• ६ चैत २०८०, मङ्गलबार

छ हजार मतदाता बढे

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असोज ४ गते । आगामी मङ्सिर ४ मा मकवानपुर जिल्लामा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा लागि झन्डै छ हजार मतदाता बढेका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भन्दा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि पाँच हजार ८०९ जना मतदाता मकवानपुरमा थपिएको निर्वाचन आयोगले जनाएको छ ।

आगामी मङ्सिरमा हुने निर्वाचनका लागि एक लाख ५३ हजार ५२८ पुरुष, एक लाख ४७ हजार दुई सय महिला र अन्य पाँच जना गरी तीन लाख ७३३ मतदाता कायम भएको छ । मतदान स्थल १६७ र मतदान केन्द्र ३६४ तय भएको छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मकवानपुरमा एक लाख ४४ हजार ५९५ जना महिला, एक लाख ४९ हजार ९५४ पुरुष मतदाता र अन्य छ जना गरी दुई लाख ९४ हजार ९१९ जना मतदाता रहेका थिए ।

यस्तै आगामी मङ्सिरमा हुने निर्वाचनमा प्रतिनिधि सभा १ मा ७४ हजार ९३० पुरुष, ७५ हजार २२१ महिला र अन्य चार गरी एक लाख ५० हजार १५५ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं. २ मा ७८ हजार ५९८ पुरुष, ७१ हजार ९७९ र अन्य एक जना गरी एक लाख ५० हजार ५७८ मतदाता कायम भएको निर्वाचन आयोगको अभिलेखमा छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ६२ मतदान स्थल र १७२ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं. २ मा मतदान स्थल १०५ र मतदान केन्द्र १९२ वटा रहेका छन् । 

यसैगरी मकवानपुरमा प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पुरुष ४० हजार १११, महिला ३७ हजार ८७७ र अन्य एक गरी कुल मतदाता ७७ हजार ९८९ जना तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा पुरुष मतदाता ३४ हजार ८१९, महिला ३७ हजार ३४४ र अन्य तीन जना गरी ७२ हजार १६६ मतदाता पुगेका छन् । यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पुरुष मतदाता ४२ हजार ८४३, महिला मतदाता ४० हजार २५५ र अन्य एक जना गरी ८३ हजार ९९ जना तथा निर्वाचन क्षेत्र नं. २ मा पुरुष मतदाता ३५ हजार ७५५ र महिला ३१ हजार ७२४ गरी ६७ हजार ४७९ जना रहेका छन् । 

प्रतिनिधि सभा १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मतदान स्थल ४७ र मतदान केन्द्र ९५,  क्षेत्र नं. २ मा मतदान स्थल १५ र मतदान केन्द्र ७७ तथा प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ मा मतदान स्थल ५६ र मतदान केन्द्र १०८, प्रदेश सभा २ मा मतदान स्थल ४९ र मतदान केन्द्र ८४ रहेको आयोगले जनाएको छ ।

दुई हजारभन्दा बढी नयाँ मतदाता 

यसैगरी सिन्धुली समाचारदाताका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सिन्धुली जिल्लामा दुई हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम रहेका मतदातामा दुई हजार ३३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार ५६६ जना महिला र एक हजार ४६८ पुरुष मतदाता थपिएसँगै सिन्धुली जिल्लाको कुल मतदाता दुई लाख आठ हजार ३६९ पुगेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा कुल मतदाता दुई लाख छ हजार ३३६ जना रहेको कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिनुभयो । 

कार्यालयका अनुसार जिल्लामा कायम रहेका मतदान केन्द्र घटेको र मतदान स्थल सातवटा बढेको छ । निर्वाचन आयोगले यसअघि कायम रहेका २६८ मतदान केन्द्रमा एउटा घटाएर २६७ वटा र १४४ मतदान स्थलमा सातवटा थपेर १५१ वटा कायम गरी पठाएको कार्यालय प्रमुख झाले सुनाउनुभयो ।