• ६ चैत २०८०, मङ्गलबार

बजेट अभावले पेट्रोल भण्डारणगृह निर्माण ढिलाइ

blog

काठमाडौँ, असोज ५ गते । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन । पाइपलाइनबाट पेट्रोल ल्याउन बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको हो । 

अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह नहुँदा पाइपलाइनबाट पेट्रोल आयात भएको छैन । हाल पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको छ ।

भण्डारण गृहको लागत नेपाल आयल निगमले बेहोर्नुपर्ने र इन्डियन आयल कर्पाेरेसन (आईओसी) को प्राविधि सहयोगमा भण्डारगृह निर्माण हुनेछ । नेपाल आयल निगम अमलेखगञ्ज कार्यालयका प्रमुख प्रदीप यादवले टेन्डर आह्वान गर्दा बैङ्क ग्यारेन्टी दिनुपर्ने हुँदा रकम अभावले गर्दा काम अगाडि बढ्न बताउनुभयो । भण्डारणगृह निर्माण गर्न सामान आइसके पनि काम सुरु हुन नसकेको उहाँले जानकारी दिनुभयो । भण्डारणगृह निर्माण गर्न आईओसीलाई वर्क आदेशका लागि ११ करोड रुपियाँ बैङ्क ब्यालेन्स देखाउनुपर्छ, रकम नहुँदा काम अगाडि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । हाल पेट्रोल ट्याङ्करबाट आयात भइरहेको छ । 

अमलेखगञ्ज, थानकोट र पोखराका लागि अहिले दुई हजार ट्याङ्कर भारतको बरौनी गएर पेट्रोल ल्याउने गरेका छन्, ढुवानी भाडा प्रतिलिटरमा तीन रुपियाँ र ५० पैसा प्राविधिक नोक्सान हुने गर्छ, उहाँले भन्नुभयो । 

पाइपलाइनबाट पेट्रोल ल्याउँदा ढुवानी भाडा र प्राविधिक नोक्सान गरेर मासिक १५ करोड रुपियाँ बचत हुने उहाँले जानकारी दिनुभयो । भण्डारणगृह निर्माण गर्न एक अर्ब ३० करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको यादवले बताउनुभयो । भण्डारणगृह नहुँदा मासिक १५ करोड रुपियाँ पेट्रोल ढुवानीबापत खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो । 

अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न चार हजार एक सय किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण गरिनेछ । यस्तै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्याङ्कर ‘लोड–अनलोड’ गर्न २४ वटा ट्याङ्कर लोडिङ फिलिङ सेट निर्माण गर्न गरिने छ । २४ वटा ट्याङ्कर लोडिङ फिलिङ सेटबाट स्वचालित रूपमा तेल लोड अनलोड हुन्छ । हाल नेपालमा कुनै पनि डिपोमा यस्तो प्रणाली नभएको निगमले जनाएको छ । यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागी हुने जोखिम न्यूनीकरण हुन्छ ।

यो परियोजनाको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको हो । नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार दोस्रो चरणको काम आईओसीले गर्नेछ । सन् २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइपलाइनबाट तेल आयात गर्ने निगमको लक्ष्य छ । 

निगम र आईओसीको संयुक्त लगानीमा रक्सौलदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम दुई अर्ब ७५ करोड भारतीय रुपियाँमा सम्पन्न भएको थियो । रक्सौलदेखि अमलेखगञ्जसम्म ३५ किलोलिटर दूरीमा पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । पाइपलाइनबाट हाल प्रतिघण्टा २५० किलोलिटरका दरले डिजेल आउने गरेको कार्यालयले जानकारी दिएको छ । 

पाइपलाइनबाट ल्याएको डिजेल वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, चितवनलगायतका जिल्लामा आपूर्ति भइरहेको छ । अमलेखगञ्जमा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र दुई हजार एक सय किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्रम प्रधानबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्न सम्झौता भएको थियो ।