• ६ चैत २०८०, मङ्गलबार

पहिरो र प्रदूषण रोक्न भेटिभर घाँस

blog

काठमाडौँ, असोज ५ गते । प्रदूषित नदीको पानी प्रशोधन गर्न, पहिरोको नियन्त्रण गर्न तथा सडक किनाराको भूक्षय रोक्नका लागि भेटिभर घाँस निकै उपयोगी रहेको पाइएको छ । सो घाँसको उपयोगिताबारे अध्ययन गरिरहनुभएका सञ्जीव काफ्लेले प्रदूषित पानीको सफाइ गर्न र डम्पिङ साइटमा हानिकारक रसायनबाट हुने क्षति कम गर्न भेटिभर असाध्यै उपयोगी हुने बताउनुभयो ।

उहाँले उपत्यकाका बागमती, विष्णुमती, इच्छुमती, धोबीखोला, मनोहरामा फोहोर पानीलाई भेटिभर घाँस रोपेर प्रशोधन गर्न सकिने बताउँदै खोला छेउमा, राजमार्गको पहिरो खस्ने स्थानमा यो घाँस रोप्न सुझाव दिनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाले फोहोर विर्सजन गर्दै आएको ल्यान्डफिल साइट बन्चरेडाँडा र सिसडोलमा फ्यालिएका फोहोरबाट निस्कने रसायनलाई खोलासम्म पुग्नबाट यो घाँसले रोक्न सक्ने दाबी गर्नुभयो । 

भेटिभर द्रुत वृद्धि हुने, गहिराइसम्म पुग्न सक्ने र लामो जरा भएको बाह्रमासे घाँस हो । यसको जरा तीन मिटर गहिराइसम्म जान सक्छ र जराले गह्रौँ धातु तथा विषाक्त पदार्थ शोषण गर्न सक्ने क्षमता राख्छ । जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका निमित्त प्रमुख श्रीकमल द्विवेदीले भेटिभर रोप्दा पहिरो नियन्त्रण, नदी किनाराको क्षय नियन्त्रण, भिरालो जमिन स्थिरीकरण, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपको कारणले गर्दा बालुवा किनारामा परिणत भएको जमिनको पुनः प्राप्ति, पशुपालनका लागि चारा, हस्तकलाका लागि कच्चा पदार्थ र बहुमूल्य भेटिभर तेलको फाइदा लिन सकिने बताउनुभयो । 

यसअघि भेटिभरको बिरुवाद्वारा फोहोर पानी प्रशोधनको अध्ययन अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्यान्डलगायतका मुलुकमा भइसकेको छ । जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाले झापाको कनकाईमा खोला किनारामा लगाएर सफल प्रयोगसमेत गरेको छ । त्यस्तै काठमाडाैँको टोखा, रामकोट, स्याङ्जा, सङ्खुवासभा र धनकुटामा समेत सफल प्रयोग भएको छ । 

यस घाँसले रोपेको तीन महिनामा नै जरालाई व्यापक फैलाउँछ । जरा निकै बलियो हुने भएकाले यसले माटोलाई बलियोसँग समाउँछ । हेटौँडा–अमलेखगञ्ज सडक खण्डमा यो घाँस रोपेपछि पहिरो नियन्त्रण भएको छ । काठमाडौँ विश्वविद्यालयको वातावरण इन्जिनियरिङ विभागमा कार्यरत प्रा.डा. विकास अधिकारीले छिटो हुर्कने र माटोलाई सहज थेग्न सक्ने भएकाले यो घाँस नेपालका लागि निकै उपयोगी भएको बताउनुभयो । 

यसको डाँठ र जराबाट तेल निकाल्न सकिने भएकाले यसको मूल्य धेरै रहेको उहाँले बताउनुभयो । यसरी निकालिएको तेल प्रतिलिटर २० हजार भारतीय रुपियाँसम्म पर्नेे बताइन्छ ।