• ६ चैत २०८०, मङ्गलबार

सिम्रौनगढमा झड्प, कार्यालयमा तोडफोड

blog

शिवशङ्कर मिश्र

बारा, असोज ४ गते । सिम्रौनगढ नगरपालिकाले विद्यार्थीको भ्रमण खर्च उपलब्ध नगराएको विषयमा विवाद हुँदा झडप भएको छ । विद्यार्थीले नगरपालिकामा तोडफोड गरेका छन् । दुई पक्षबीच झडप भएपछि प्रहरीले अवस्था नियन्त्रण गर्न हवाई फायर पनि गरेको छ ।

सिम्रौनगढ नगरपालिका –६ स्थित गढ बजारमा रहेका नगरपालिकाको कार्यालयमा कंकाली माध्यमिक विद्यालय र सोही ठाउँ १ का नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आएर नगरप्रमुख किशोरीप्रसाद जैसवाल र प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार न्यौपानेको कार्यकक्षमा तोडफोड गरेका हुन् । 

विद्यार्थीको आक्रमणले कार्यालयको सिसा, ढोका, टेबुल, सिसिटिभी र जेसिवामा क्षति पुगेको नगरपालिका कार्यालयले जनाएको छ । पालिकामा तोडफोडको घटना भएको जानकारी पाउनासाथ प्रहरीले सुरक्षा प्रदान गर्दै अवस्था नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । 

झड्प नियन्त्रणका क्रममा नेपाल प्रहरीका ४, सशस्त्र प्रहरीका ३ र स्थानीय १ विद्यार्थी गरी ८ जना घाइते भएको उहाँले बताउनुभयो । घाइते सबैको स्थानीय अस्पताल तथा एक जनाको वीरगन्जमा उपचार भइरहेको बोगटीले बताउनुभयो । अहिले अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ ।