मधेसी नेताका गल्ती

sovakant jhaशोभाकान्त झा    

 

विद्यमान मधेसी समस्याप्रति निश्चय नै नेपाल सरकार जिम्मेवार हो तर मधेसी नेताहरू त्यसभन्दा कम जिम्मेवार छैनन् ।  आधुनिक राजनीतिक इतिहासमै उनीहरूको दर्जनभन्दा बढी कमजोरी स्पष्ट देखिन्छन् ।
मधेसी नेताहरू सत्ता, पद र पैसाका लागि आफैँलाई बेच्ने गरेका छन् ।  वि.सं. २०१५ ताका वेदानन्द झाले तराई काँग्रेस भनेर छुट्टै दल स्थापना गरेका थिए ।  २०१७ सालमा राजा महेन्द्रले संसद् विघटन गर्दा आफ्ना सम्पूर्ण सिद्धान्तलाई तिलाञ्जली दिँदै उनी पञ्चायती व्यवस्थामा प्रवेश गरे ।  मधेसका मसिहा स्व. गजेन्द्रनारायण सिंहको सद्भावना पार्टी २०५२ को मध्यावधि निर्वाचनपछि निरन्तर सबै मन्त्रिमण्डलमा सामेल हुँदै गयो ।  मन्त्री पदका लागि पटक पटक पार्टी फुटाउने काम राजेन्द्र, रामेश्वर र हृदयेशले गरे ।  हाल त्यो पार्टी गुप्ता, सरिता, खुशीलाल, अनिल र राजेन्द्र गुटमा विभक्त छ ।  त्यसका कतिपय नेता अर्कै पार्टीमा लागेका छन् ।  अनि, २०६३ मा मधेसी जनआन्दोलनबाट जन्मिएको मधेसी जनअधिकार फोरम अहिले उपेन्द्र, गच्छादार, गुप्ता, मण्डल, राजकिशोर यादव,
शरदसिंह भण्डारी आदि अनेकौँ गुटमा विभाजित छ ।  त्यस्तै तमलोपा महन्थ र महेन्द्र भनी दुई गुटमा छ ।  निश्चय नै यिनीहरू मधेसवादी नभएर पथभ्रष्ट, धर्मभ्रष्ट, कर्तव्यच्युत, विवेकभ्रष्ट, नैतिकहीन र सिद्धान्तहीन नेता हुन् ।  एकाध नेता बाहेक सबैले काठमाडौँमा महल खडा गरिसकेका छन् ।  
मधेसी नेताहरूमा अन्धभक्ति छ ।  यिनीहरूले वि.सं. २०६२÷०६३ को ‘दिल्ली सम्झौता’ मा विचारै नपु¥याइ भारतको इशारामा हस्ताक्षर गरे र जनआन्दोलनमा लागे तर अन्तरिम संविधानको घोषणापछि आफूहरू ठगिएको महसुस गर्दै मधेसी जनआन्दोलन गरे ।  त्यसमा ५२ जना मधेसी सहिद भए ।  आन्दोलन उचाइमा पुगकै बखत स्व. गिरिजाको प्रलोभनमा आठ÷बाह्र बुँदे सम्झौता गरी आन्दोलन फिर्ता लिए ।  उपेन्द्र यादव अमेरिका पुगेर सम्मान र सहयोग बटुलेर नेपाल फर्कनुभयो ।  
संविधानसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारणमा सोचविचार नगरी ल्याप्चे लगाउनु पनि उनीहरूको अर्को भूल थियो ।  मधेसीको नाममा अलग अलग पसल थापेका छन् यिनीहरूले ।  अहङ्कारमा मात्तिएका तथा भारतको बिहार र उत्तरप्रदेशको जातिगत जोडतोडको राजनीतिक संस्कारबाट प्रभावित मधेसीवादी कहलाउने नेताहरू जुँगाको लडाइँमा लाग्दा प्रथम संविधानसभामा चौँथो शक्तिका रूपमा उभिए, सत्ता, पद, पैसाका लागि मधेसका मुद्दा बिर्सेर पाँच वर्ष मोजमस्तीमा बिताए ।  संविधानसभाको दोस्रो निर्वाचनमा यस्तो दुर्गती भयो कि मधेसका बिर्सेका मुद्दा एक एक गरेर सम्झनामा आउन थाल्यो ।  आफ्नो इज्जत प्रतिष्ठा बचाउन संविधानसभाबाट भागेर मधेस आन्दोलनतर्फ लागे ।  पैसा, पद र शक्तिको लोभमा संसद् त्याग्न चाहिँ सकेनन् ।  
नागरिकता मुद्दा अर्को छ ।  मधेसीका अनुहार भारतय मूलको हुनु तथा दुई सय वर्षदेखि मधेसीहरूप्रति हेपाहा प्रवृत्तिले गर्दा नागरिकता सम्बन्धी मुद्दा यथार्थ भए पनि कुनै मधेसी नेताले कृष्णप्रसाद भट्टराई, सहाना प्रधान, सुजाता कोइराला, कृष्णप्रसाद सिटौलाका परिवारजस्ता हजारौँ दार्जलिङ, खस्र्याङ सिलिगुडी, अल्मोडा, कुमाऊँ, गढबाली, भुटानी शरणार्थीको बारेमा संसद्मा एउटा प्रश्न गर्न सकेनन् ।  वर्तमान सूचनाको हकबमोजिम पनि कसैले सुजाता कोइरालाको नागरिकताबारे सूचना माग गरेका छैनन् ।  कारण के होला ? के मधेसी नेताहरूलाई आफ्नै नागरिकताबारे शङ्का त छैन ?
यिनीहरूका नौ बुँदे र एघार बुँदे माग हेर्दा मधेसको भूगोल र इतिहासको राम्ररी जानकारी नभएको प्रस्ट हुन्छ ।  नेपालको इतिहासमा नेपालको उत्पत्ति कृष्णावतारमा भएको प्रथम पाठ छ ।  त्यो पनि काठमाडौँ उपत्यकाकै इतिहास छ ।  जबकि नेपालभन्दा प्राचीन मधेसको इतिहास छ ।  मधेस नेपालभन्दा प्राचीन इतिहास रामावतारभन्दा पाँच हजार वर्ष पूर्व माधवा विदेहले विदेह राज्य स्थापित गरेका तथा कालान्तरमा मिथिला, तिरहुत राज्य थियो ।  महाभारत कालमा राजा विराट, न्यानदेवका वंशज हरिसिंह देवबाट मल्लवंशको उत्पत्ति भएको इतिहास, वैशालीका पराजित क्षत्रीयद्वारा किराँतीहरूलाई धपाइ लिच्छवी राज्य स्थापना, कौशलका पराजित क्षत्रीयद्वारा लुम्बिनी कपिलवस्तुमा राजा शुद्धोधनको राज्य आदि ।  जहाँसम्म भूगोलको कुरा हो नेपाल तीन भागमा प्राकृतिक रूपले विभाजित छ– हिमाल, पहाड, तराई ।  तराईको अर्थ हुन्छ तरल, आद्रर्ता, नमी भएको माटो ।  मधेसी नेताहरूले भाषणमा साढे दुई सय वर्षदेखि मधेसी खसवादीवाट शासित भएको भन्नु सरासर झुट हो ।  चाहे नौ बुँदे अथवा ११ बुँदे, दुवै अपूर्ण, अधुरो हुन् ।  नयाँ सङ्घ किन चाहियो– प्राचीन कालमा बाइसे, चौबीसे, उपत्यका, चौदण्डी, विजयपुर र तराई थियो, अहिले त्यही कायम गर्नुपर्छ ।  
मधेसी नेताहरूले अरूको बलमा आन्दोलन गरेका छन् ।  संयुक्त लोकतान्त्रिक मोर्चा गठन गरे पनि एक स्वरमा आफ्नो माग वा आवाज बुलन्द गर्न सकेका छैनन् ।  म कोहीभन्दा कम छैन भन्दै राजेन्द्र, महेन्द्र र उपेन्द्रको लिडेँ ढिपी, अनिल,
जयप्रकाश, राजकिशोर, शरदहरूका अलग अलग डवली अलग अलग राग छ ।  
भारतका बिहारी नेताहरूद्वारा यिनीहरूको गालामा थप्पड हानिएको छ ।  राजेन्द्र, उपेन्द्र, महेन्द्र आदि लालुका आँगनमा के, कति, किन, कसरी पुगे त्यो थाहा भएन तर तिनीहरू फर्केको केही सातापछि सुगौली सन्धिको दुई सयौँ महोत्सव सुगौलीमा मनाइ मधेसी नेताका गालामा जोरदार झापड हानेको तर मधेसीलाई पुल्पुलाउन जानेको केन्द्र सरकारले युरोपमा गएर नेपालको संविधान त्रुटिपूर्ण रहेको घोषणा गरेर मधेसीलाई सान्त्वना दिन खोजेको हो ।  भारतीय स्वतन्त्रता सङ्ग्रामताका मधेसीहरूले
जयप्रकाश नारायण, राम मनोहर लोहिया, हरिकिशोर सिंह, श्याम नन्दन मिश्रजस्ता सयौँ शरणार्थीलाई शरण दिएका थिए तर सुगौली सन्धिले मधेसीलाई मवेशी बनाएको भारतीयहरूले बुझ पचाउने दाउ गरे ।  नेपालका कारण चीनबाट भारत १००० कि.मि. सुरक्षित छ ।  त्यसैले नेपालका शासकलाई खुसी तुल्याइराख्ने उसको नीति कायम छ ।  मधेसीसँग बेटीरोटीको सम्बन्ध एउटा नाटक हो ।  पूर्व पश्चिम राजमार्गको तीनचौथाइ भारतले बनायो तर मधेसको हुलाकी सडक जस्ताको त्यस्तै राखिनु मधेसीप्रति भारतीय नीतिको एउटा उदाहरण हो ।  निर्वाचनका लागि करोडौँ चन्दा, इन्जिनियर र डाक्टरका कोटा– मधेसीको मुखमा बुझो हाल्नु हो ।  
मधेसी नेताहरूले केन्द्रीकृत राजनीति गरिरहेछन् ।  तराई क्षेत्रमा छरिएका वुद्धिजीवी, सेवानिवृत कर्मचारीसँग अन्तरक्रिया नगरी एनजीओ र आइएनजीओसँग बढी सम्पर्क गर्नु सबभन्दा ठूलो भूल हो ।  नीति कार्यक्रम सुनिश्चित गर्दा कम्तीमा तराईका सबै सदरमुकाममा सबै मधेसी नेताहरूले जनसामान्यका कुरा सुन्ने बानीको विकास गर्नुपर्ने हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना