• ६ चैत २०८०, मङ्गलबार

दक्षिणी पाकिस्तानमा डेंगुको प्रकोप बढ्दै, २७ जनाको मृत्यु

blog

इस्लामावाद, असोज ५ गते । पाकिस्तानमा डेंगु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेंगु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।

यस सङ्क्रमणको कारण मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात् देशको सबैभन्दा ठूलो सहर कराचीमा भएको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ सङ्क्रमित भएका विभागले मङ्गलबार साँझ जानकारी दिएको छ ।

सेप्टेम्बरमा बिरामीको सङ्ख्या तीन हजार ५९४ पुगेको छ । वर्षभरि कुल बिरामीको सङ्ख्या छ हजार १६३ पुगेको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा २८४ लाई डेङ्गु सङ्क्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।

यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार ७२९ सक्रिय सङ्क्रमितको सङ्ख्या रहेका छन् । कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार २६४ पुगेको बताइएको छ  । यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा २१५ सङ्क्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् ।

पञ्जाबको राजधानी लाहोरमा एक सय पाँच जना सङ्क्रमित भएका छन् । रावलपिंडी सहरमा ५४ जनामा सङ्क्रमण देखिएको छ । यसवर्ष रावलपिंडीमा कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ६४५ पुगेको छ ।

यसैबीच २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार साँझसम्म पाकिस्तानको विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा १० को मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ ।

बाढी सम्बन्धी छुट्टाछुट्टै घटनाहरूमा ज्यान गुमाउनेहरूमध्ये चार बालबालिका र दुई महिला रहेका एनडीएमएले मङ्गलबार जनाइएको छ ।  देशको सबैभन्दा बढी प्रभावित क्षेत्र दक्षिणी सिन्ध प्रान्त नौ जनाको मृत्यु भएको छ ।  त्यसपछि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा एक जनाको मृत्यु भएका जनाइएको छ ।

एनडीएमएले मङ्गलबार राति सार्वजनिक गरेको विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा एक हजार ५६९ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार ८६० जना घाइते भएका छन् ।

यस प्रकोपले ५० हजार नौ सय ४० घरहरु क्षतिग्रस्त पारेको समाचारमा जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् । रासस/सिन्ह्वा