• १६ चैत २०८०, शुक्रबार

डेढ दशकपछि पाल्पाको निस्दीमा बिजुली

blog

रेखीराम राना
पाल्पा, असोज ४ गते ।
सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको डेढ दशकपछि निस्दीका बासिन्दाले बिजुली बत्तीको उपयोग गर्न पाएका छन् ।निस्दी–४, मित्याल लामेदमारका बासिन्दाले बिजुली बत्ती बाल्ने रहरले १५ वर्षअघि पाँच हजारदेखि १० हजारसम्म रकम सामुदायिक विद्युतीकरण योजनाका लागि बुझाएका थिए ।

डेढ दशकअघि बत्ती बाल्ने रहरले यहाँका बासिन्दाले घरको खसी, बोका, बङ्गुर र पाडो बेचेर रकम बुझाएका थिए । यद्यपि, बत्ती भने समयमै बाल्न पाएका थिएनन् । रकम बुझाएको १५ वर्षपछि लामेदमारका ५५ घरधुरीले बिजुली बत्ती बाल्न पाएको स्थानीय बासिन्दा लिलबहादुर आलेले जानकारी दिनुभयो ।

‘‘गाउँका मानिसले खसी, बोका, बङ्गुर बिक्री गरेर बिजुली बत्तीका लागि पैसा बुझाएको १५ वर्ष भयो,’’ उहाँले भन्नुभयो, ‘‘डेढ दशकपछि बल्ल घरमा बिजुली बत्ती बल्यो । बिजुली बत्ती बाल्ने आश मरिसकेको थियो तर, अहिले बत्ती बाल्न पाउँदा सपना झैँ लागेको छ ।’’

बिजुली बत्तीका लागि पटक–पटक गाउँलेले सामुदायिक विद्युतीकरण उपभोक्ता समिति, विद्युत् प्राधिकरण र जनप्रतिनिधिलाई आग्रह गरेका थिए । तर कतैबाट पनि आफूहरूको माग सम्बोधन हुन नसकेको उनीहरूको भनाइ छ ।

लामो समयको पर्खाइपछि गाउँमा बिजुली बत्ती बलेपछि स्थानीय बासिन्दा खुसी भएका जीवनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चित्रसिंह आलेले बताउनुभयो । लामेदमारसहित बेलखरक, गोठडाँडा, खोर्मोक, रिपाहा, पोखरादहर, थोक्सिबास गाउँका करिब एक सय घरमा केही दिनपछि नै बत्ती बल्ने निस्दी गाउँ कार्यपालिका सदस्य हेमकुमारी सुनारीले बताउनुभयो । घरमा वायरिङकाे काम सकिएपछि अन्य गाउँमा पनि बत्ती बल्ने सुनारीले बताउनुभयो ।

निस्दीका ७ वटा वडामध्ये पाँच वटा वडामा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले बिजुली बत्ती बाल्ने जिम्मा लिएको छ । निस्दीको वडा नं. १ र २ मा अझैँ बिजुली बत्ती बल्न सकेको छैन । केही वडामा भने बत्ती बलिसकेको र केहीमा काम भइरहेको संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमईले जानकारी दिनुभयो ।