• १६ चैत २०८०, शुक्रबार

मुसीकोटमा रेबिज आतङ्क

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असोज ४ गते । रुकुमपश्चिममा बौलाहा कुकुरले टोकेका जनावर मर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। भदौ ११ गते बौलाहा कुकुरको टोकाइबाट घाइते भएका पशुचौपाया मर्न थालेपछि मुसीकोट नगरपालिका–१० मा बोलाहा कुकुर र रेबिजको आतङ्कले स्थानीय बासिन्दा त्रसित भएका हुन्।

बौलाहा कुकुरको टोकाइबाट घाइते भएका दुईवटा गोरु, एउटा गाई, एउटा भैँसी, एउटा पाडो र चारवटा कुकुर मरेको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो। अझै केही पशुचौपाया बिरामी अवस्थामा रहेका छन्। कुकुरको टोकाइबाट स्थानीय मनसुवा रोकाया र टेकबहादुर बुढाथोकी घाइते हुनुभएको थियो। उहाँहरूको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो।

पशुचौपाया मरेपछि त्रसित बनेका स्थानीयवासीलाई वडा कार्यालयको पहलमा स्वास्थ्य सेवा कार्यालयसम्म ल्याएर रेबिज रोगसम्बन्धी सचेत बनाइएको छ। स्वास्थ्य सेवा कार्यालयमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरले रेबिज रोगका बारेमा जानकारी गराएको बताइएको छ। रेबिज रोगको आशङ्का लागेका गाउँलेलाई रेबिज रोगसम्बन्धी जानकारी गराउनुका साथै नआत्तिन र सतर्क रहन आग्रह गरेको जिल्ला अस्पतालका डा. भीमकान्त जैसीले बताउनुभयो। सचेतनापछि नौ जनालाई रेबिजविरुद्धको भ्याक्सिनसमेत लगाइएको छ। कुकुरले नटोके पनि कुकुरले टोकेका पशुको सम्पर्कमा रहेका नौ जनाले भ्याक्सिन लगाएको डा. जैसीले जानकारी दिनुभयो।

मुसीकोट नगरपालिका नगर पशु सेवा शाखाले वडा नम्बर १० मा सोमबार रेबिजविरुद्धको खोप शिविर सञ्चालन गरेको छ। रेबिजको सङ्क्रमण थप नफैलियोस् भनेर गाउँमा रहेका सबै कुकुर र सङ्क्रमित कुकुरले टोकेका पशुचौपाया रहेको घरका अन्य सबै पशुलाई खोप लगाउने गरी रेबिज खोप शिविर सञ्चालन गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो।