• ६ चैत २०८०, मङ्गलबार

विद्यालयमा तालाबन्दी, विद्यार्थीलाई तनाव

blog

विद्यालयमा तालाबन्दी भएपछि हाता बाहिर फर्म भर्दै विद्यार्थी । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख,असोज ४ गते । त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारमा तालाबन्दी गरिएको छ । विद्यालय हाताभित्र रहेका सटरहरू व्यवसाय प्रयोजनमा दिनेगरेको टेन्डरमा कानुनी प्रक्रियाअनुसार सम्झौता गरेको ६ महिना पुग्दा समेत सुनुवाइ नभएको भन्दै विद्यालय प्रशासनमा व्यवसायीले तालाबन्दी गरेका हुन् । 

टेन्डर परेका सटरहरू आफूले पाउनु पर्ने  भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र विद्यालय प्रशासनसँग पटक पटक माग गरेको भए पनि सुनुवाइ नभएको भन्दै तालाबन्दी गरेको व्यवसायीले बताएका छन् । 

सटरको टेन्डर पार्नुभएका व्यवसायी निशानकुमार थालोले विद्यालय प्रशासन, जिल्ला प्रशासनलाई सडक खाली गराइदिन आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको सूचनाअनुसार टेन्डर पारेका हामी व्यवसायीले छ महिनादेखि भाडा तिरेका छौँ, पहिले व्यवसाय गरेका व्यवसायीले सटर खाली नगर्दा समस्या उत्पन्न भएको छ ।”

त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक निरकबहादुर तारामीले विद्यालयले निकालेको सूचनाअनुसार टेन्डर परे पनि पहिलादेखि व्यवसाय गर्दैआएका व्यवसायीले सटर खाली नगर्दा विद्यालय समस्यामा परेको बताउनुभयो । राजनीतिक शक्तिका आडमा सटर खाली नभएको उहाँले बताउनुभयो ।  

विद्यालयमा तालाबन्दी भएपछि एसइईमा ग्रेड वृद्धि गर्ने विद्यार्थी फर्म भर्न समेत नपाएको विद्यालयले जनाएको छ । तालाबन्दीले विद्यार्थीलाई समेत तनाव भएको अभिभावकको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विद्यालयमा लगाइएको ताला खोल्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिएको बताउनुभयो । व्यवसायी स्वयम्ले आपसी छलफल गरेर समस्या समाधान गर्न सहज हुने उहाँको भनाइ छ ।