाई अलैंची खेतीप्रति उत्प्रेरित गर्ने उद्देश्यले खेती लगाउन सुरु गरिएको उहाँले बताउनुभयो । ‘बहुमूल्य कृषिउपजका रुपमा रहेको अलैंचीको खेतीसहित सुरु गरिएको यस अभियानले अवश्य सफलता पाउने छ’ उहाँले भन्नुभयो ।
अलैंची खेती अभियानका अगुवा लक्ष्मी काफ्लेले यसपालीको लामो खडेरीमा समेत गत वर्ष रोपिएको अलैंची नमरेकाले अलैंची खेतीका लागि मध्यपश्चिमको जमिन उपयुक्त ठानिएको बताउनुभयो । उता टोलीले गरेको अध्ययन अनुसार केही चिस्यान र पानीको स्रोत भएको क्षेत्रमा अलैंची हुने र नेपालको करिव ५५ वटा जिल्लामा अलैंची खेती गर्न सकिने पाइएको पनि उहाँले बताउनुभयो ।

पछिल्लो समय अलैंचीले धेरैको जीवनस्तरमा सुधार ल्याएपछि यस अघिदेखि नै अलैंची खेती गरिँदै आएको ताप्लेजुङसहितका जिल्लाका अधिकांश किसान खेतबारी नै मासेर अलैंची रोप्न थालेका छन् । अलैंंची खेतीतर्फ किसान आकर्षित भएसँगै उनीहरुले यसबाट राम्रो आर्थिक आर्जन समेत गर्दै आएका छन् । हिजोआज अलैंचीको बजार मूल्य ताप्लेजुङमा दुई हजार रुपियाँ प्रति किलोग्राम र पूर्वकै व्यापारिक केन्द्र झापाको बिर्तामोडमा प्रतिकिलोग्राम दुई हजार ८० रुपियाँसम्म रहेको ब्यापारीले बताएका छन् ।



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना