• ६ चैत २०८०, मङ्गलबार

आत्महत्याको विकृति बढ्दै

blog

डडेल्धुरा समाचारदाता 

डडेल्धुरा, असोज ४ गते । डडेल्धुरामा आत्महत्याका घटना बढ्न थालेपछि नेपाल प्रहरीले त्यसको न्यूनीकरण गर्न सक्रियता बढाएको छ। 

जिल्ला प्रहरी कार्यालयले जिल्लाभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर आत्महत्याका घटना रोक्न सचेतनामा जोड दिइरहेको हो। डडेल्धुरामा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३० जनाले आत्महत्या गरेका थिए। जसमा १५ जना महिला र १५ जना नै पुरुष थिए। सो वर्ष सबैभन्दा बढी अमरगढी नगरपालिकामा आठ जनाले आत्महत्या गरेको डडेल्धुराका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक २०७७/७८ मा ४२ जनाले आत्महत्या गरेका छन्। जसमा २३ जना महिला र १९ जना पुरुष छन्। 

आव २०७७/७८ मा सबैभन्दा बढी आलिताल गाउँपालिका १३ जनाले आफैँले देहत्याग गरेको तथ्याङ्क रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा २७ जनाले आत्महत्या गरेका छन्। जसमा १८ जना महिला र नौ जना पुरुष रहेका छन्। गत आव २०७८/७९ मा पनि आलितालमै सबैभन्दा बढी १३ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो। 

चालू आवको साउन र भदौ महिनामा छ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो। उहाँका अनुसार आत्महत्या गर्नेमा चार महिला र दुई पुरुष छन्। दुई महिनाको अन्तरालमा छ जनाले आत्महत्या गर्नु गम्भीर विषय भएको बताउँदै उहाँले भन्नुभयो, “आत्महत्याको घटना रोक्न नागरिक समाज र स्थानीय तहको विशेष सहयोग आवश्यक छ। ’’

आत्महत्या समाजमा डरलाग्दो रूपमा विकसित हुँदै गएको बताउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले समाजको विकृतिका रूपमा सिर्जित अपराध रोक्न स्थानीय तह र नेपाल प्रहरीले सक्रियता बढाउनुपर्ने बताउनुभयो।

आत्महत्या गर्नेमा महिला र बालबालिका धेरै 

बैतडी समाचारदाताका अनुसार बैतडीमा गएको तीन वर्षमा ११२ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बैतडी प्रहरीले आत्महत्या गर्नेमा महिला र बालबालिकाको सङ्ख्या धेरै रहेको जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्कअनुसार २०७६ र ७७ मा २९ जनाले आत्महत्या गरेका छन्। २०७७/७८ मा ४२ जना र २०७८/७९ मा ३६ जना र २०७९/८० को साउनयता पाँच जनाले आत्महत्या गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार ११२ जनामध्ये १८ वर्षमुनिका आत्महत्या गर्ने बालबालिका १६ जना र ४३ जना महिला रहेका छन्। बैतडीमा आत्महत्याको तथ्याङ्क हेर्दा निकै भयावहको स्थित रहेको प्रनाउ शाहीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “अहिलेसम्मको सूचना र प्रमाणलाई हेर्ने हो भने सांस्कृतिक, सामाजिक, मनोवैज्ञानिक र सूचना प्रविधिको दुरुपयोगले प्रेम विवाहजस्ता कारण आत्महत्या बढेको देखिन्छ। पुरुषमा बेरोजगारीका कारण पनि आत्महत्या भएको पाइएको छ।”

सामुदायिक साझेदारी प्रहरीको अगुवाइमा बैतडी सदरमुकाम गोठलापानी बजारबाट ¥यालीसहित गढी पुगेर जिल्ला प्रशासन कार्यालयमा अन्तक्र्रिया गरिएको छ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, कानुन व्यवसायी, विद्यार्थी, व्यवसायी, नेपाल प्रहरी, सञ्चारकर्मी र अधिकारकर्मीको उपस्थिति रहेको थियो। 

अन्तक्र्रिया कार्यक्रममा बैतडी प्रहरीले विद्यालयस्तरमा पुगेर दुव्र्यसन, सूचना प्रविधिको दुरुपयोग र आत्महत्याका घटना न्यूनीकरण गर्न सचेतनामूलक कक्षा सञ्चालन गरिरहेको जानकारी दिइएको छ।