• ७ वैशाख २०८१, शुक्रबार

बाँकेमा तीन लाख ३२ हजार मतदाता

blog

जिल्ला निर्वाचन कार्यालय बाँके । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असोज ४ गते । बाँकेमा स्थानीय तहको निर्वाचनपछि २ मतदान स्थल थप भएको छ ।  यसैगरी स्थानीय तहको निर्वाचनभन्दा यसपटक दुई हजार ७५८ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाभर १३८ मतदानस्थल कायम गरिएको छ । 

गत स्थानीय तह निर्वाचनमा १३६ मतदान स्थल थिए । “कोहलपुर नगरपालिका २ र डुडुवा गाउँपालिका ५ मा गरी दुई मतदान स्थल थप भएका छन्” जिल्ला निर्वाचन अधिकारी पन्तले भन्नुभयो, “मतदाता सङ्ख्या बढेपछि सहजताका लागि स्थल र केन्द्र थप गरिएको  छ ।” 

जिल्लाका ३ निर्वाचन क्षेत्रमा ३८० मतदान केन्द्र कायम गरिएको छ । स्थानीय तह निर्वाचनभन्दा एउटा मतदान केन्द्र थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालय बाँकेले गत स्थानीय तहको निर्वाचनमा कायम मतदान स्थलको सङ्ख्या थप गर्न राजनीतिक दलसहितको सर्वपक्षीय सहमतिको आधारमा निर्वाचन आयोगमा सिफारिस गरेकोमा स्वीकृत भई मतदान स्थल थप भएको छ ।

जिल्लाका ३ निर्वाचन क्षेत्रमा तीन लाख ३२ हजार २३१ मतदाताले निर्वाचनमा सहभागिता जनाउने भएका छन् । जसमध्ये एकलाख ६३ हजार ३६९ महिला, एक लाख ६८ हजार ८५३ पुरुष र ९ जना अन्य मतदाता छन् । क्षेत्र नम्बर १ मा  एक लाख २१ हजा १००, क्षेत्र नम्बर २ मा ९७ हजार ८०९ र क्षेत्र नम्बर ३ मा एक लाख १३ हजार ३२२ मतदाता छन् । 

निर्वाचन आयोगले स्थानीय तहमा भएको त्रुटि सच्याएर दोहोरो परेका, मृत्यु भएका ब्यक्तिको नाम मतदाता सूचीबाट हटाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दोहोरो समावेश भएका दुई हजार १३० र मृत्यु भएका ३७१ जनाको नाम सूचीबाट हटाइएको छ ।  

बाँकेमा गत स्थानीय तह निर्वाचनमा तीन लाख २९ हजार ४७३ मतदाता थिए । गत २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा  एक लाख ४१ हजार ४४६ पुरुष, एक लाख ३५ हजार २६७ महिला र ३ जना अन्य गरी कुल दुई लाख ७६ हजार ७१६ जना मतदाता थिए ।