सुर्ती सेवनबाट प्रतिघण्टा दुई नेपालीको मृत्यु

सरोज ढुंगेल

 

काठमाडौँ, जेठ १९ गते ।  सुर्तीजन्य वस्तुको प्रयोगबाट हुने रोगीको सङ्ख्या बढ्दै गए पनि त्यसको नियन्त्रणतर्फ खासै ध्यान पुग्न सकेको छैन ।  पहिले सर्ने रोगका कारण धेरै मानिस मर्थे भने पछिल्लो समय ६० प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ ।  सुर्ती सेवनबाट नेपालमा मात्रै बर्सेनी १७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।  नसर्ने रोगविरुद्ध सरकारले विभिन्न कार्यक्रम ल्याए पनि मानिसमा स्वास्थ्यसम्बन्धी जनचेतना गाउँगाउँसम्म नपुग्दा नसर्ने रोगको प्रभाव विस्तारै बढ्दै गइरहेको देखिन्छ ।  
स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐनदेखि लिएर सुर्तीजन्य पदार्थका बट्टामा ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र राख्नु ठूलो उपलब्धि भएको बताउनुभयो ।  सचिव श्रेष्ठले सरकारले मिर्गौला रोगीका लागि डायलासिस निःशुल्क, प्रत्यारोपणमा औषधिमा लाग्ने एक लाख, प्रत्यारोपणमा लाग्ने अन्य केही खर्चसमेत व्यहोर्ने गरेको जानकारी दिँदै मुटु, क्यान्सरजस्ता रोगमा एक लाख रुपिँया दिनुलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो ।  
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले नेपालमा मात्रै बर्सेनी करिब १७ हजारभन्दा बढी मानिसको सुर्तीजन्य पदार्थ सेवनको कारणले मृत्यु हुने गरेको जानकारी दिँदै सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिब ४२ जना र प्रतिघण्टा दुई नेपालीको मृत्यु हुने गरेको बताउनुभयो ।  
विश्वमा सूर्तीजन्य पदार्थको सेवन गर्नेहरूको सङ्ख्या एक अर्ब ३० करोडभन्दा बढी भएको अनुमान छ ।  यसको सेवनले प्रत्येक वर्ष ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।  त्यसमध्ये करिब छ लाख मानिसको धुमपानको धुवाँको असरले विभिन्न रोगको सिकार भई मृत्यु हुने गरेको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनले मानिस क्यान्सर लागेको छ भने तेस्रो वा चौथो चरणमा अस्पताल आइपुग्छ, डा. पुनले भन्नुभयो, “त्यस अवस्थामा आएका बिरामीलाई उपचार गरेर ठीक गर्न सकिन्न, कसरी हुन्छ उनीहरूको आयु लम्ब्याउने काम मात्र हो । ”
क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानाङ्गले नेपालमा क्यान्सरको अनुसन्धानले सबभन्दा बढी फोक्सोको क्यान्सर १४ प्रतिशत, पाठेघरको मुखको सात प्रतिशत, मुख, गाला, जिब्रो नौ प्रतिशत र पिसाब थैलीको क्यान्सर आठ प्रतिशत रहेको देखाएको जानकारी दिनुभयो ।
नेपालमा ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सुर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेहरूमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला रहेको पाइएको छ ।  त्यसो त नेपाल सबैभन्दा बढी सुर्तीजन्य पदार्थ सेवन गर्ने महिला भएको देशमध्ये एक हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना