• ६ चैत २०८०, मङ्गलबार

धार्मिक पर्यटकीय गन्तव्य बन्दै रेसुङ्गा

blog

रमेश विश्वकर्मा

गुल्मी, असोज ४ गते । पश्चिम क्षेत्रकै एक पवित्र स्थल रेसुङ्गाधाम धार्मिकसँगै पर्यटकीय गन्तव्य बन्दै गएको छ। धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा पौराणिक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक रूपले प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ। 

त्रेतायुगमा महर्षि ऋषि शृङ्गले यहाँ आश्रम बनाई साधना गरेकाले उहाँको नामबाट रेसुङ्गा नामकरण भएको हो भन्ने भनाइ छ। हाल यहाँ रहेको महापोखरीको वरिपरि २७ वटा गौमुखे धारा निर्माण भएका छन्। ती धारामा साउन महिनामा आफैँ मूल फुटेर पानी झर्छ। यो पोखरीमा नुहाई यहाँको मन्दिरमा दर्शन गर्नाले सबै रोगव्याधि नाश हुने जनविश्वास रहँदै आएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो। रेसुङ्गाको महìव जोगाइराख्न चुचुरोसम्म गाडी जाने बाटो नखनेर पदमार्ग बनाइएको उहाँले बताउनुभयो। 

पुरानो सिद्धमन्दिर, स्वामी शशिधरको समाधिस्थल, विष्णुपादुका र लक्ष्मीनारायणको समाधिस्थल रेसुङ्गाको आकर्षण भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले बताउनुभयो। ५० लाख रुपियाँ बजेटमा यज्ञशालाबाट विष्णुपादुकासम्म तीन सय मिटर रेलिङ सिँढी निर्माण, आश्रमपछाडि बाहिरबाट आउने आगन्तुकका लागि एक सय मानिस बस्न मिल्ने ट्रस्ट निर्माण गरिएको छ। ट्रस्टमा नाच्ने, गाउनेलगायत धार्मिक गतिविधि गर्न मिल्छ। 

महाप्रभु लक्ष्मीनारायणको तपस्यास्थल गौशालादेखि एक घण्टाको पैदल यात्रापछि सावनी शिवालय पुग्न सकिन्छ। आश्रमभित्र फलफूल बगैँचा छ। कम्पाउन्डभित्र हवनकुण्ड, कुवा, भक्तजन बस्न बनाइएका आश्रमका भग्नावशेष छन्। पोखरीको पूर्वपट्टि डाँडोमा त्रेतायुगका ऋषि शृङ्ग आफ्नो अर्धाङ्गिनीलाई लिएर आएका थिए भन्ने किंवदन्ती छ। 

त्यस्तै रेसुङ्गा र अर्जुन दुई भाइका रूपमा परिचित छन्। रेसुङ्गाको पश्चिमपट्टि उभिएको अर्जुन डाँडाले तम्घास आउने पाहुनालाई मनमोहित पार्छ। पाँच पाण्डव महाभारतको युद्धपछि धार्मिक स्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा एक भाइ ‘अर्जुन’ उक्त डाँडामा बसेकाले ‘अर्जुन डाँडा’ नाम रहन गएको किंवदन्ती छ। दक्षिण पाखामा एउटा रमणीय गुफा छ। अर्जुन डाँडाबाट मनोरम प्राकृतिक दृश्यसहित सुन्दर तम्घास बजार र पहाडी डाँडाकाँडाको सुन्दरता अवलोकन गर्न सकिन्छ। 

रेसुङ्गामा निर्मित भ्यु टावरबाट पर्वतमाला र सेतै टल्किएका हिमशृङ्खलासहित अनुपम दृश्य नियाल्न सकिन्छ। आध्यात्मिक, धार्मिक र पर्यटकीय त्रिवेणी रेसुङ्गा पुगेपछि मन्दिरको दर्शनसँगै मनोरम दृश्य हेर्दा जोकोही पनि मोहित हुन्छन्। रेसुङ्गामा पुस–माघमा ढपक्क हिउँ पर्छ। फागुन–चैतमा लालीगुराँस फुलेर जङ्गल रातै हुन्छ। भारतसहित नेपालका विभिन्न ठाउँबाट धार्मिक तीर्थालु रेसुङ्गासँगै अर्जुन डाँडा पुग्ने गरेका छन्। 

रेसुङ्गाको फेदीमा तम्घास बजार छ। सदरमुकाम तम्घासबाट सात किलोमिटर उकालो लागेपछि रेसुङ्गाधाम पुगिन्छ। पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको २५५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त स्थलको हरियाली दृश्य हेरेर पर्यटक रमाउने गर्छन्। धार्मिक तथा पर्यावरणले महत्व बोकेको रेसुङ्गालाई भौतिक संरचना निर्माणसहित यतिबेला चिटिक्क पारिएको छ। साउन र मङ्सिरमा ठूली एकादशीका दिन यहाँ भव्य मेला लाग्दै आएको छ।