• ८ वैशाख २०८१, शनिबार

सुशासनका लागि गठबन्धन जरुरी : मन्त्री चौधरी

blog

मानहुँ मार्गको उदघाटन कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज ४ गते । सहरी विकासमन्त्री मेटमणि चौधरीले देशमा स्थिरता र सुशासनका लागि गठबन्धन जरुरी रहेको बताउनुभएको छ । लोकतन्त्र रहे मात्रै देशमा समृद्धि र सुशासन कायम हुने भएकाले आगामी निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन जरुरी रहेको  बताउनुभएको हो । 

व्यास नगरपालिका –५ स्थित मानुङ पर्यटकीय मार्गको उदघाटन गर्दै मन्त्री चौधरीले हालको एकतालाई निरन्तरता दिन गठबन्धन गरेर निर्वाचनमा जान जरुरी रहेको स्पष्ट पार्नुभयो । अधुरो सडकको काम पूरा गर्न सहरी विकास मन्त्रालयले बजेट विनियोजन गर्ने जानकारी दिनुभयो । 

विकासका काममा सहमति, सहकार्य र एकता गरी अगाडि बढ्न उहाँले सबैमा आग्रह गर्नुभयो । सहरी विकास मन्त्रालयले मानुङ जाने मार्ग पूरा गर्न थप बजेट विनियोजन गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानुङ जाने मार्ग निर्माण भएपछि मानुङकोट पर्यटन प्रवर्धनमा सहयोग मिलेको बताउनुभयो । 

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको ९ करोड ८ लाख ९ हजार ९ सय ३३ रुपियाँको लागतमा मानुङकोट जाने चार किलोमिटर १७ मिटर सडक कालोपत्रे भएको छ । अझै २ किलोमिटर बाटो कालोपत्रे हुन बाँकी छ । चापाघाटदेखि मानुङसम्मको ७ किलोमिटर बाटो कालोपत्रे हुनसके पर्यटकको सङ्ख्यामा वृद्धि हुने वडा ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो ।