• ७ वैशाख २०८१, शुक्रबार

नयाँ स्टक एक्सचेन्ज खोल्न प्रक्रिया सुरु

blog

भेषराज बेल्बासे

काठमाडौँ, असोज ४ गते । अर्काे धितोपत्र बजार (स्टक एक्सचेन्ज)को आवश्यकता छ कि छैन भन्ने लामो समयदेखिको बहस अब भने टुङ्गोमा पुग्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया सुरु गरेपछि यो बहस टुङ्गिएको हो । 

बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि आवेदन माग गरेको छ । बोर्डले एकैसाथ वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर)को लाइसेन्सका लागि पनि आवेदन माग गरेको छ ।

चुक्ता पुँजी तीन अर्ब

एक साताअघि मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालन नियमावली, २०६६ लाई संशोधन गरेपछि नयाँ स्टक एक्सचेन्ज सञ्चालनको बाटो खुलेको हो । यो नियमावलीमा ३० प्रतिशत सर्वसाधारणको लगानी हुने गरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सक्ने व्यवस्था छ ।  संशोधित नियमावलीअनुसार नयाँ स्टक एक्सचेन्जका लागि चुक्ता पुँजी तीन अर्ब रुपियाँ हुनुपर्छ । नयाँ स्टक एक्सचेन्जमा बैङ्क तथा वित्तीय संस्था, सूचीकृत सङ्गठित संस्था र धितोपत्र व्यवसायीका साथै अन्य योग्य संस्थागत लगानीकर्ता पनि लगानी गर्न सक्नेछन् भने व्यक्तिगत लगानीकर्ताले लगानी गर्न मिल्दैन । एउटा संस्थाले स्टक एक्सचेन्जमा लगानी गर्न सक्ने अधिकतम सीमा पनि १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु-याइएको छ ।धितोपत्र बजार सञ्चालन गर्न योग्यता पुगेका संस्थाले आइतबारदेखि ४५ दिनभित्र बोर्डमा निवेदन दिन सक्ने बोर्डको सूचनामा उल्लेख छ ।

दलाल तथा व्यापारीको लाइसेन्स खुला

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिका लागि पनि आइतबार लाइसेन्स खुला गरेको छ । धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप्न लागेको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । सरकारले चुक्ता पुँजी बढाएर विभिन्न मापदण्ड तोक्दै योग्यता पुगेका सबै कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो ।

फेरि खुल्यो कमोडिटी एक्सचेन्जको लाइसेन्स

बोर्डले कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि पुनः आवेदन खुला गरेको छ । बोर्डले दुईवटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिन आवेदन मागेको हो । आइतबारदेखि ४५ दिनभित्र रीतपूर्वक आवेदन दिन भन्दै बोर्डले वस्तु विनियम बजारसम्बन्धी नियमावली, २०७४ र वस्तु विनियम बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियासम्बन्धी निर्देशिका, २०७८ बमोजिम कमोडिटी एक्सचेन्जका लागि आवेदन माग गरेको छ ।

यसअघि कमोडिटी एक्सचेन्जका लागि आवेदन मागेको बोर्डले यसअघिका आवेदन रद्द गरी पुनः आवेदन मागेको छ । कमोटिडी एक्सचेन्जका लागि यसअघि आवेदन दिएका कम्पनीहरूले पनि पुनः वस्तु विनियम बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियासम्बन्धी निर्देशिका, २०७८ बमोजिम आवेदन दिनुपर्ने बोर्डले जनाएको छ ।