• ६ चैत २०८०, मङ्गलबार

नेपाली व्यवसायको प्रतिस्पर्धामा अमेरिकाको लगानी

blog

अमेरिकाले युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापको सुरुवात गर्दै ।

काठमाडौ, असोज ४ गते । अमेरिकाले मङ्गलबार युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापका लागि नेपालको निजी क्षेत्रमा लगानी गर्न  सुरु गरेको छ ।

एक करोड ९० लाख अमेरिकी डलरको पाँच वर्षीय लगानीले उच्च वृद्धि र रोजगारीको सम्भाव्यता भएका लक्षित क्षेत्रका नेपाली व्यवसायहरूको प्रतिस्पर्धात्मकता अभिवृद्धि गरिने छ । 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले नयाँ व्यापार र लगानीको अवसरमा सहजीकरण गर्न, बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवामा पहुँच बढाउन र उत्पादक वृद्धि गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहकार्य गर्न सुरु गरेको छ । यसले नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रतालाई थप उचाइमा पुग्ने विश्वास लिइएको छ ।


“नेपालको निजी क्षेत्रमाथिको यस लगानीले रोजगारीका अवसरहरू सृजना गरी महिला, युवा र सीमान्तकृत समूहहरूको आय अभिवृद्धि गर्नेछ ।,” युएसएआईडी नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडले भन्नुभयो, “यो क्रियाकलाप नेपालको अर्थतन्त्र सुदृढ गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपाल र अमेरिकाबिच रहेको बृहत् सहकार्यको एउटा उदाहरण मात्र हो ।”

युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापले स्थानीय उत्पादन, पर्यटकीय अनुभव र विश्वको जुनसुकै ठाउँमा उपलब्ध गराउन सकिने डिजिटल सेवाजस्ता उच्च मूल्यका निर्यात बढाउने र विविधीकरण गर्ने नेपालको महत्त्वाकाङ्क्षालाई अगाडि लैजानेछ । निर्यातका यी क्षेत्रहरूले नेपालको अर्थतन्त्र बढ्दै जाँदा सीमान्तकृत समूहहरूको सहभागितालाई सहजीकरण गर्ने अझ उत्थानशील बजारहरूको सृजना गरी रोजगारी वृद्धि र आयआर्जनको गति तीव्र बनाउने छन् ।

सहसचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयसँग युएसएआईडीको साझेदारी र नेपालमा निरन्तर लगानीको प्रशंसा गर्नुभयो । कार्कीले थप्दै भन्नुभयो, “यस क्रियाकलापले व्यवसायहरूले प्रस्तुत गर्ने सेवाहरूको विविधीकरण गर्न र उनीहरूको उत्पादकत्वमा सुधार गर्दै उनीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन ठूलो सहयोग प्रदान गर्नेछ भन्ने मलाई आशा छ ।’’


नेपाल कोभिड–१९ महामारीबाट पार पाउने र हाल जारी विश्वव्यापी खाद्य सङ्कटका स्थानीय प्रभावहरूलाई सम्बोधन गर्ने क्रममा रहँदै गर्दा यस लगानीले समुद्रपारका बजारमा प्रतिस्पर्धा गर्ने निजी र सार्वजनिक क्षेत्रको क्षमतालाई टेवा पुर्‍याउनेछ र बाह्य आघातहरूको सामना गर्ने नेपालको क्षमतामा उत्थानशीलता थप गर्नेछ ।