• १२ वैशाख २०८१, बुधबार

अग्रिम हवाई टिकट ८० प्रतिशत बुकिङ

blog

काठमाडौं, असोज ४ गते । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् ।

हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो । यसैगरी बुद्ध एयरले हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् । दशैँ आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ ।

हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । विगतमा काठमाडौं–धनगढी हवाई भाडा रु. सात हजार पाँच सय रहेकामा अहिले अधिकतम रु. १७ हजार कायम गरिएको छ ।

सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौंको छ । विराटनगर–काठमाडौं एकतर्फी भाडा न्यूनतम रु. चार हजार पाँच सय अधिकतम भाडादर रु. १० हजार कायम गरिएको छ । अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं फर्कनका लागि टीकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ ।