• १३ वैशाख २०८१, बिहिबार

सुक्खाग्रस्त क्षेत्रमा खाद्यान्न अभाव

blog

सिराज खान 

नेपालगञ्ज, असोज ४ गते । धान खेतीको समयमा वर्षा नहुँदा रोपाइँ हुन नसकेको बाँकेको नरैनापुर गाउँपालिकामा खाद्यान्नको अभाव हुन थालेको छ । 

स्थानीय सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको सो गाउँपालिकामा अहिलेदेखि नै खाद्यान्न अभाव भएको भन्दै राहत माग्न आउनेको सङ्ख्या बढ्दै गएको सो गाउँपालिकाले जनाएको छ । 

तत्काल राहतका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिए पनि अझै कुनै निर्णय नभएकाले भोकमरीको अवस्था सुरु हुन थालेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो । 

सुक्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि सर्वसाधारण राहत माग्न गाउँपालिका आउने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । 

केन्द्र र प्रदेश सरकारले तत्काल केही नगरे अवस्था निकै जटिल र गम्भीर बन्न सक्ने चेतावनी पनि नरैनापुर गाउँपालिकाले दिएको छ ।                 

नरैनापुर–६, गङ्गापुरका कृष्णावती मौर्यले घरमा भएको अनाज सबै सकिएको जनाउँदै भोकै बस्नुपर्ने अवस्था आएकाले राहत माग्न गाउँपालिकामा आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “भोकमरीले छट्पटी सुरु भएपछि गाउँपालिका आएकी हुँ । सहयोग नपाए बालबच्चा भोकै बस्नुपर्छ ।” नरैनापुर–४ कै रीता कलवारको पनि उस्तै दुखेसो छ । उहाँको करिब छ कट्ठा जमिन यस वर्ष बाँझै छ । घरमा राखिएको अनाज पानी रित्तिसक्यो । नरैनापुरमा यस वर्ष कुल खेतीयोग्य जमिनको करिब १५ प्रतिशतमा मात्र रोपाइँ भएको थियो, पानी नपरेपछि त्यो पनि नष्ट भएको छ । 

गाउँपालिकाले नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र सङ्घीय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा तीन÷तीनवटाका दरले डिप बोरिङको व्यवस्था गर्न माग गरेको थियो । यहाँको अवस्था बुझ्न अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले स्थलगत निरीक्षण गर्नुभएको थियो तर पनि अझैसम्म कुनै सहयोग नपाएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।